कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

इजरायल-हिजबुल्लाह तनाव : लेबनानमा नेपाली शान्ति सेना तैनाथ इलाका सुरक्षित

इजरायल-हिजबुल्लाह तनाव : लेबनानमा नेपाली शान्ति सेना तैनाथ इलाका सुरक्षित

Highlights

  • आवश्यक सावधानी अपनाउन भनेका छौं : नेपाली सेना

काठमाडौँ — लेबनानको हिजबुल्लाह समूह र इजरायबीच एकअर्काविरुद्ध मिसाइल हानाहानपछि तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेबनानमा नेपाली शान्तिसैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा छ ।

हिजबुल्लाह र इजरायबीच रकेट, ड्रोन, मिसाइललगायतबाट एकअर्काविरुद्ध आक्रमण भइरहेको छ । लेबनानमा राष्ट्रसंघीय शान्ति स्थापनार्थ ‘युनाइटेट नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ (युनिफिल) मिसन अन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ जनाको फौज तैनाथ रहेकोमा नेपाली सेनाबाट मात्रै करीब ८ सय ५० जना सैनिक कार्यरत छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार लेबनानको दक्षिण पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसन अन्तर्गत नेपाली सेनाको गण हेडक्वार्टर तैनाथ छ । गण अन्तर्गत अरु ६ स्थानमा नेपाली शान्ति सैनिकका युनिट छन् ।

सेनाका प्रवक्ता केसीले हिजबुल्लाह र इजरायलबीच एकअर्काविरुद्ध आक्रमणका विवरणहरु बाहिर आएलगत्तै नेपाली मिसनसँग नियमित सम्पर्क भइरहेको र हालसम्म्को अवस्था हेर्दा गण हेडक्वार्टर तथा मातहत इलाकाको अवस्था जोखिममुक्त रहेको बताए ।

तर आक्रमणको असर मातहत इलाकामा पनि पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर युनिफिल मिसन हेडक्वार्टरले पनि आवश्यक सजकता अपनाउन भनिसकेको र नेपाली सेनाका तर्फबाट पनि आफ्ना फौजलाई त्यसप्रति सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता केसीले जानकारी दिए । लेबनानमा सन् १९५५ देखि नेपाली सेना त्यहाँ शान्ति स्थापनार्थ खटिँदै आएको छ । १९७८ मार्च २३ देखि पल्टनका रुपमा सेनाको फौज निरन्तर तैनाथ छ ।

लेबनानको हिजबुल्लाह समूहले आइतबार उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरिसकेको छ । बेरुतमा हिजबुल्लाहका कमाण्डरको हत्यापछि त्यसको बदलामा हिजबुल्लाहले इजरायबिरुद्ध आक्रमण सुरु गरेको हो । हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले जेट विमानबाट पनि प्रत्याक्रमण गरिरहेको छ ।

इजरायलले गत महिना बेरुतमा हिजबुल्लाहका कमाण्डर फुवाद शुक्रको हत्या गरेपछि त्यसको बदला लिन आइतबार इजरायलविरुद्ध सयौं रकेट र ड्रोन प्रक्षेपण गरेको छ । हिजबुल्लाहका ठूला आक्रमणलाई बिफल बनाइएको इजरायलले जनाएको छ । दुईपक्षबाट एकअर्काबिरुद्ध आक्रमण जारी रहेका बेला शान्ति मिसन तैनाथ क्षेत्रमा यसको असर पर्ने जोखिमका बीच नेपाली सेनाले हालसम्म मातहत इलाकाको अवस्था सामान्य रहेको स्पष्ट पारेको हो । हिजबुल्लाहलाई लक्षित गरी इजरायलले दक्षिणी लेबनानमा प्रत्याक्रमण गरिरहेको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १६:००
x
×