कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

एक वाइडबडी २ महिनादेखि इटालीमा अलपत्र, अर्को वाइडबडी पनि बुधबार उतै जाने

भाद्र ९, २०८१
एक वाइडबडी २ महिनादेखि इटालीमा अलपत्र, अर्को वाइडबडी पनि बुधबार उतै जाने

Highlights

  • ‘सी–चेक’ नियमित र प्राविधिक प्रक्रिया भए पनि निगम व्यवस्थापनको लापरबाहीले उडान अस्तव्यस्त हुने गरी दुवै वाइडबडी एकैपटक ‘ग्राउन्डेड’ हुने अवस्था
  • चाडपर्वको मुखमा निगमलाई दैनिक ४ करोड घाटा, एक न्यारोबडी पनि ‘सी–चेक’ को प्रतीक्षामा, यात्रुलाई सास्ती, निगमलाई क्षति
  • स्वदेशी/विदेशी वायुसेवाको  बजारमा निगमको हिस्सा बर्सेनि घट्दै, साावाब्याज भुक्तानीको दायित्व निरन्तर बढ्दै

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ‘अन्नपूर्ण’ विस्तृत मर्मत ‘सी–चेक’ का लागि इटालीको नेपल्समा ‘अलपत्र परेको’ ६० दिन नाघेको छ । अर्को वाइडबडी ‘मकालु’ लाई साउन ८ मा ‘सी–चेक’ का लागि लैजानुपर्नेमा एक महिना ढिला भइसकेको छ ।

चाडपर्वको मुखमा दुवै वाइडबडीको उडान अवरुद्ध हुँदा निगमले आम्दानीको ६० प्रतिशत (दैनिक ४ करोड) गुमाउने भएको छ । त्यसमाथि कुल ४ ठूला जहाजमध्ये तेस्रो (न्यारोबडी) पनि ‘सी–चेक’ का लागि पठाउने बेला भएको छ ।

‘सी–चेक’ नियमित र प्राविधिक प्रक्रिया भए पनि निगम व्यवस्थापनको लापरबाहीले उडान अस्तव्यस्त हुने गरी दुवै वाइडबडी एकैपटक ‘ग्राउन्डेड’ हुने अवस्था आएको छ । वाइडबडी ‘अन्नपूर्ण’ इटाली पुगेको दुई महिना भए पनि कहिले आउँछ भन्नेमा निगम नेतृत्व अनुत्तरित छ ।

एमालेनिकट कर्मचारीसहित साउन ७ को बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले साउन मसान्तभित्रै जहाज फर्काउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए । ‘सी–चेक’ का लागि लैजानुपर्ने अर्को वाइडबडी ‘मकालु’ अधिकारीको आग्रह र प्रधानमन्त्रीको निर्देशनमा रोकिएको थियो ।

प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडासमेत सहभागी छलफलमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले इटालीको नेपल्समा असार ९ मा पुर्‍याइएको जहाजलाई एजेन्ट कम्पनीले साउन ३१ मा नेपाल फर्काइदिने बताएका थिए । त्यही आधारमा अर्को वाइडबडी विमान ‘मकालु’ को उडान समय ३ सय घण्टा थपिएको थियो ।

प्रधानमन्त्री ओलीले प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यको मोबाइलबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फोन गरेर वाइडबडी मकालुको उडान समय थपेर व्यावसायिक उडानलाई निरन्तरता दिलाउन निर्देशन दिए । सोही निर्देशनअनुसार प्राधिकरणले साउन ८ को बेलुकी मकालु वाइडबडीलाई थप ३ सय घण्टा व्यावसायिक उडान गर्न समय थपिदियो ।

‘सी–चेक’ मा जानुपर्ने जहाजको उडान समय थपिएको पनि शुक्रबार एक महिना पुगेको छ । थपिएको ३ सय घण्टामा अब केही घण्टामात्रै बाँकी छ । काठमाडौंमा रहेको यो वाइडबडीले जापानको नारिताका लागि मात्रै उडान गर्दै आएकामा आइतबारको उडान स्थगित गरेर मंगलबारसँग गाभिएको छ । ‘वाइडबडीको थप गरिएको उडान समय जोगाउन आइतबारको नारिता उडान रद्द गरिएको हो,’ निगमको मार्केटिङ विभागका एक अधिकारीले भने, ‘आइतबारको उडानमा जाने/आउने यात्रुलाई अरू विमानको टिकट मिलाइदियौं । कतिपयलाई मंगलबारको उडानमा राखेका छौं ।’

नारिताबाट फर्केपछि बुधबार यो वाइडबडी दुबईसम्म यात्रु लिएर जानेछ र ‘सी–चेक’ का लागि इटाली लैजाने पक्कापक्की भइसकेको छ । जहाज इटाली पठाउने निश्चित भए पनि ‘सी–चेक’ सुरु हुने मिति निगमले पाइसकेको छैन । निगमले वाइडबडी विमानको ‘सी–चेक’ का लागि इटालीस्थित मर्मत गर्ने एजेन्ट (एमआरओ) कम्पनी एटीआईटेकसँग सम्झौता गरेको छ । एजेन्ट कम्पनीले ३० दिनमा फिर्ता गर्ने भनेको अन्नपूर्ण विमानसमेत कहिले आउँछ भन्ने निश्चित छैन ।

निगमको एक न्यारोबडीको पनि ‘सी–चेक’ गर्नुपर्ने समय नजिकिँदो छ । ‘दुईवटा वाइडबडीपछि अर्को न्यारोबडी पनि ‘सी–चेक’का लागि व्यावसायिक उडानबाट झिक्नुपर्ने बेला हुँदै छ,’ निगमको इन्जिनियरले भने, ‘अहिलेबाटै तयारी गर्नुपर्ने हो तर निगम व्यवस्थापन अन्तिम समयमा मात्र हारगुहार गर्छ । मर्मत गर्ने एजेन्ट छनोटका लागि टेन्डर प्रक्रिया विवादमा पर्छ । विमान समयमै नआइपुग्दा घाटामाथि घाटा छ ।’

निगमका अर्का अधिकारीका अनुसार जहाजको पार्टपुर्जा आपूर्ति गर्ने कम्पनीले जर्मनी, अमेरिका लगायतका मुलुकबाट पठाएका स्पेयरपार्ट्स इटालीको भन्सारमा अड्किएका छन् ।

‘जहाज मर्मत भइरहेको ठाउँमा केही दिनअघि निगमका इन्जिनियर अच्युत पौडेल र पुष्पा भण्डारीलाई पठाइएको छ । उनीहरूलाई छिटोछरितो काम गर्न भनिएको छ,’ ती अधिकारीले भने, ‘यसअघि पठाइएका इन्जिनियरहरू देवकृष्ण सन्जेल, सन्दीप तुलाधर र भागेश्वर विश्वासलाई भने एमआरओ कम्पनीसँग प्रभावकारी समन्वय नगरेकाले फिर्ता बोलाइएको छ ।’

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ सिट क्षमताका दुई र २ सय ७४ सिट क्षमताका दुई गरी चारवटा जेट विमान छन् । तिनले भारत, कतार, मलेसिया, दुबई, हङकङ, थाइल्यान्ड, साउदी अरब र जापान गरी ९ वटा देशका ११ गन्तव्यमा उडान गर्छन् । निगमको अर्थ विभागका चारवटा विमानले नियमित उडान गर्दा दिनमा औसत ६ करोड रुपैयाँ बराबरको कारोबार हुन्छ । यसमा वाइडबडीको आम्दानी हिस्सा ४ करोड हाराहारी हुने गरेको छ ।

‘सी–चेक’का दुई महिनाअघि नै इटाली पुगेको वाइडबडी नफर्कंदा र हाल उडानमा रहेको अर्को वाइडबडी पनि यही साता ‘सी–चेक’का लागि पठाइने भएपछि निगमले चाडपर्वको मुखमा हरेक दिन ४ करोड रुपैयाँको कारोबार गुमाउनेछ । ‘चाडपर्व सुरु हुनै लाग्यो । अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले धमाधम टिकट बुकिङ गर्न थाले । नजिकिँदो चाडपर्वमा टिकट बुकिङ खुला गर्नुपर्नेमा निगममा अन्योल छाएको छ,’ मार्केटिङ विभागका एक अधिकारीले भने, ‘जहाज उडाउँदा पनि हामी सञ्चालन घाटामा छौं । नउडाउँदा घाटा झन् बढ्छ । यसै पनि ४८ अर्ब ऋणको भार छ । यो त साँवा रकम मात्रै हो । पछिल्लो कोभिडको ब्याज मिलाउँदा सावाँब्याजसहित निगमको दायित्व ५० अर्ब नाघिसक्यो ।’

चाडपर्वमा निगमको जहाजको उपस्थिति नहुनेबित्तिकै विदेशी वायुसेवाले एकतर्फी टिकटको मूल्य दोब्बर पुर्‍याउने गरेको ट्राभल तथा टुर व्यवसायीहरूको छाता संगठन नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए । ‘दसैंतिहारमा निगमको विमान ग्राउन्डेड हुने जानकारी पाएपछि हामीले पर्यटनमन्त्री बद्री पाण्डेलाई केही दिनअघि भेट्यौं । नेपालको श्रमबजारमा विदेशी वायुसेवाको मनपरीबारे गुनासो पनि राख्यौं,’ उनले कान्तिपुरसित भने, ‘यहाँ श्रमिकमाथि खुलमखुला लुट भइरहेको छ । खाडीका वायुसेवा कम्पनीले २५/३० हजारको एकतर्फी टिकट ६०/६५ हजारमा बिक्री गरिरहेका छन् ।’

निगमको संस्थागत विभागका अनुसार यतिबेला निगमबाहेकका स्वदेशी/विदेशी वायुसेवाको बजार हिस्सा ८७ प्रतिशत पुगेको छ । व्यवस्थापनको लापरबाहीका कारण उडान नियमित नहुँदा निगमको बजार हिस्सा हरेक वर्ष घटिरहेको छ । सन् २०२३ मा निगमको अन्तर्राष्ट्रिय उडानतर्फको बजार हिस्सा १४ प्रतिशतमा सीमित भयो, जबकि सन् २०२० मा निगमको हिस्सा २५ प्रतिशतभन्दा बढी थियो । ‘यो चालु वर्षको हिसाब त डिसेम्बरमा आउँछ । यो वर्ष अझै घट्ने देखिन्छ,’ विभागका एक अधिकारीले भने ।

निगमको बजार हिस्सा खुम्चिँदै गएपछि हवाई भाडामा पनि अस्वाभाविक चाप पर्ने गरेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी र अध्ययनमा जाने विद्यार्थीलाई पर्ने गरेको छ । ‘उडान पर्याप्त र नियमित नहुँदा एक त निगमलाई प्रत्यक्ष घाटा भइरहेको छ, अर्कातर्फ त्यसले हवाई भाडा अस्थिर पनि बनाउँछ । यसले कामदार, विद्यार्थी र पर्यटकलाई सबैलाई मर्का परिरहेको छ,’ निगमका एक बजार व्यवस्थापकले भने ।

निगमका प्रवक्ता रमेश पौडलले जहाज मर्मतको काम विशिष्ट प्राविधिक विषय भएको र यसमा केही थप प्राविधिक चुनौती आइपरेको बताए । ‘सी–चेक सकेर यथाशीघ्र पहिलो वाइडबडी जहाज ल्याउन लागिपरेका छौं,’ उनले भने । पर्यटन सचिव गणेशप्रसाद पाण्डेले निगमका कार्यकारी अध्यक्षसहितलाई केही दिनअघि मन्त्रालयमा बोलाई जहाजको मर्मतसम्भार चाँडो सकेर नेपाल झिकाउन निर्देशन दिएको बताए । अध्यक्ष अधिकारीसहित निगमका चार कर्मचारी अस्ट्रेलिया गएको विषयमा पनि स्पष्टीकरण सोधिएको पाण्डेले जानकारी दिए ।

निगमले दुईवटा न्यारोबडी जहाज खरिदका लागि ०७० मा कर्मचारी सञ्चयकोषबाट ९ अर्ब ९८ करोड ऋण लिएको थियो । निगमले कोषलाई दुवै जहाजको ३३ करोड हाराहारीका दरले वार्षिक चार पटक किस्ता बुझाउनुपर्छ । तर निगमले कोरोना महामारीको कारण देखाउँदै न्यारोबडीको नियमित किस्ता दुई वर्ष भुक्तानी गरेन । ‘पछिल्ला २ वर्ष किस्तामा ढिलाइ भयो । अहिले न्यारोबडीको किस्तालाई त्रैमासिक भुक्तानी गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘न्यारोबडीको साँवा रकम अझै साढे ९ अर्ब हाराहारी बाँकी देखिन्छ । विस्तृत हिसाब विवरण केही दिनमा निकाल्दै छौं ।’

दुईवटा वाइडबडी विमान खरिदका लागि ०७४ मा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२/१२ अर्बका दरले २४ अर्ब ऋण लिएको थियो । दुवै संस्थालाई त्रैमासिक ४०/४० करोड किस्ता भुक्तानी गर्नुपर्नेमा वाइडबडीको किस्ता नियमित छैन । सञ्चय कोषका प्रमुख प्रशासक जितेन्द्र धितालका अनुसार निगमले दुईवटा न्यारोबडी र एउटा वाइडबडीका लागि लिएको २२ अर्ब ऋणको ब्याजसहित बुझाउनुपर्ने रकम ३० अर्ब हाराहारी पुगेको छ ।

नागरिक लगानी कोषमा पनि निगमले नियमित किस्ता बुझाउन नसकिरहेको कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले बताए । ‘निगमले त्रैमासिक किस्ता कहिल्यै पूरा बुझाएको छैन,’ उनले भने । निगमका अनुसार नागरिक लगानी कोषमा तिर्नुपर्ने रकम साँवाब्याजसहित १८ अर्ब नाघिसकेको छ । चिनियाँ जहाजको ३ अर्ब र अन्य सरकारी/सञ्चालन खर्च लगायतको ऋणसमेत निगमले तिर्नुपर्नेछ ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:०४
x
×