कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पाल्पामा भगवतीको रथयात्रा : हजारौं श्रद्धालु जाग्राम

भाद्र ११, २०८१
पाल्पामा भगवतीको रथयात्रा : हजारौं श्रद्धालु जाग्राम

Highlights

  • रथयात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा आउँदै

पाल्पा — पाल्पामा आज भगवतीको रथयात्रा हुदैंछ । रथयात्राको पूर्वसन्ध्यामा सोमबार राति १० हजारभन्दा बढी श्रद्धालु जाग्राम बसेका छन् ।

नेपाल–अंग्रेज युद्धको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भगवतीको रथयात्रा हुँदै आएको छ । रथयात्राको जाग्राममा मध्यरातमा सयौं श्रद्धालु जयजयकारको गुन्जनसहित सहभागी भएका हुन् । पाल्पा तानसेन–३ स्थित भगवतीटोलको भगवती मन्दिर परिसरमा मध्यरातमा भगवतीको दर्शन गर्ने र रथलाई प्रारम्भ गर्दा जाग्राममा सहभागी हुन श्रद्धालुको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

आतिसबाजीका साथै लाखे नाचको रौनकले मध्यरातसम्म भिड नघटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ । कृष्णअष्टमीको मध्यरातमा पूजाआजासहित राँगो, बोकालगायतका बलि दिइएको छ । तीन/तीन पटक रथलाई मन्दिर परिक्रमा गराएपछि रथयात्राका लागि मन्दिरअगाडि राखिएको छ ।

हरेक वर्ष भाद्र कृष्णअष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गर्ने प्रचलन तत्कालीन कर्णेल उजीरसिंह थापाले चलाएको इतिहासविद् कर्णबहादुर बाँनियाको पुस्तकमा उल्लेख छ । कृष्ण जन्माष्टमीको रातभर भगवतीको जयजयकारसहित भजन गाउने र जाग्राम बसिएको छ । कृष्णअष्टमीको बेलुकी लाखे नाच निकालिएको छ । लाखेमा सयौंको संख्यामा सहभागी भए ।

कृष्णको भजन कीर्तनले थप रौनकता थपिएको थियो । मध्यरातमा नेवारी धूनसहित युवायुवतीहरूले ढोलक बजाएर रमाइलो गरेका थिए । रथयात्राको प्रारम्भमा मध्यरातमै भवगतीलाई बली दिइएको छ । तानसेनमा रहेको दि फेमस महीन्द्र दल गणबाटसमेत पूजाआजा गरिएको छ । तत्कालीन तैनाथवाला कर्णेलका सन्ततीले पनि पूजा दिएका छन् ।

प्रशासन र प्रहरी साथै नगरपालिका, नेपाली सेनाले पूजा दिने प्रचलन छ । यसपटक भगवती जात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता रहने मन्दिर व्यवस्थापन समितिले जनाएका छ । भगवतीको पूजाआराधनाका साथै भगवतीको रथयात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिता रहने समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।

विक्रम सम्वत् १८७१/७२ मा नेपालमा कुमाउ–गडवाल, मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएकोमा जितगढीमा मात्र विजयी हासिल गरेको सम्झनामा अहिलेसम्म रथयात्रा गरिँदै आएको छ ।

विक्रम संवत् १८७७ मा सुरु भएको भगवतीको रथजात्राले अहिलेसम्म निरन्तरता पाएको भगवती मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश गंगोलले बताए ।

प्रकाशित : भाद्र ११, २०८१ ०८:११
x
×