कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

विद्यार्थीबाटै असुरक्षित विश्वविद्यालय

भाद्र ९, २०८१
विद्यार्थीबाटै असुरक्षित विश्वविद्यालय

Highlights

  • विद्यार्थी संघसंगठनको आवरणमा धम्की, कुटपिट, तोडफोड, तालाबन्दीलगायत आपराधिक गतिविधि हुँदा विश्वविद्यालयमा ‘सुरक्षा थ्रेट’ बढ्दै 

काठमाडौँ — पद्मकन्या क्याम्पस बागबजारमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित विद्यार्थीले गत बिहीबार सहायक क्याम्पस प्र्रमुखको कार्यकक्षमा तोडफोड गरे । अघिल्लो साता विद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागको प्रमुख नियुक्तिको विषयमा पदाधिकारीलाई कार्यकक्षमै ‘आक्रमण गर्ने’ धम्की दियो ।

साउन १५ मा सरस्वती क्याम्पस ठमेलमा परीक्षामा गार्ड बसेका अध्यापक विद्यार्थीबाट कुटिए । त्यसअघि विद्यार्थीको एक समूहले उत्तरपुस्तिका हराउने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार कर्मचारीलाई कारबाही नगर्न त्रिविका पदाधिकारीलाई फोन र म्यासेजबाट धम्की दियो । गत वैशाखमा पाटन र अस्कल क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीले महिना दिनसम्म तालाबन्दी गरे ।

यी घटनाले मुलुकको सबैभन्दा जेठो र ठूलो शैक्षिक संस्था त्रिवि तथा यसका आंगिक क्याम्पसमा विद्यार्थीले नै असुरक्षा र त्रासको वातावरण सिर्जना गर्दै आएको देखाउँछ । विद्यार्थी संघसंगठनको आवरणमा धम्की, कुटपिट, तोडफोड, तालाबन्दीलगायत आपराधिक गतिविधि हुँदा विश्वविद्यालयमा ‘सुरक्षा थ्रेट’ बढ्दै गएको गुनासो छ ।

पद्मकन्या क्याम्पसमा स्ववियु अध्यक्ष ज्योति पनेरुको समूहले सहायक क्याम्पस प्रमुख विमला नेपालको कार्यकक्षमा तोडफोड गरेको हो । पनेरु कांग्रेस निकट नेविसंघबाट स्ववियुमा निर्वाचित भएकी हुन् । स्ववियु सचिव भूपेश्वरी ऐरलाई भ्रमणमा पठाएपछि रुष्ट समूहले कार्यकक्ष तोडफोड गरेको नेपालले बताइन् । ‘एकै संगठनमा गुटको कुरा नमिल्दा भ्रमणमा किन पठाएको भन्दै आक्रोशित सभापति समूहले तोडफोड गर्‍यो,’ उनले भनिन्, ‘पछि रिसको आवेगमा गर्‍यौं भनेर गल्ती महसुस गरे । कारबाही नगरी छाडिदियौं ।’

उपप्राध्यापक प्रेम चलाउनेलाई ५ वर्षअघि सांघातिक हमला गर्ने कांग्रेस कार्यकर्ता योगेन्द्र रावल समूहले गतसाता त्रिविको समाजशास्त्र विभागमा प्रमुख नियुक्तिका विषयमा धम्की दिएपछि रजिस्ट्रार केदार रिजालले शिक्षा मन्त्रालयमा पत्राचार गर्दै सुरक्षा व्यवस्थाको माग गरेका थिए । उनकै समूहमा आबद्ध नेविसंघका पूर्वकार्यकर्ता गणेश भण्डारीले रेक्टर खड्ग केसीलाई कार्यकक्षमै आक्रमण गर्ने धम्की दिएको पाइएको प्रहरीले जनाएको छ । भण्डारीलगायतले म्यासेज र फोनबाट सहप्राध्यापक टीकाराम गौतमलाई प्रमुख बनाउन धम्की दिएका हुन् ।

त्रिविले सुरक्षा मागेपछि सादा पोसाकमा प्रहरी परिचालन गर्न थालिएको काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले बताए । डीएसपीको कमान्डमा प्रहरी परिचालन भएपछि पदाधिकारी कार्यालय गएका थिए । रावल र भण्डारीले सामाजिक सञ्जालमा गृहमन्त्री रमेश लेखकसँग खिचाएको फोटो राख्दै नियुक्तिका विषयमा सार्वजनिक रूपमै दबाब दिएको प्राध्यापक कर्मचारी बताउँछन् । नियमित विद्यार्थीभन्दा पनि पढाइ पूरा भएपछि पनि भर्ना भइराख्ने राजनीतिक संगठनमा आबद्ध विद्यार्थीबाट आपराधिक खालका गतिविधि हुने गरेको उनीहरूको भनाइ छ ।

आपराधिक गतिविधि गर्नेलाई राजनीतिक दलको माथिल्लो तहबाट संरक्षण गर्ने प्रवृत्तिले विश्वविद्यालय र क्याम्पसमा सुरक्षा चुनौती बढ्ने गरेको पूर्वउपकुलति धर्मकान्त बाँस्कोटाले बताए । ‘विद्यार्थी संगठनको आवरणमा आपराधिक गतिविधि गर्नेलाई विश्वविद्यालयले कारबाही गर्नुपर्छ । त्यसमा सरकारले पनि सघाउनुपर्छ,’ उनले भने । नेताहरूले नै कारबाही नगर्न दबाब दिने गरेको समेत उनले सुनाए । ‘मेरो पालामा लामो समय तालाबन्दी भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिँदा पनि उहाँले ताला खुलाउन सहयोग गर्नु भएन,’ बाँस्कोटाले भने ।

आपराधिक गतिविधि गर्नेलाई विश्वविद्यालयले निष्कासन र सरकारले फौजदारी कानुनअनुसार कारबाही गर्ने परिपाटी बन्नुपर्ने उनले बताए । उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने समूहलाई अहिलेका गृहमन्त्री रमेश लेखकले त्यतिबेलादेखि नै मुद्दा फिर्ता लिन त्रिविलाई दबाब दिएर संरक्षण गर्दै आएको समेत उनको आरोप छ । ‘दोषीलाई कारबाही नहुँदा आपराधिक क्रियाकलाप दोहोरिने गरेको छ,’ उनले थपे, ‘पदाधिकारीले पनि अलि आँट गर्नुपर्छ ।’

एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किंगा शेर्पाले सरस्वती क्याम्पसमा परीक्षामा गार्ड बसेका अध्यापक भीम सुवेदीलाई साउन १५ मा हातपात गरेका थिए । शेर्पालाई अहिलेसम्म कारबाही भएको छैन । माफी मागेकाले शेर्पालाई कारबाही नगरिएको क्याम्पस प्रमुख गोलमान गुरुङले बताए । सुरक्षाकै कारण देखाउँदै क्याम्पस र सुवेदीले उनीविरुद्ध प्रहरीमा उजुरी दिन सकेका छैनन् ।

परीक्षाफल कुरेर बसेका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका परीक्षा नियन्त्रक कार्यालयबाटै हरायो । त्यसपछि पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल संयोजकत्वको उच्चस्तरीय छानबिन समिति गठन गरियो । समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललगायत ७ जनालाई दोषी ठहर्‍याउँदै कारबाही गर्न सिफारिस गरेको छ । जोशी र शाही कांग्रेस एवं बराल माओवादी निकट हुन् ।

स्ववियुमा नेविसंघ र अखिल क्रान्तिकारीबाट निर्वाचित विद्यार्थीले दोषीलाई कारबाही नगर्न दबाब दिएको स्रोतको दाबी छ । उनीहरूलाई कारबाही नगर्न त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारलाई फोन र म्यासेजबाट धम्की दिने पूर्वविद्यार्थी नेतालाई समेत कारबाही हुन सकेको छैन । नेविसंघ त्रिवि इकाईका पूर्वसभापति गंगाराम न्यौपानेले दोषीलाई कारबाही गरे ‘जे पनि गर्न सक्ने’ भनी धम्की दिएको पाइएको काठमाडौं प्रहरीका एक अधिकारीले बताए । ‘अहिलेसम्म उजुरी परेको छैन । तर धम्की दिन प्रयोग भएका केही मोबाइलहरू प्राप्त भएको छ, छानबिन गर्दैछौं,’ उनले भने ।

विद्यार्थीको धम्की र दबाबकै कारण गत वैशाख अन्तिम साता बुझाएको छानबिन प्रतिवेदन उपकुलपति केशरजंग बरालले कार्यकारी परिषद्मा पेस गरेका छैनन् । उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्न शिक्षामन्त्री विद्या भट्टराईले साउन १५ मा त्रिवि सभा बैठकमा नै निर्देशन दिएकी थिइन् । तर कारबाही प्रक्रिया सुरु हुन सकेको छैन ।

त्रिविमा असुरक्षा रहेको विषयमा विद्यार्थी संगठन भने विभाजित देखिन्छन् । अखिल क्रान्तिकारीलगायत ७ विद्यार्थी संगठनले ‘विश्वविद्यालयमा धम्की र राज्य आतंक’ बन्द गर्न भन्दै शुक्रबार कीर्तिपुरमा प्रदर्शन गरे । सत्तारूढ नेविसंघ र अनेरास्ववियु तथा केन्द्रीय क्याम्पसको स्ववियुसमेत विभाजित छ ।

स्ववियु सभापति श्यामराज ओझालगायतले धम्कीको विषय भ्रामक रहेको दाबी गर्दै आएका छन् । उनी नेविसंघबाट स्ववियुमा निर्वाचित भएका हुन् । तर सचिव सिद्धान्त भट्टले त्रिविमा विगतदेखि नै सुरक्षा चुनौती देखिँदै आएको बताए । ‘सुरक्षा चुनौती छैन भने त किन पहिलेदेखि नै उपकुलपति र सेवा आयोगको अध्यक्षले पीएसओ (सुरक्षा गार्ड) राख्दै आउनुभएको त ?,’ उनले प्रश्न गरे । भट्ट अनेरास्ववियुबाट निर्वाचित हुन् । गत असारमा समाजशास्त्र विभागको प्राध्यापकको अन्तर्वार्तासमेत प्रहरीको उपस्थितिमा सञ्चालन गरिएको थियो ।

सभापति ओझा र सचिव भट्टले विश्वविद्यालयमा सुरक्षा थ्रेटको विषयमा छुट्टाछुट्टै विज्ञप्तिसमेत जारी गरेका छन् । ओझाले कसैले धम्की दिएको भए प्रमाण दिन शिक्षामन्त्री र पदाधिकारीसँग माग गर्दै स्ववियुले सुरक्षा दिने उल्लेख गरेका छन् ।

सचिव भट्टले भने केही स्वार्थ समूहले डर, धम्की दिएको भन्दै त्यसमा स्ववियुको ध्यानाकर्षण भएको जनाएका छन् । कार्यविधिअनुसार समाजशास्त्र विभागमा वरिष्ठताका आधारमा प्रमुख नियुक्ति गर्न र उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्नसमेत उनको विज्ञप्तिमा माग गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०५:३३
x
×