कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दाहालको रणनीति : ओलीसँग गरम, देउवासँग नरम

भाद्र ९, २०८१
दाहालको रणनीति : ओलीसँग गरम, देउवासँग नरम

Highlights

  • कांग्रेस–माओवादी गठबन्धन तोड्नु गल्ती भएको महसुस गरेका  माआवोदी अध्यक्ष दाहाल कांग्रेस सभापति देउवाप्रति नरम

काठमाडौँ — कांग्रेस र एमालेबीच असार १७ मा सत्ता सहकार्यको सहमति भएपछि सरकारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तिखो आलोचना गर्दै आएका छन् । उनी हरेक बैठक र कार्यक्रममा ‘ओलीले धोका दिएको’ बताउने गर्छन् ।

प्रधानमन्त्रीका रूपमा गत असार २८ मा प्रतिनिधिसभाबाट विश्वासको मत माग्ने क्रममा उनले ओलीलाई ‘अगाडि मुसारेर पछाडिबाट चक्कु हान्ने प्रवृत्ति’ भएको नेताका रूपमा चित्रण गरे । एमालेसँग गठबन्धन गरेको कांग्रेसका सभापति शेरबहादुर देउवाका सन्दर्भमा भने दाहाल नरम रूपमा प्रस्तुत हुने गरेका छन् ।

दाहालले असार २८ मा संसद्मा ओलीको षड्यन्त्र आफूले थाहा पाउन नसकेको बताएका थिए । कांग्रेससँग असार १७ मा सहमति गरिसकेपछि पनि ‘स्वर्ग र नर्क सँगै जाने’ भनेर ओलीले आफूलाई छक्याएको उनको भनाइ थियो । ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ । राष्ट्रको बृहत्तर हित र समाजवादको आधार यताबाट हुन्छ भनेर विश्वास गरेँ । त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन म ढिलो भएँ,’ ओलीलाई लक्ष्य गर्दै उनले संसद्मा भनेका थिए, ‘केही मान्छे कुण्ठा र प्रतिशोधबाट कहिल्यै निस्कन सक्दैनन् भन्ने हिसाबै गर्न सकिनँ ।’ त्यही दिन विश्वासको मत लिन असफल भएपछि दाहाल पदमुक्त भएका थिए ।

विशेष प्रदेशको परामर्श बैठकमा शुक्रबार दाहालले ओलीको इमानमा प्रश्न उठाए । वामपन्थी सहकार्यको प्रस्ताव ओलीले गरेकाले आफूले विश्वास गरेको तर छोटै समयमा धोका भएको उनको भनाइ थियो । ‘अलि परैसम्म जाऔं भनेर केपीजीसँग सहकार्य भएको हो । गठबन्धन हुँदै पार्टी एकतासम्म जान सकिन्छ भन्ने थियो । केही साथीहरूले भरपर्दो आधार नभई ओलीसँग मिल्न हुँदैन भन्नुभएको थियो,’ बैठकमा दाहालले भनेका थिए, ‘मेरो नियत सफा थियो तर उनले (ओलीले) छल गरे । इमान्दार देखिएनन् । विश्वास गरेर गल्ती भयो ।’

देउवासँग सहकार्य तोड्नु गलत भएको उनले बैठकमा बताएका थिए । ‘शेरबहादुरजीसँग गठबन्धन जारी राख्नुपर्ने रहेछ । केपीजीले कम्युनिस्टको हालत पश्चिम बंगालजस्तो हुने भयौं, मिलौं भनेपछि मैले पत्याउँदै गएँ,’ उनले भने । माओवादीले गत फागुन २१ मा एमालेसँग सहमति गरेर कांग्रेससँगको सत्ता सहकार्य टुटाएको थियो ।

भदौ ३ को माओवादी स्थायी समिति बैठकमा पनि दाहालले ओलीलमाथि प्रहार गरेका थिए । ‘केपीजीलाई विश्वास गर्नु मेरो गल्ती भयो । वामपन्थी एकताको आधार बनाउन सहकार्य गरियो, ओलीको चालबाजी अर्कै रहेछ,’ उनको भनाइ थियो, ‘यो राजनीतिक बेइमानी भयो ।’ उनले ओलीको ‘बोली र व्यवहार’ का कारण आफू झुक्किएको उल्लेख गर्दै आगामी दिनमा सचेत रहने बताएका थिए । स्थायी समिति बैठकको एजन्डा तयार गर्न साउन १३ मा बसेको पदाधिकारी बैठकमा पनि दाहालको निसाना ओलीमाथि थियो ।

‘ओली सरकार भ्रष्टाचारीको गठजोड हो । अब हामी यो सरकारका गलत कामविरुद्ध सडक र सदनबाट खबरदारी गर्ने दिशामा अघि जानुपर्छ,’ उनले भनेका थिए । त्यही दिन माओवादी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीको बोलीले झुक्याएको भन्दै दाहालले अब भ्रममा नपर्ने दृढता सुनाएका थिए । माओवादी कोशी प्रदेशको साउन २१ मा भएको प्रशिक्षणमा प्रतिनिधिसभा दुई पटक विघटन गरिएको बेला आफू ओलीविरुद्ध आन्दोलनमा उत्रिएको उल्लेख गर्दै दाहालले फेरि त्यही अवस्थाका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

माओवादी प्रतिपक्षमा पुगेपछि पहिलोपटक साउन २३ मा दाहाल संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति गर्न बालुवाटार पुगेका थिए । ओली प्रधानमन्त्री भइसकेपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुट्नेमा दाहाल सशंकित थिए । तर कांग्रेस, एमाले र माओवादीबीच नै सहमति भएर विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भइसकेको छ ।

माओवादी नेतृत्वको सरकार ढाल्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाकै हात भए पनि निसाना किन ओलीमाथि मात्रै भन्ने प्रश्नमा माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘माओवादीको मुख्य संघर्ष अब एमालेसँग हुने निश्चित छ । त्यसैले अहिलेको राजनीतिक उपलब्धिका पक्षमा र संविधानको रक्षाका लागि एमालेसँग संघर्ष हुनेछ ।’ संविधान संशोधनका नाममा ओली पछाडि फर्कन खोजेको उनको संशय छ ।

‘संविधान संशोधनमा सहमति गरी ओली प्रतिगमनतर्फ फर्कन खोजेको देखिन्छ,’ उनले भने । ओली सरकारले संघीयताको पूर्ण कार्यान्वयन गर्न नचाहेको र एकाधिकार पुँजीवादी लाइन रोजेको गुरुङको बुझाइ छ । माओवादी नेतृत्वको सरकार सुशासनका पक्षमा दृढतापूर्वक उभिएको बेला ओलीले आफू प्रधानमन्त्री हुन गठबन्धन फेरेको र भ्रष्टाचाविरुद्ध अभियानलाई रोकेको पनि उनले जिकिर गरे ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले माओवादी अध्यक्ष दाहालको ओली लक्षित अभिव्यक्ति पूर्वाग्रहबाट प्रेरित भएको टिप्पणी गरे । ‘यो कांग्रेस–एमालेको सरकार हो । प्रचण्डको व्यक्तिगत आवेग, ईर्ष्या, पूर्वाग्रहबाट प्रेरित अभिव्यक्तिले केही अर्थ राख्दैन । सत्ता छाड्नुपरेको पीडाको अभिव्यक्ति हो,’ उनले भने, ‘पूर्वाग्रहबाट आएका अभिव्यक्तिको राजनीतिमा कुनै महत्त्व हुँदैन । लोकतान्त्रिक मूल्य–मान्यतामा रहेर सरकारका सय दिन कुरेर बोल्नु राजनीतिक संस्कार हुन्छ ।’

राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले कांग्रेससँग गठबन्धन तोडेको चार महिना नपुग्दै ओलीबाट धोका खाएपछि दाहाल आक्रोशित भएको हुन सक्ने बताए । ‘ओलीले मीठो वचन बोलेर धोका दिएको अनुभव उनीसँग छ,’ उनले भने, ‘कांग्रेस–माओवादी गठबन्धन टुटाउन ओलीले निकै कसरत गरेका थिए । प्रचण्डलाई निकै फकाएर सफल पनि भए । तर त्यो सहकार्य धेरै टिकेन ।’

ओली–दाहाल मिलाप र प्रतिद्वन्द्विता

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०७४ को आमनिर्वाचनबाट थालेको सहकार्य साढे तीन वर्ष मात्र टिकेको थियो । त्यसयताको तिक्तता मेटाउन गत फागुन २१ मा एमाले–माओवादी सत्ता सहकार्यको सहमति भएको थियो । त्यति बेला सहमति गर्ने क्रममा ओलीले दाहाललाई २०८४ को निर्वाचनसम्म सँगै जाने आश्वासन दिएका थिए । माओवादी ओरालो लागिरहेको अवस्थामा एमालेसँग मिलेर जाँदा हित हुने दाहालको विश्लेषण थियो । तर दाहालको त्यो विश्लेषण चार महिना नपुग्दै गलत सावित भयो ।

विगतमा ओली माओवादी सशस्त्र युद्धका विषयमा एमालेभित्र सबैभन्दा बढी आलोचना गर्ने नेता थिए । शान्ति प्रक्रिया सुरु भएदेखि नयाँ संविधान जारी नभएसम्म माओवादी एजेन्डाको उनी आलोचना गरिरहेका हुन्थे । ओलीलाई पहिलोचोटि २०७२ असोज २५ मा प्रधानमन्त्री बनाउन भने दाहालले समर्थन गरेका थिए । २०७४ को आम निर्वाचनमा ओली र दाहालले गठबन्धन नै बनाए र करिब दुई तिहाइ नजिक सिट जिते । २०७४ फागुन ३ मा ओली र दाहालले समान अवधि सरकारको नेतृत्व गर्ने समझदारी गरे, जसअनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बने । एमाले र माओवादीबीच २०७५ जेठ ३ मा एकीकरण भएर नेकपा बन्यो ।

पार्टी एकीकरणपछि दुई अध्यक्ष हुनेबित्तिकै को एक नम्बरमा भन्ने विवाद चर्कियो । ओलीले आधा कार्यकाल बितिसक्दा दाहाललाई सत्ता भने हस्तान्तरण गरेनन्, पार्टीमा कार्यकारी नेतृत्व पनि दिएनन् । आपसी तिक्तता बढ्दै जाँदा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरे । नेकपा नै एकतापूर्वको अवस्थामा पुग्यो, एमाले र माओवादी पार्टी ब्युँतिए । सर्वोच्च अदालतको परमादेशबाट ओली २०७८ असार २९ मा सरकारबाट बाहिरिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादीसहितको सरकार बन्यो । एमालेको २०७८ असोज दोस्रो साता ललितपुरको गोदावरीमा भएको विधान महाधिवशेनले पारित राजनीतिक प्रतिवेदनमा दाहालले पार्टी कब्जा गर्न खोजेको आरोप लगाइएको थियो । ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ,’ प्रतिवेदनमा उल्लेख थियो ।

२०७९ को आमनिर्वाचनमा माओवादी कांग्रेससँग गठबन्धन बनाएर उत्रिएको थियो । तर निर्वाचनपछि सरकार गठन गर्ने बेला माओवादीले एमालेसँग सहकार्य गरेर सरकार बनायो । तर राष्ट्रपति निर्वाचनताका एमालेसग सहकार्य टुटाएर माओवादीले कांग्रेससँग गठबन्धन बनायो । २०७९ पुसदेखि सरकारको नेतृत्वमा दाहालले गत फागुनमा फेरि एमालेसँग नयाँ गठबन्धन बनाउँदा पनि आफ्नो पदलाई निरन्तरता दिएका थिए । त्यो गठबन्धन पनि टुटेपछि दाहालको डेढवर्षे सत्ता यात्रामा विराम लागेको हो ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:०५
x
×