कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

सरकारभन्दा पार्टी र विचारको विकास अबको प्राथमिकता : अध्यक्ष दाहाल

भाद्र १०, २०८१
सरकारभन्दा पार्टी र विचारको विकास अबको प्राथमिकता : अध्यक्ष दाहाल

कास्की — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको अबको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन् । 

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापन गर्दै अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

'हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो', उनले भने । अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको बताए ।

उनले भने, 'परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।' बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताए । उनले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

'अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो', उनले भने । सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : भाद्र १०, २०८१ १६:०३
x
×