कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

ओमानी विदेशमन्त्रीको नेपाल भ्रमण : कूटनीतिक अध्ययन-प्रशिक्षणमा सहकार्यसम्बन्धी समझदारी हुँदै

भाद्र १०, २०८१
ओमानी विदेशमन्त्रीको नेपाल भ्रमण : कूटनीतिक अध्ययन-प्रशिक्षणमा सहकार्यसम्बन्धी समझदारी हुँदै

काठमाडौँ — नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र प्रशिक्षणमा सहकार्यसम्बन्धी समझदारी हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र ओमानको विदेश मन्त्रालयअन्तर्गतको कूटनीतिक प्रतिष्ठानबीच कूटनीति अध्ययन र प्रशिक्षणमा सहकार्यका विषयमा समझदारी पत्रमा मंगलबार हस्ताक्षर हुन लागेको हो ।

परराष्ट्र स्रोतका अनुसार ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद बल्सुसैदीको दुई दिने औपचारिक नेपाल भ्रमणका क्रममा उक्त विषयमा समझदारी हुन लागेको हो । परराष्ट्रका एक अधिकारीका अनुसार अन्य विषयमा समझदारी गर्नका लागि छलफल भए पनि अझै टुंगो लाग्न भने बाँकी नै छ ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट विदेशमन्त्रीकै तहमा नेपालको भ्रमण भएको हो । नेपालको उच्च तहमा भ्रमण गर्ने क्रममा सोमबार बेलुकी बल्सुसैदी काठमाडौं उत्रिएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा आएका विदेशमन्त्री बल्सुसैदीले मंगलबार बिहान परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त अवसरमा दुई मुलुकबीचका विभिन्न एजेन्डामाथि छलफल गर्नुको साथै समझदारी पत्रमा समेत हस्ताक्षर हुनेछ ।

विदेशमन्त्री बल्सुसैदी त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर मंगलबार बेलुका ओमान फर्कने कार्यक्रम छ । ओमान नेपालीहरूको वैदेशिक रोजगारीका लागि पश्चिम एसियामा एउटा महत्त्वपूर्ण मुलुक हो । ओमानमा अहिले करिब २४ हजार नेपाली श्रमिक रहेका छन् ।

ओमानको लागि नेपालकी पूर्वराजदूत शर्मिला पराजुली ढकालले ओमान पश्चिम एसियामा नेपालको महत्त्वपूर्ण मित्र रहेको बताइन् । उनले ओमानबाट नेपाललाई महत्त्व दिँदै पहिलो पटक विदेशमन्त्रीस्तरमा भ्रमण भएको र यसलाई नेपालले सदुपयोग गर्न सक्नुपर्ने उल्लेख गरिन् ।

‘ओमानसँग नेपालले धेरै कुरामा सहकार्य गर्न सक्छ । ग्रिन इजर्जी र फर्टिलाइजरमा नेपालले सहकार्य गरेर फाइदा लिन सक्छ,’ उनले भनिन्, ‘ओमानले नेपालको ऊर्जा क्षेत्रमा पनि लगानी गर्ने चाहना व्यक्त गरेको छ ।’

प्रकाशित : भाद्र १०, २०८१ २२:२९
x
×