कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

मानव वन्यजन्तु द्वन्द्व : तनहुँमा चितुवाको आक्रमणले छ वर्षमा १५ बालबालिकाले ज्यान गुमाए

भाद्र १२, २०८१
मानव वन्यजन्तु द्वन्द्व : तनहुँमा चितुवाको आक्रमणले छ वर्षमा १५ बालबालिकाले ज्यान गुमाए

Highlights

  • द्वन्द्व न्यूनीकरणका लागि सरकारीस्तरबाट गरिएका प्रयास प्रभावकारी बन्न सकेनन्

(तनहुँ) — बन्दीपुर गाउँपालिका–५ स्थित सालथानमा यही साउन ४ गते साँझ करिब ८ बजेको समयमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गयो । घरको आँगनमा खेल्दै गरेका चिजकुमार अछामी र उमादेवी नेपालीका ११ वर्षीया छोरा सुन्दर अछामीलाई चितुवाले आक्रमण गरेको थियो ।

आफूसँगै खेल्दै गरेको छोरालाई चितुवाले आक्रमण गरी ज्यानै लिएको कुरा अझैपनि विश्वास गर्न नसकेको सुन्दरकी आमा बताउँछिन् ।

‘खेतमा काम गरेर ७ बजेतिर घरतिर उक्लिएका थियौं, घरमा सामान राखेर भैंसीलाई घाँसपानी हाल्न म गोठतिर लागेँ,’ उनले भनिन्, ‘छोरो पनि मसँगै थियो । गोठ नजिकै देउरानीको घर छ । एकछिन म देउरानीसँग गफ गर्न लागेँ । छोरो मोबाइल खेलाउँदै घरतिर उक्लियो । छोरा घर पुग्यो होला भनि ढुक्कसाथ बसेको थिएँ । अचानक छोरा कराएको सुन्यौं र सबै आवाज आएकोतिर दगुर्‍यौं । छोरालाई चितुवाले आक्रमण गरेको देखेपछि छोरा छोप्न म हाम्फालेँ । छोरा र चितुवा दुवैलाई समात्न पुगेछु । पछि चितुवा भाग्यो र हामी घाइते छोरा बोकेर अस्पतालतिर लाग्यौँ ।’

छोरालाई बचाउन सकिन्छ कि भनेर केही नसोची अस्पताल लगेपनि छोरालाई बचाउन नसकिएको उनले बताइन् । ‘सधैँ ९, १० बजेसम्म दुई घर ओहोरदोहोर गर्थ्यौं । यस्तो हुन्छ भनेर कहिल्यै पनि सोचेका थिएनौँ,’ उनले भनिन् ।

अहिले सालथान गाउँका बासिन्दा त्रसित अवस्थामा छन् । आफ्ना बालबालिकालाई एक्लै घर छाड्न तथा विद्यालय पठाउन समेत अभिभावक डराउन थालेको स्थानीय राजकुमार अछामी बताउँछन् । ‘अन्य कामधन्दा छाडेर अहिले बालबालिकालाई विद्यालय लाने ल्याउने काममा अभिभावक संगै जाने गरेका छन्,’ उनले भने ।

मृतक सुन्दरका काका समेत रहेका अछामीका अनुसार केही दिनपछि चितुवा दिउँसै सडकमा हिँडिरहेको अवस्थामा पनि देखिएको थियो । ‘साँझ बिहान मात्र होइन अहिले दिउँसै पनि चितुवाको त्रास छ । आफू नजिकै भएको बच्चालाई त आक्रमण गरी ज्यानै लिन्छ । घरमा बालबच्चा र महिलालाई एक्लै छोड्न पनि सोच्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

बन्दीपुरको सालथानमा छ घर परिवार छरिएर बसेको गाउँ छ । चारैतिर जंगलले घेरिएको यस गाउँमा पछिल्लो घटनापछि साँझ नपर्दै सबै सुनसान हुने गरेको छ । चितुवाका त्रासले घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था आएको छ ।

चितुवाले बालबालिकालाई आक्रमण गरी ज्यानै लिएको यो पहिलो घटना भने होइन । तनहुँमा २०७४ फागुन १ गते शिवरात्रीका दिन भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवा आक्रमणमा परि ज्यान गएको थियो । यो घटना नै तनहुँमा चितुवाले बालबालिका माथि आक्रमण गरेका पहिलो हो । घरबाट ५ सय मिटर पर रहेको मामाघर गएका विशाललाई मामाघरबाट घर फर्किने क्रममा बाटोमा आक्रमण गरेको थियो । चितुवाले आधा शरिर खाएको अवस्थामा उनको शव भेटिएको थियो ।


तनहुँको भानु नगरपालिका–२ ठुलोबगैंचास्थित चितुवा प्रभावित क्षेत्र । तस्बिरः सम्झना/कान्तिपुर

यस्तै, भानु नगरपालिका–२ ठुलोबगैंचाकी ५५ वर्षीया दिलमाया राईको मनबाट अझै पनि चितुवाको डर हट्न सकेको छैन । जंगल नजिकै सानो झुप्रोमा दुई नातिका साथमा बस्ने उनको सानो नातीलाई २०७६ साउन १२ गते घरको पिँढीमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी लगेको थियो । यो घटनाका करिब ५ वर्ष बित्यो, तर उनको मनमा गढेको त्यो डर अझै हट्न सकेको छैन ।
‘म अझै त्यो दिन भुल्न सक्दिनँ,’ चितुवाले नातिलाई आक्रमण गरेको दिन सम्झँदै उनले भनिन्, ‘दुई दाजुभाइ पिँढीमा खेलिरहेका थिए । म उनीहरु नजिकै बसेर साँझको खाना पकाउँदै थिएँ । एक्कासि ठूलो नातिले बाघबाघ भन्दै चिच्याउन थालेपछि म आगोको अगुल्टो लिएर चितुवाको पछि पछि कुदेँ ।’


चितुवाले सानो नातिलाई आक्रमण गरी लगेपछि ठूलो नाति कराएको थियो । चितुवाले नातिलाई कता लग्यो भनेर भेउ पाउन नसकेपनि घरमाथि जंगल भएकाले त्यतै लगेको अनुमान गरी उनी कराउँदै दौडिएकी थिइन् । ‘हारगुहार गर्दै म जंगलतर्फ उकालो लागेँ,’ उनले भनिन्, ‘गाउँभरी चितुवा आतंक फैलिएको थियो ।’


नातिलाई जीवितै भेट्छु भन्ने आशा समेत मारिसकेकी दिलमाया चितुवालाई नै मार्छु भनेर चितुवाको पछि लागेको सुनाउँछिन् । चितुवाले नातिलाई घिसार्दै घरमाथीको जंगलमा पुर्‍याइसकेको र हारगुहार गर्दै गएकाले चितुवाले बच्चालाई छाडेर भागेकाले घाइते अवस्थामा बालकलाई भेटिएको थियो । उनले भनिन्, ‘म कराउँदै आएको देखेर चितुवाले नातिलाई त्यही छाडेर गएछ ।

नातिको घाटी र टाउकोमा नङ्ग्रा र दाँत गाढेर घाइते बनाएको थियो । बेहोस अवस्थामा भेटिएको नातिलाई तत्कालै छिमेकीको सहयोगमा उपचारका लागि डुम्रे बजार लगेँ । डुम्रेबाट थप उपचारका लागि चितवनस्थित सिएमसिमा पुर्‍याएपछि मेरो नाति बाँच्यो ।’

वि.सं. २०७४ फागुनदेखि हालसम्म चितुवाको आक्रमणमा परी १५ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । यो अवधिमा चितुवाको आक्रमणमा परी २१ जना बालबालिका घाइते भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाको भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक बढी थियो । त्यसपछि आँबुखैरेनी, बन्दीपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवाले बालबालिकालाई निशाना बनाउन थाल्यो । चितुवाको आक्रमणमा परी ज्यान गुमाउने र घाइते हुनेमा करिब २ देखि १२ वर्ष उमेरसमूहका बालबालिका छन् । विशेषगरी चितुवा बिहान र साँझपखको झिसमिसे अध्याँरोको समयमा मानवबस्तीमै आएर बालबालिकालाई आक्रमण गर्ने गरेको छ ।

डिभिजन वन कार्यालय तनहुँको तथ्याङ्क अनुसार चितुवाको आक्रमणबाट वि.सं. २०७४ यता भानुमा ६, आँबुखैरेनीमा १, बन्दीपुरमा ५, शुक्लागण्डकीमा २ र व्यासमा १ गरी १५ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । घरपालुवा जनवारलाई समेत चितुवाले मारेको छ । घरबस्तीमै यसरी चितुवा आएर किन मानिसलाई आक्रमण गर्न थाल्यो स्थानीयले अझै भेउ पाउन सकेका छैनन् ।

जिल्लामा चितुवा आतंक बढ्न थालेपछि प्रभावित क्षेत्रका पालिकाहरुले सचेतनामुलक कार्यक्रमलाई अगाडि बढाएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पछिल्लो समय चितुवा आतंक केही कम भएको जस्तो देखिएको बताए ।

‘चितुवाले मानिसलाई आक्रमण गरी क्षति नपुर्‍याएपनि कुकुर र बाख्रालाई भने आक्रमण गरिरहेको छ,’ उनले भने, ‘अझैपनि ढुक्क भएर बस्ने स्थिति छैन । हामीले सबैलाई सचेत रहन आग्रह गरेका छौं । स–साना बालबालिकालाई विद्यालय लग्दा अभिभावककै रेखदेखमा पुर्‍याउन भनिएको छ । साँझ बिहानको समयमा बालबालिकालाई एक्लै नछाड्न, वन जंगल जाँदा समूहमा जान भनेका छौं ।’

चितुवा नियन्त्रणका लागि पालिकास्तरबाट सचेतना बाहेकका अन्य काम भने भएका छैनन् । वन्यजन्तु भएका कारण यसको नियन्त्रणमा आफ्नो पहुँच नपुग्ने व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘वडास्तरबाट सचेतनाको काम त भइरहेका छन् । चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय लगायतका अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि जाना तयार छौं ।’

जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफलमा ६२१ वटा सामुदायिक वन छन् । योसंगै राष्ट्रिय र निजी वनहरु पनि छन् । यही वन क्षेत्रसँगै जोडिएर अधिकांश मानिसहरुको बसोबास रहेको छ । सामुदायिक वनले स्थानीय उपभोक्ताको जीवनस्तरमा सुधार पनि ल्याएको छ ।

वन क्षेत्रको संरक्षण र प्रवर्द्धन हुँदा क्रमिक रुपमा वन क्षेत्र वृद्धि पनि भएको छ । तर, यही बढ्दो वन क्षेत्र र यहाँ विचरण गर्ने वन्यजन्तुका कारण अहिले मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै गएको छ ।

चितुवा नियन्त्रणका प्रयास

घरघरमै चितुवा आएर आक्रमण गरी बालबालिकाको ज्यानै लिन थालेपछि सरोकारवाला निकायले चितुवा नियन्त्रणका लागि विभिन्न उपायहरु अप्नाएका छन् । जंगलमा फुट ट्रयाप, क्यामेरा ट्रयापिङ, विशेष सुरक्षा दस्ता परिचालन, परम्परागत खोरमा बाख्रासहित पासो थाप्ने, वनमा पानीपोखरी निर्माण गर्ने, घर वरापराका झाडी फडानी तथा सरसफाई, जनस्तरमा सचेतना, जंगलमै फलफूलका विरुवा रोप्ने लगायतका काम भएपनि चितुवा आतंक अझै न्यूनिकरण हुनसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय तनहुँले २०७६ असोजमा नरभक्षी चितुवा मार्न निर्देशन दिएको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम हिंस्रक नरभंक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्रचार समेत गरेको थियो । तर, आक्रमण भने नियन्त्रणमा आएन ।

भानु नगरपालिका–२ फुस्रेटारस्थित जंगलमा चितुवा नियन्त्रणका लागि बनाइएको परम्परागत काठको खोरसँगै तनहुँको भानु नगरपालिका–४ का ८० वर्षीय हरिभक्त ढकाल । तस्बिरः सम्झना/कान्तिपुर

चितुवा आतंक बढ्दै गएपछि रोकथामका लागि प्रभावित क्षेत्रमा पराम्परागत काठको खोर निर्माण गरिएको थियो । काठको खोरमा थापिएको पासोमा १६ वटा चितुवा परे । २०७५ सालदेखि हालसम्म १८ वटा जिउँदो र ४० वटा मृत अवस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जीवित चितुवालाई नियन्त्रणमा लिई सुरक्षित रुपमा अन्यत्र पठाइएको थियो । यो द्वन्द्वका कारण मानव मात्र होइन चितुवाको पनि ठूलो क्षति भएको तनहुँका सहायक डिभिजन वन अधिकृत काशीराज पण्डित बताउँछन् ।

हाल चितुवा प्रभावित क्षेत्रमा ८ वटा फलामे खोरहरु छन् । सामुदायिक वन क्षेत्रमा बनाइएका काठका खोरहरु जीर्ण अवस्थामा रहेको हुँदा फलामका खोरमा पासो थापेर राखिएका पण्डितले बताए ।

वन्यजन्तुलाई वनमै पानीपोखरी र फलफूल

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय तनहुँले आ.व. २०७८ देखि आ.व. २०८०/०८१ सम्मा जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा ३२ वटा पानीपोखरी निर्माण गरेको छ । पानीपोखरी निर्माणका लागि कार्यालयले ३० लाख ६९ हजार २९४ रुपैयाँ खर्च गरेको छ ।

सामुदायिक वन क्षेत्रमा बनाइएका पोखरीमध्ये २५ प्रतिशत पोखरीमा बार्‍है महिना पानी हुन्छ । अन्यमा बर्खायाममा आकाशबाट झर्ने पानी संकलन हुने र त्यही पानी जमिनभित्र गएर अन्य पानीका मुहानलाई रिचार्ज गर्ने काम पनि भएको तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।



पानी र आहाराको खोजीमा वन्यजन्तु विशेष गरी चितुवा मानव बस्तीमा आउने गरेको पाइएपछि वन्यजन्तुलाई आवश्यक पर्ने पानी र आहारा व्यवस्थापनका लागि विभिन्न काम भइरहेका छन् । वनमै पानीपोखरी निर्माण गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि मात्रै नभई पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण रहेको वन अधिकृत श्रेष्ठले बताए ।

उनले भने, ‘पोखरीमा अन्य वन्यजन्तुजस्तै चराचुरुंगी पनि आउँछन् । चराले बिस्ट्याउँदा त्यस ठाउँमा फलफूलका बिरुवा उम्रन्छन् । विभिन्न वन्यजन्तु पानीका लागि पोखरीमा आउँदा चितुवा पनि त्यतै भुल्ने र आहारा खोज्दै मानव बस्तिमा आउँदैन ।’

डिभिजन वन कार्यालयले आ.व. २०७७/०७८ मा भानुको मजुवा ओख्ले सामुदायिक वनमा दुई हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूलका करिब ५०० वटा विरुवा रोपेको छ । म्याग्दे गाउँपालिका–२ को उमाचोक सामुदायिक वनमा ३ हेक्टर क्षेत्रफलमा २ सय ७८ वटा र म्याग्दे–३ को सिद्धवतासन सामुदायिक वन क्षेत्रमा २.५ हेक्टर क्षेत्रफलमा ३५० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलका विरुवा रोपेको छ । उक्त कार्यक्रमका लागि २२ लाख ४० हजार रुपैयाँ खर्च गरिएको सयहाक वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।

‘चितुवा समात्ने बुढाहरु’

भानुमा चितुवा आतंक बढ्न थालेपछि चितुवा समात्न ८० वर्षका हरिभक्त ढकाल र ७२ वर्षीय मनबहादुर राना कास्सिए । सामुदायिक वन क्षेत्रमा परम्परागत काठको खोर निर्माण गरी पासोमा पार्न जुरमुराएका वृद्धहरु सफल पनि भए । उनीहरुले बनाएको काठको खोरमा बाख्रा राखेर चितुवालाई पासो थापियो । ढकालले बनाएको खोरमा ५ र रानाले बनाएको खोरमा ३ वटा चितुवा परे ।

६ वटा खोर बनाएको बताउँदै ढकालले भने, ‘मैले सम्झिएअनुसार २०२३ सालमा भानु–४ मा पहिलो पटक चितुवाले मान्छे खाएको थियो । त्यस चितुवालाई समात्न भनि स्थानीय बुढापाकाको सहयोगमा मैले त्यही साल फागुनमा काठको खोर बनाएको थिए ।’ खोर बनाएको एक दिनमै चितुवा पासोमा परेको र त्यही सीपको मद्दतले अहिले ६ वटा खोर बनाएको ढकालले बताए ।

यस्तै, रानाले पनि आफ्नै बाबुबाजेबाट खोर बनाउने सीप आर्जन गरेको बताए । उनले भने, ‘त्यतिबेला चितुवाले घरपालुवा जनावर खाएर सताएको हुँदा बाघ/चितुवा समात्न बाबुबाजेले काठको खोर बनाएका थिए । तीनै वन्यजन्तु नियन्त्रणका लागि बनाइएको खोर हेर्दाहेर्दै मैले पनि खोर बनाउन सिके ।’

उनीहरु अहिले गाउँमा बाघ समात्ने बुढाका नामले परिचित छन् । चितुवा प्रभावित वडाका सामुदायिक वन क्षेत्रमा परम्परागत काठको खोर बनाएर पासो थापिएको थियो । उक्त खोरमा चितुवा पार्न सफल भएको भन्दै ढकाल र रानालाई भानु नगरपालिका र डिभिजन वन कार्यालयले संयुक्त रुपमा दोसल्ला, प्रमाणपत्र र ५/५ हजार रुपैयाँद्वारा सम्मान पनि गरेको थियो । ढकाल र रानाले बनाएको काठको खोर हेर्नेको पनि भिड लाग्यो । उनिहरुको यो सीप अन्यलाई पनि सिकाएर काठको खोर बनाएर चितुवा नियन्त्रण गर्न थालियो ।

किन बढ्यो चितुवा आतंक ?
यस्तै, जनसंख्या बृद्धिसँगै वनजंगलको विनाश, झाँडी कम र घर पखामा रहेका खोलाखोल्सीमा झाडी बढी हुँदा पनि चितुवा मानवबस्तीतिर आएको भानु–१ स्थित भिमसेनथुम्की सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम थापा बताउँछन् । ‘अहिले वन विकासको नाममा काठका रुपमा प्रयोग हुने बोट विरुवा बाहेक अन्य बोटबुट्यान फडानी गर्ने चलन छ । यसले गर्दा चितुवाले लुक्ने ठाउँ पाउँदैन र घर वरपरका झाडीमा लुकेर बस्छ’, उनले भने, ‘जंगलमा स–साना बोटविरुवा, झाडी तथा सिमसार क्षेत्र नहुँदा अन्य वन्यजन्तु पनि मानवबस्ती वरपर आउने गर्दा चितुवा पनि घरबस्तीमै आइपुगेको हो कि भन्ने हामीलाई लागेको छ ।’

वन्यजन्तु तथा चितुवाको चरिचरन क्षेत्रमा मानिसले कब्जा जमाउँदै जाँदा पनि द्वन्द्व बढेको हुन सक्ने प्रभावित क्षेत्रका बासिन्दा स्वीकार्छन् । ‘वातावरणमैत्री विकास निर्माण नहुँदा अहिले अधिकांश पानीका मुहान सुकेका छन् । अलिअलि भएका पानीका मुहानबाटै पाइपको प्रयोग गरी घरघरमा पानी ल्याइएको छ’, उनले भने, ‘पानी खान नपाएपछि चितुवा मानवबस्तीमा छिर्छ, अनि आफूभन्दा कमजोरमाथी आक्रमण गरी भोकप्यास मेटाउन खोजेको हो कि भन्ने हामीले पनि महसुस गर्न थालेका छौं ।’



पछिल्लो समय घरपालुवा जनवार जस्तै बाख्रा, गाई, भैंसी, गोरु धेरै नपाल्नु, पालेपनि आधुनिक खोरमा राख्नु, पानीका घडा घरबाहिर नराख्नु र जंगलसम्मै बस्ती विस्तार हुनु जस्ता कारणले पनि चितुवा आतंक बढेको थापा बताउँछन् । थापाले भने, ‘वनमै घाँसेमैदान, पानी र आहाराको व्यवस्थापन गर्न सके चितुवा मानवबस्तीमा आउँदैन भन्ने जानकारी हुन थालेपछि अहिले हामी प्रभावित क्षेत्रका बासिन्दाहरु मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई स्वीकार गर्दै वातावरणमैत्री क्रियाकलाप अगाडि बढाएका छौं ।’
वनमा चितुवाको आहारा प्रजाति मृग, हरिण, वन कुखुरा, वन सुँगुर, खरायो, दुम्सी लगायतका साना प्रजातिका वन्यजन्तु लोप हुनुको कारण पनि चितुवा आतंक बढेको स्थानीय कुमारबहादुर खड्का बताउँछन् ।

‘वनमा चोरीशिकारी बढ्यो, चितुवाको आहारा मानिसले खाइदिँदा त्यसको बदलामा हामीले हाम्रा बालबालिका चितुवालाई दिनुपरेको छ’, उनले भने, ‘सरोकारवला निकायले चितुवाको बासस्थानका लागि आवश्यक पानी आहारा वनमै व्यवस्थापन गरिदिए हाम्रा बालबालिका सुरक्षित रहन्थे ।’

वनमा वन्यजन्तुको आहारा कम हुँदा जिल्लामा चितुवा आतंक बढेको डिभिजन वन कार्यालयको अनुमान छ । वन अधिकृत काशीराम श्रेष्ठले भने, ‘भानुका जंगलमा जंगलको क्षमताभन्दा बढी चितुवा रहेको भेटियो । यी चितुवाहरुलाई पुग्ने आहारा वनमा नपाएपछि आहाराको खोजीमा उनीहरु मानव बस्तीमा छिरे र आफूभन्दा कमजोरलाई आक्रमण गरी आहारा बनाए ।’

सरकारलाई आर्थिक भार

मानव र वन्यजन्तु चितुवा, भालु, बाँदर बीचको द्वन्द्वका कारण सरकारलाई पनि ठूलो आर्थिक भार परेको छ । नेपाल सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । सो बामोजिम मृत्यु भएका परिवारलाई एक करोड ४० लाख रुपैयाँ बढि रकम राहत वितरण गरिसकिएको छ भने घाइतेलाई ९ लाख ४३ हजार ५२५ रुपैयाँ उपचार खर्च उपलब्ध गराइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
तनहुँमा चितुवासँगै भालु र बाँदर आतंक पनि उच्च रहेको छ । भालु समेत गाउँगाउँको घरगोठमा पुगेर मानिसलाई आक्रमण गर्ने, लगाएका खेती नष्ट गरिदिने गरेको छ । बाँदरका कारण कतिपय कृषकहरुले खेतीपाती गर्न छाडेर खेतबारी बाँझै छाड्न समेत थालेका छन् ।

प्रकाशित : भाद्र १२, २०८१ १७:२२
x
×