कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

११७ किलोमिटरको यात्रा : ५ ठाउँमा गाडी परिवर्तन, ५ हजार भाडा

भाद्र ९, २०८१
११७ किलोमिटरको यात्रा : ५ ठाउँमा गाडी परिवर्तन, ५ हजार भाडा

सुर्खेत — डोल्पाको ठूलीभेरी नगरपालिका–१ का गोविन्द बुढा गत शुक्रबार बिहान ६ बजे घर जान नेपालगन्जबाट गाडी चढे । नेपालगन्जबाट जाजरकोट सदरमुकाम पुग्दासम्म उनको यात्रा सजिलै भयो । तर जाजरकोटको तातरगाडमा पुल नहुँदा उनले अर्को गाडी फेर्नुपर्‍यो । त्यहाँबाट जाजरकोटको चौखासम्म अर्को गाडी चढेर बास बसे ।

शनिबार बिहान रुकुम पश्चिमको मूलतरा, डोल्पाको छलगाड र चुगाडखोलामा थप ३ गाडी फेरेपछि मात्र उनी अपराह्न ४ बजे सदरमुकाम दुनै पुग्न सके । ‘पाँचवटा गाडी फेरेपछि मात्र यहाँ पुग्न सकियो, बीचबीचमा गाडी बिग्रिएका बिग्रियै, त्यसमा पनि कच्ची बाटो भएकाले भगवान् भरोसामा यात्रा गरियो,’ उनले भने, ‘बीचबीचमा गाडीबाट झरेर सामान पल्टी गर्नुपर्ने । जसले सास्तीसँगै जोखिम पनि निम्त्याएको छ ।’ उनले नेपालगन्जबाट डोल्पा पुग्दासम्म कम्तीमा ५ हजार रुपैयाँ खर्च हुने बताए ।

भीरैभीरमा बनाइएको सडक चौडा नहुँदा यात्रा जोखिमपूर्ण र कष्टकर बनेको ठूलीभेरी–३ का परमल बुढाले बताए । ‘हिउँदमा पनि कठिन भूगोलमा बनाएको सडकमा कतिबेला दुर्घटना हुने हो भन्ने डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता छ, झन् बर्खामा बढेका खोला र बाढीपहिरोसँग पौठेजोरी खेल्दै भगवान् भरोसामा यात्रा गर्नुपर्छ,’ उनले भने, ‘त्यसमा पनि ठाउँठाउँमा गाडी फेर्नुपर्ने सास्ती उस्तै, झन् व्यवसायीले मनोमानी भाडा असुल्दा हामी ठूलो मारमा छौं ।’

जाजरकोट–डोल्पा सडकअन्तर्गतको १ सय १७ किलोमिटर खण्डमा अझै पनि झन्डै १० वटा पुल बनाउन आवश्यक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार अहिले तल्लु, रुपागाड, त्रिपुराकोट, करागाड र खदाङमा मात्र बेलिब्रिज छन् । ‘पुलकै अभावमा ४/५ ठाउॅमा सामान पल्टी गर्नुपर्ने बाध्यता छ । ढुवानी भाडा नेपालगन्जबाट प्रतिकिलो १० रुपैयाँ तोकिए पनि व्यवसायीले पल्टी गर्ने हुँदा त्यसभन्दा बढी लिने गरेको पाइएको छ,’ उनले भने, ‘जसका कारण डोल्पामा विकास निर्माणको काम र स्थानीयको भान्सा महँगो भएको छ ।’ उनले यात्रु र ढुवानी भाडामा नियमन गर्न थालिएको बताए ।

डोल्पामा हवाई सेवा पनि नियमित छैन, जसका कारण बिरामीलाई बाहिर पठाउन ठूलो समस्या हुने गरेको जिल्ला अस्पतालकी स्वास्थ्यकर्मी सरिता शर्माले बताइन् । ‘सबै बिरामीलाई यहाँ उपचार गर्न सम्भव छैन, यस्तो अवस्थामा रिफर गर्दा पनि बिरामीको बाटैमा ज्यान जाने जोखिम छ,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो जटिल बिरामी आएका छैनन् ।’

चार वर्षअघि सदरमुकामसम्म सडक पुगेपछि यात्रुलाई आवजावतमा सहज भए पनि ठाउँठाउँमा पुल नहुँदा र कच्ची सडकका कारण दैनिक उपभोग्य तथा निर्माण सामग्रीको ढुवानीमा कठिनाइ भइरहेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए । नदी तथा खोलामा पुल बनेमा डोल्पा दुनैसम्म यातायात नियमित भई यात्रा सहज हुने र दैनिक उपभोग्य वस्तुको मूल्य चार गुणा घट्ने उनको भनाइ छ । ‘खोलापिच्छे यातायातका साधन फेर्नुपर्दा ढुवानी भाडा महँगो हुन गएको छ,’ उनले भने ।

पुल नबन्दा गाडीमा सामान पल्टी गर्नुपर्ने, भरिया नपाइने, सामान चोरी हुनेलगायत समस्याले उपभोग्य वस्तुको मूल्य खासै घट्न नसकेको उनले गुनासो गरे । उनका अनुसार सामान पल्टी गर्दा सामान ढिलो पुग्ने, टुटफुट हुने, हराउनेलगायत समस्या पनि छन् ।

गत चैत अन्तिम साता हुम्ला सदरमुकाम सिमकोटसम्म सडकको ट्र्याक खुले पनि स्थानीयले प्रदेश राजधानी सुर्खेत आउन ठूलो सास्ती खेप्नुपर्छ । स्थानीय सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्मको झन्डै १२ किलोमिटर सडकमा गाडी चढ्छन् । त्यहाँबाट झन्डै ६ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । कारण हो– चुवाखोलास्थित कर्णाली नदीमा पुन नहुनु र त्यसभन्दा माथिको सडक मर्मतसम्भार नहुनु । खार्पुनाथबाट झन्डै ५० किलोमिटर हिँडेर सर्केगाड गाउँपालिकास्थित सल्लीसल्ला पुगेर फेरि गाडी चढ्नुपर्ने बाध्यता रहेको सिमकोट–७ का दानबहादुर रोकायाले बताए । ‘गाउँसम्म सडक पुगे पनि हामीलाई त गाडी चढ्नै मुस्किल छ,’ उनले भने ।

गाडीहरू ३ खण्डमा सञ्चालन हुँदा यात्रुले कष्टकर यात्रा गर्नुपरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । ‘यसले यात्रा समय मात्रै लम्बिएको छैन, यात्रुले अनावश्यक झन्झट पनि भोग्दै आएका छन्,’ उनले भने, ‘यात्रुलाई महँगो भाडाको मार पनि परेको छ ।’ खार्पुदेखि सल्लीसल्लासम्मको सडक मर्मत नहुँदा र कर्णाली नदीमा पुल नबन्दा यात्रुहरू चर्को भाडा तिर्न बाध्य भएको स्थानीय अगुवा दानबहादुर शाहीले बताए । उनका अनुसार अहिले सिमकोटदेखि खार्पुसम्मको १२ किलोमिटर खण्डमा साना जिप मात्र सञ्चालनमा छन् । उनीहरूले रिजर्भका नाममा प्रतिव्यक्ति ७ सयदेखि १ हजार रुपैयाँसम्म भाडा लिने गरेका छन् ।

त्यस्तै सल्लीसल्ला हुँदै सुर्खेतसम्म सञ्चालन हुने गाडीले पनि रिजर्भका नाममा प्रतिव्यक्ति ७ हजार रुपैयाँसम्म भाडा असुल्ने गरेको उनको गुनासो छ । ‘सुरुमा गाडी चढेर फेरि ६ घण्टा हिँडेर फेरि गाडी चढ्नुपर्छ, त्यसमा पनि सामान भरियालाई बोकाएर लैजाँदा प्रतिकिलो ३ सय रुपैयाँसम्म भाडा तिर्नुपरिरहेको छ,’ उनले भने, ‘हाम्रा लागि त सोझै सुर्खेतसम्म एउटै गाडीमा जान पाउनु सपनाजस्तै हुने भयो, त्यसो हुन सके दुःख पनि कम पाइन्थ्यो, भाडा पनि कम हुन्थ्यो ।’

सदरमुकाम सिमकोटभन्दा माथि चीन सीमाको हिल्सासम्मको ९५ किलोमिटर सडकमा भने अहिले पनि गाडी नियमित सञ्चालन भइरहेको छ । तर चुवाखोलास्थित कर्णाली नदीमा पुल नबन्दा हुम्ला सदरमुकाम अझै सडक सञ्जालमा जोडिन नसकेको प्रजिअ पोखरेलले बताए । यात्रुले भाडा महँगो भएको गुनासो गरेकाले अनुगमन गरी नियमन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०८१ ०५:३९
x
×