कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

न्यारोबडी पनि ‘ग्राउन्डेड’, मलेसिया र काठमाडौंमा २ सय ६० यात्रु अलपत्र

भाद्र १०, २०८१
न्यारोबडी पनि ‘ग्राउन्डेड’, मलेसिया र काठमाडौंमा २ सय ६० यात्रु अलपत्र

Highlights

  • वाइडबडी ‘अन्नपूर्ण’ इटालीमा दुई महिनादेखि अलपत्र, वाइडबडी ‘मकालु’ बुधबार ‘सी–चेक’ का लागि इटाली जाँदै, यहीबीच न्यारोबडी ‘सगरमाथा’ ग्राउन्डेड

काठमाडौँ — नेपाल वायुसेवा निगमको न्यारोबडी ‘सगरमाथा’ शनिबार मध्यरातिदेखि काठमाडौंमा ‘ग्राउन्डेड’ हुँदा आइतबार कम्तीमा २ सय ६० यात्रु अलपत्र परेका छन् । १ सय ३ यात्रु लिएर आइतबार राति १० बजे मलेसियाको क्लालालम्पुर उड्नुपर्ने जहाजमा उड्न उताबाट १ सय ५६ यात्रुले टिकट खरिद गरेका थिए । दुवैतिरका यात्रुलाई निगमले आफ्नै खर्चमा होटलमा राखेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले न्यारोबडी बिग्रिएपछि अलपत्र यात्रुलाई अन्य वायुसेवाबाट गन्तव्यमा पठाउने र अर्को दिनका लागि टिकट सार्ने काम भइरहेको बताए । ‘शनिबार रातिदेखि ग्राउन्डेड न्यारोबडीको स्पेयर पार्ट्स अमेरिकाबाट एजेन्टले मंगलबार बिहान पठाउँदै छ । त्यही दिन जहाज मर्मत गरी उडानमा फर्काइनेछ,’ उनले आइतबार राति कान्तिपुरसँग भने ।

निगमका एक इन्जिनियरका अनुसार, शनिबार राति हङकङबाट फर्केपछि पाइलटहरूले न्यारोबडीको इन्धनसँग सम्बन्धित आईजीएस (ग्यास सिस्टम) मा खराबी भएकाले उडान गर्न नमिल्ने टिपोट जहाजको लगबुकमा लेखिदिएका थिए । ‘जहाज उडानमा रहेका बेला इन्धन सकिँदै जाँदा ट्यांकको खाली भागमा अक्सिजन भर्न नदिने ग्याससँग सम्बन्धित समस्या १० दिनअघि देखा परेको थियो,’ ती इन्जिनियरले भने, ‘जहाज उत्पादक कम्पनीले दिएको एमईएल (मिनिमम इक्विपमेन्ट लिस्ट) को सुविधाअनुसार बिग्रिएको उपकरण १० दिनभित्र अनिवार्य फेर्नुपर्छ ।’

निगमले यो जानकारी हुँदाहुँदै पनि बिग्रिएको उपकरण बेलैमा नफेरेको विषयमा इन्जिनियरिङ विभाग प्रमुखलाई स्पष्टीकरण सोधेको ती इन्जिनियरले बताए । निगमसँग चारवटा जेट विमान छन् । एउटा वाइडबडी अन्नपूर्ण ‘सी–चेक’ का लागि दुई महिनाअघि इटाली पठाइएको छ ।

अर्को वाइडबडी मकालु बुधबार इटाली पठाउने तयारी छ । उक्त वाइडबडीलाई अब ४७ घण्टाभन्दा बढी व्यावसायिक उडानमा राख्न नमिल्ने भएकाले फारो गरेर जापानको नारिताका लागि मंगलबार एउटा मात्रै उडान राखिएको छ । दुई वटा जहाज ‘ग्राउन्डेड’ र अर्को एक उडानपछि ‘ग्राउन्डेड’ हुने भएकाले आइतबार निगमले गर्दै आएका दिल्ली र मलेसियाका नियमित उडान लुम्बिनी नाम भएको न्यरोबडीमाथि थोपरिए । तर लुम्बिनीले मलेसियाको रातिको उडान रद्द गरेको छ ।

दिउँसो २ बजे गर्नुपर्ने मुम्बईको उडान आइतबार ६ घण्टा ढिलो काठमाडौंबाट उड्यो । ‘यो उडान ढिलो भएका कारण मुम्बईबाट तेस्रो मुलुक जानुपर्ने १३ यात्रुको उताबाट जहाज छुट्ने भयो । त्यसैले उनीहरू काठमाडौंमै रोकिएका छन्,’ निगमका एक निर्देशकले बताए ।

न्यारोबडी विमान लुम्बिनीको राति ११ बजेको दुबई उडानलाई आइतबार राति साढे २ बजे गर्ने तालिका राखिएको छ । यो समाचार तयार पार्दासम्म (राति १०:३० बजे) जहाज मुम्बईमा अवतरण भइसकेको थिएन । दुबईबाट फर्केपछि सोमबार बिहान ११ बजेको बैंकक उडान यसै जहाजबाट दिउँसो १ बजेका लागि सारिएको छ । जहाज र पाइलट अभावले निगमले दैनिक दुईवटा गर्ने दिल्ली उडानलाई गाभ्दै आएको छ ।

अन्तर्राष्ट्रिय उडान गर्ने निगमका चारवटा विमानको दैनिक आम्दानी ६ करोड हाराहारी हुन्छ । ‘ग्राउन्डेड’ हुँदा एउटा न्यारोबडीले १ करोड र वाइडबडीले दुई करोड रुपैयाँ हाराहारी आम्दानी गुमाउँछ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र १०, २०८१ ०५:३३
x
×