कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

रामेछाप पहिरो [अपडेट] : २ जनाको शव निकालियो, अझै ११ जना सम्पर्कविहीन

भाद्र ९, २०८१
रामेछाप पहिरो [अपडेट] : २ जनाको शव निकालियो, अझै ११ जना सम्पर्कविहीन

दोलखा — रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेकखर्क पहिरोमा परेका २ जनाको शव निकालिएको छ । पहिरोमा परेर मृत्यु हुनेमा  स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका चण्डिका थापा मगर र उनका नाबालक छोरा रहेको प्रहरीले जनाएको छ ।

चण्डिकाको घरबाट एक बालिकालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोमा परी ११ जना सम्पर्क विहीन छन् ।

पहिरोले चारवटा घर बगाएको प्रहरीले जानकारी दिएको छ । भीमबहादुर थापा मगरको घरका तीन, उर्मिला पहरीको घरका चार, काले पहरीको घरका तीन र अर्को एक घरका स्थानीय सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए

शनिबार राती भीषण वर्षासँगै बाढी र पहिरोले उक्त क्षेत्र सडक सम्पर्कविहीन हुन पुगेको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ । बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ ।

बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०८:५८
x
×