कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

एमाले पोलिटब्युरोमा प्रधानमन्त्रीको ब्रिफिङ : 'सय दिन पूरा नगर्दै सरकारमाथि घेराबन्दीको प्रयास’

भाद्र १८, २०८१
एमाले पोलिटब्युरोमा प्रधानमन्त्रीको ब्रिफिङ : 'सय दिन पूरा नगर्दै सरकारमाथि घेराबन्दीको प्रयास’

Highlights

  • एमाले-कांग्रेसको सहमति अक्षरश: कार्यान्वयन हुन्छ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने बताएका छन् । उनले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न नेताहरूलाई निर्देशन दिए ।

प्रतिपक्ष माओवादी केन्द्रका नेताहरुले कांग्रेस-एमाले गठबन्धनप्रति प्रश्न गरिरहेका बेला ओलीले सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि यसले सचेततापूर्वक काम गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल बालकुमारीमा मंगलबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने बताए ।

‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ ओलीको भनाइ उल्लेख गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यो सरकार बनेदेखि सर्वसाधारणमा विश्वास बढेको छ । दुई दलबीच भएको सहमति अनुसार सरकार आफ्नो काममा प्रतिबद्ध छ ।’ उनले कांग्रेस पनि सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आवश्यक भएको बताए । उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्रीमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको ओलीको भनाइ थियो ।

‘एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ । सरकारबाट बाहिरिन बाध्य भएपछिको यो छट्पटी हो’ ओलीको भनाइ थियो, ‘यो परिस्थितिमा एमाले सचेततापूर्वक अघि बढ्छ ।’

एमालेविरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिले घेराबन्दी गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले पार्टीले सन्तुलित ढंगले कदम चाल्ने र त्यही अनुसार काम गर्न पोलिटब्युरो सदस्यलाई निर्देशन दिए ।

‘सबै घेराबन्दी तोड्दै एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित रहेको छ । यसमा सरकार र पार्टीको तर्फबाट पहल गर्न जरुरी छ’ उनले भने, ‘सरकारले सय दिन पुरा नगर्दै घेराबन्दी गर्ने प्रयास भइरहको छ ।’

बिहीबार सचिवालयको बैठकमा पनि ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

उनले माओवादीतर्फ संकेत गर्दै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताएका थिए ।

पोलिब्युरोमा ओलीले मिसन ०८४ मा एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन अहिलेदेखि तयारी गर्नुपर्ने बताए । बैठकमा मुलुकमा अराजकता फैलाउने प्रयास भइरहेको र त्यसको कारणबारे पनि छलफल भएको थियो । त्यस्तै प्राकृतिक विपद्ले सर्वसाधारणले पाएको सास्ती र उनीहरुलाई राहत, सुरक्षाबारे पनि बैठकमा प्रस्ताव पेश भएकमो छ ।

बैठकले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्ययोजना’ पेश भएको छ । पोलिटब्युरो सदस्यले सुझाव दिएपछि कार्ययोजना पारित हुनेछ ।

प्रकाशित : भाद्र १८, २०८१ १७:३८
x
×