कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

किन हार्छन् पार्टीभित्र रामकुमारीहरू ?

भाद्र १२, २०८१
किन हार्छन् पार्टीभित्र रामकुमारीहरू ?

Highlights

  • तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रविरुद्ध रगत बगाएकी, एमालेमै रहँदा अध्यक्ष केपी शर्मा ओलीको शैलीविरुद्ध लडेकी एकीकृत समाजवादी बनाउन महत्वपूर्ण भूमिका खेलेकी झाँक्रीलाई अन्ततः मुख्य नेतृत्वको डिजाइनमा पराजित गरिएको छ ।

काठमाडौँ — एकीकृत समाजवादीले महाधिवेशन भएको डेढ महिनापछि बुधबार पार्टी पदाधिकारीहरूको टुंगो लगाएको छ । असार १६–२० को महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मतिले छानेको एकीकृत समाजवादीले अन्य पदाधिकारी केन्द्रीय सदस्यहरू मतदानबाट चयन गरेको हो । चुनावी प्रतिस्पर्धामा केही पुराना र चर्चित अनुहारहरू असफल हुन पुगे । त्यसमा पनि उपाध्यक्षमा रामकुमारी झाँक्रीको पराजय बढी चासो र चर्चाको विषय बनेको छ ।

एकीकृत समाजवादीको असार १६–२० को महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्‍यो । प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्दा भर्खरै बनेको पार्टीमा समस्या हुने भन्दै सर्वसम्मत विधि अपनाएर तीन पदाधिकारी छानियो ।

महाधिवशेनले पूर्ण केन्द्रीय कमिटी चयन गर्न सकेन भने पहिलेकै ९३ जनाको आयोजक कमिटीलाई ब्यूँताइयो । प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने करिब एक हजार ८ सय प्रतिनिधिको चाहनालाई दवाएर महाधिवेशन अन्त्य गरियो । समाजवादीले साउन १८ मा थप सदस्य मनोनीत गरी ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दियो । त्यही कमिटीले बाँकी १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्य निर्वाचित गर्‍यो । सर्वसम्मतका नाममा मनोनीत केन्द्रीय सदस्यले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई महिला उपाध्यक्षमा पराजित गरे । उनी नेतृत्व जयन्ती राईसँग पराजित भइन् ।

पार्टीभित्र र पार्टी बाहिर ‘लोकतन्त्र’का लागि निरन्तर संघर्ष गरिरहेकी झाँक्री पराजित भएपछि राजनीतिक वृत्तमा चर्चाको विषय हुनु स्वाभाविक हो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रविरुद्ध रगत बगाएकी, एमालेमै रहँदा अध्यक्ष केपी शर्मा ओलीको शैलीविरुद्ध लडेकी एकीकृत समाजवादी बनाउन महत्वपूर्ण भूमिका खेलेकी झाँक्रीलाई अन्ततः मुख्य नेतृत्वको डिजाइनमा पराजित गरिएको छ । निर्वाचित राईले १ सय ९९ मत ल्याउँदा झाँक्री १ सय १२ मत ल्याएर परराजित भइन् ।

२०७८ भदौमा एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादीको सचिव रहेकी उनले पछिल्लो समय पार्टी विभाजतको औचित्य पुष्टि हुने गरी नीति कार्यक्रम बनाउनु पर्ने धारणा राख्दै आएकी थिइन् । ‘विशिष्ट परिस्थितिमा एमालेबाट विभाजन भए पनि अब नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि गर्नुपर्छ,’ उनले पार्टीभित्र भन्दै आएकी थिइन्, ‘एमालेलाई दूश्मनको रुपमा नभई उसको व्यवहारको आधारमा हेर्नुपर्छ ।’

एमाले अध्यक्ष ओलीलाई ‘सदावहार विरोधी’ को रुपमा हेर्दै आएका अध्यक्ष नेपाल झाँक्रीको पछिल्लो धारणासँग सन्तुष्ट थिएनन् । आफूलाई लागेको कुरा स्पष्ट बोल्ने विद्रोही झाँक्रीलाई पदाधिकारीमा व्यवस्थापन गर्न महासचिव भुसालको ध्यान पुगेन ।

समाजवादीका एक नेताका अनुसार अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिब भुसालको निकट नेताहरुलाई मिलेर जिताउने प्रतिस्पर्धाका कारण झाँक्री पदाधिकारीबाट बाहिरिन पुगेकी छन् । उनले निकट नेताहरुसँग अध्यक्ष र महासचिवको ‘सेटिङ’का कारण आफू पराजित भएको बताएकी छन् ।

‘सबै केन्द्रीय सदस्य माधव नेपाल, घनश्याम भुसालले नै मनोनीत गरेका व्यक्ति थिए । दुवैले आ-आफ्ना मान्छे जिताउन लागेपछि त्यस बाहिरका व्यक्तिले जित्ने संभावना थिएन,’ उनले निकट नेतासँग भनेकी छन्, ‘मैले यस्तो षड्यन्त्रको कुरा सोच्ने कुरा भएन । माधव नेपालको पनि भइनँ, घनश्यामको पनि भइनँ । त्यसो भएकाले आफ्नो परिणाम यही थियो ।’

महाधिवेशन भएको डेढ महिनासम्म सर्वसम्मतबाट पदाधिकारी चयन गर्ने भन्दै पर धकेलिएको थियो । झाँक्रीले आफू पार्टीको केन्द्रीय सदस्य भएकाले त्यही हैसियतले काम गर्ने प्रतिक्रिया दिइन् । ‘समाजवादी पार्टीको केन्द्रीय सदस्य हुँ । त्यहीअनुसार काम गर्छु । अरु केही चाहिएको छैन,’ उनले संक्षिप्त प्रतिक्रिया दिइन् ।

एमाले नेताहरुसँग निकट रहेको समाजवादीभित्र झाँक्रीमाथि आरोप लाग्ने गरेको छ । उनले पार्टीभित्र पार्टी विभाजनको औचित्य पुष्टि गरी बलियो पार्टी नबने पार्टी एकताका लागि तयार रहनुपर्ने धारणा राख्दै आएकी थिइन् । ‘कुनै व्यक्ति मन परेन भने पार्टीविरोधी, अर्को पार्टीमा प्रवेश गर्दैछ भनेर आरोप लगाउने पुरानै चलन हो,’ उनले थपिन् ।

उपमहासचिव र सचिवका १७ पदका लागि ६७ को नेता प्रतिस्पर्धामा उत्रिएका थिए । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका थिए । अरु पदमा मंगलबार केन्द्रीय सदस्यले मतदान गरेका थिए ।

अध्यक्ष नेपाल निकट नवनिर्वाचित उपमहासचिव मेटमणि चौधरीले खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको दाबी गरे । ‘केही व्यक्तिलाई गुटबन्दी गरी जिताइयो भन्ने गलत हो,’ उनले भने, ‘स्वतन्त्र हिसाबले केन्द्रीय सदस्यले मतदान गर्नुभएको हो ।’

प्रतिस्पर्धामा नेपाल निकट नेताहरु पनि पराजित भए । उनी निकट नेताहरु उपाध्यक्ष प्रतिस्पर्धीहरु उर्वादत्त पन्त, रामचन्द्र झा, उपमहासचिवका प्रतिस्पर्धी नागेन्द्र चौधरी, रामचन्द्र यादव पराजित भएका छन् ।

खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा विजयी भएका छन् । मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह निर्वाचित भए । उपमहासचिवमा मेटमणि चौधरी, राजेन्द्रकुमार राई, रामकुमार भट्टराई, गरिमा शाह निर्वाचित भएका छन् । आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलितबाट गणेश विश्वकर्मा निर्वाचित भएका छन् । खुला सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भुसाल, श्रीनाथ बराल छानिए ।

केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भए । यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका छन् ।

विद्रोही स्वभाव नेतृत्वले नरुचाएपछि...
एकीकृत समाजवादीको उपाध्यक्षमा नेतृ रामकुमारी झाँक्री पराजित भएपछि उक्त पार्टीको मूल नेतृत्वप्रति प्रश्न उठेको छ । शाही शासन, तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोहमा उत्रिएकी उनलाई पदाधिकारीमा चयन हुन नसक्नुमा पार्टीभित्र विद्रोही स्वभावलाई लिइएको छ ।

२०७८ भदौमा नेकपा आन्तरिक विवाद चुलिँदै जाँदा ०७७ पुस ५ मा पहिलो पटक तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि झाँक्रीले त्यसको सशक्त प्रतिवाद गरेकी थिइन् । तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित नेताहरुसँगै उनी संसद् विघटनको विपक्षमा अग्रपंक्तिमा उभिएकी थिइन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमा टिप्पणी गरेपछि उनलाई ‘राज्यविरुद्धको कसुर’ अभियोग लगाई पक्राउ गरिएको थियो । ०७७ माघ २९ मा प्रहरीले उनीमाथि ‘राज्यविरुद्धको कसुर’ गरेको अभियोगमा पक्राउ गरिएको थियो । अध्यक्ष ओलीको प्रत्येक पटक कारबाहीमा माधव नेपालसँगै झाँक्री पनि निशानामा परिन् । चर्को दबाब भएपछि उनलाई त्यही दिन रिहा गरिएको थियो ।

सर्वोच्चको परमादेशबाट बनेको कांग्रेस सभापति शेरबहादुर देउवा सरकारमा २०७८ असोजमा उनी सहरी विकासमन्त्री बनिन् । २०७९ असारमा उनलाई पार्टीले मन्त्रीबाट फिर्ता बोलाएको थियो । गत प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट उनी एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् ।

विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा आएकी उनी आफूलाई लागेको विषय सिधै राख्थिन् । यसअघि गाली र ताली भागमा आएको यसपटक उनले पार्टीभित्रै पराजित आइलाग्ने गरेको छ । आफूलाई चित्त नबुझेको सिधै बोल्ने भएकाले बेलाबेला विवादमा पनि पर्ने गरेकी छन् ।

०५४ सालमा नेकपा माले पार्टी गठन गर्दा वामदेव गौतमसँग लागेकी उनी २०५८ सालमा एमालेमा फर्किएकी थिइन् । २०६२/०६३ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रुपमा उनी कामाडौंका सडकमा अग्रमोर्चामा भएर घाइतेसमेत भएकी थिइन् ।

त्यसक्रममा पटक-पटक पक्राउ परेकी थिइन् भने प्रहरीले प्रहार गरेको लाठी लागेर रगतपच्छे भएको उनको तस्बिर पूरै जनआन्दोलनको एउटा प्रतिकात्मक तस्बिरको रुपमा चिर्तित भएको थियो । २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी प्रतिनिधिसभा चुनावपछि २०७४ मा समानुपातिक कोटाबाट ०७४ मा सांसद बनेकी थिइन् ।

झाँक्रीजीका लागि एमाले उपयुक्त पार्टी हो : एमाले सचिव भट्टराई
एकीकृत समाजवादीभित्र नेतृ रामकुमारी झाँक्री एमाले नेतासँग निकट रहेको आरोप लागिरहेका बेला सचिव योगेश भट्टराईले उनका लागि उपयुक्त पार्टी एमाले नै भएको बताएका छन् । विगतमा पार्टी र विद्यार्थी संगठनमा लामो सहकार्य गरेका तर २०६८ पछि एमाले विभाजनपछि अलग पार्टीमा रहेका छन् ।

‘रामकुमारी झाँक्रीजीका लागि एमाले उपयुक्त पार्टी थियो र अहिले पनि छ,’ उनले भने, ‘एमालेमा उहाँको योगदान छ । यो पार्टीमा फर्कन उहाँलाई ढोका बन्द छैन ।’

एमाले फर्कनेबारे गम्भीर छलफल नभए पनि उपयुक्त पार्टीमा फर्किन उचित हुने सुझाव उनले दिए । पछिल्लो समय झाँक्रीले एकीकृत समाजवादी बलियो पार्टी बनाउन नसक्ने हो भने एमालेसँग एकता गर्न सकिने धारणा राख्दै आएकी छन् ।

प्रकाशित : भाद्र १२, २०८१ २२:२३
x
×