कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ : 'सरकार र एमालेमाथि चौतर्फी आक्रमण हुनथाल्यो'

भाद्र १३, २०८१
सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ : 'सरकार र एमालेमाथि चौतर्फी आक्रमण हुनथाल्यो'

Highlights

  • मुलुकमा अराजकता सिर्जना गर्ने तत्व सक्रिय भएको भन्दै प्रतिवाद गर्न आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उनले आफ्नो नेतृत्वको सरकार बनेको छोटो समयमै ‘विभिन्न अराजकतावादी तत्व’ ले सरकार र पार्टी नेतृत्वलाई बदनामा गर्ने, चरित्र हत्या गरी आक्रमण सुरु गरेकाले सतर्कता अपनाउन सचिवालय सदस्यलाई आग्रह गरे ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बिहीबार बसेको सचिवालय बैठकमा उनले माओवादीतर्फ संकेत गर्दै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताए ।
‘केही अराजकतावादी शक्ति र केही पार्टीले सरकार र एमालेमाथि आक्रमण सुरु गरेका छन् ।नेतृत्वको चरित्र हत्या गर्ने, सरकारमाथि आक्रमण गर्ने र मुलुकमा अराजकता फैलाउने शक्तिहरु सक्रिय छन्’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यस्ता अराजकता गतिविधि नियन्त्रण गर्न सरकार सजग नै छ र पार्टीको तर्फबाट पनि सचेतता अपनाउन आवश्यक छ । त्यस्ता गतिविधिको प्रतिवाद गर्न जरुरी छ ।’
कांग्रेस एमाले गठबन्धन सरकारले राम्रो सुरुवात गर्न खोजेपनि अवरोध सिर्जना गर्ने काम भइरहेको उल्लेख गर्दै परिणाम निकाल्न प्रयासरत रहेको बताए । सरकार अघि बढ्न कुनै समस्या नभएको भन्दै आगामी दिनमा परिणाम निकाल्न सरकार सशक्त रुपमा प्रस्तुत हुने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले इजरायल प्यालेस्टायन, रुस युक्रेन युद्धले अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति जटिल बनाएको उल्लेख गर्दै युद्धका कारण सर्वसाधारणको गम्भीर मानवअधिकार उल्लंघन भइरहेको बताए ।
सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिका कार्ययोजनको मस्यौदा पेस गरेका थिए । एमाले सरकारमा गएपछि बदलिँदो राजनीतिक परिस्थितिमा एक वर्षभित्र पार्टीले गर्ने कार्यक्रम समेटेर कार्ययोजना प्रस्तुत भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

पार्टी संगठनलाई गतिशील बनाउने, सदस्यता वितरणलाई तीब्रता दिने, सदस्यता नवीकरणलाई चुस्त बनाउने, केन्द्रदेखि स्थानीय तहसम्म नियमित बैठक गर्ने, प्रदेश र जिल्ला तहमा देखिएका अन्तरसंघर्ष, मतभेदलाई तुरुन्तै हल गर्नेलगायत कार्ययोजनमा समेटिएको छ ।

वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिन भदौ १८ र १९ मा पालिटब्युरो बैठक बोलाएको गौतमले जानकारी दिए । ‘पार्टी संगठनलाई गतिशील बनाउने कार्ययोजना पोलिटब्युरो बैठकले पारित गर्नेछ’ उनले भने ।

एमाले सरकारमा गएपछि अध्यक्ष एवं प्रधानमन्त्रीको मुख्य ध्यानमा सरकारमा केन्द्रित भएकाले पछिल्लो समय पार्टीका गतिविधिमा शिथिलता आएपछि कार्ययोजना बनाउन लागिएको हो ।

प्रकाशित : भाद्र १३, २०८१ १८:०४
x
×