कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्वआइजीपीहरूद्वारा अमर्यादित टिप्पणी गर्ने मन्त्री गुरूङलाई कारबाही गर्न माग

भाद्र १८, २०८१
पूर्वआइजीपीहरूद्वारा अमर्यादित टिप्पणी गर्ने मन्त्री गुरूङलाई कारबाही गर्न माग

काठमाडौँ — नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको  संगठन 'पूर्व प्रहरी संगठन प्रमुख मञ्च'ले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले 'प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने' भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न प्रधनामन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् ।

'बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ' विज्ञप्तिमा छ,'नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ।'

नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले उल्लेख गरेको छ ।

'स्वतन्त्रताको उपयोग गरिँदा अर्को पक्षको अधिकारको सीमा अनतिक्रम्य रहन्छ भन्ने सामान्य बुझाइ नागरिकमा हुनुपर्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो' मञ्चको विज्ञप्तिमा छ,'पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसँस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ ।'

नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चमा आबद्धहरू

१. पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा

२. पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा

३. पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल

४. पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर

५. पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणा

६. पूर्व प्रहरी महानिरीक्षक श्याम भक्त थापा

७. पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणा

८. पूर्व प्रहरी महानिरीक्षक हेम बहादुर गुरुङ

९. पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी

१०. पूर्व प्रहरी महानिरीक्षक रवीन्द्र प्रताप शाह

११. पूर्व प्रहरी महानिरीक्षक कुबेर सिंह राना

१२. पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल

१३. पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल

१४. पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

१५. पूर्व प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली

१६.शैलेश थापा क्षेत्री

१७.पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

प्रकाशित : भाद्र १८, २०८१ ११:४९
x
×