कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दाहालको निसाना ओलीतिर

भाद्र ८, २०८१
दाहालको निसाना ओलीतिर

Highlights

  • कांग्रेस-माओवादी गठबन्धन तोड्नु गलत भएको स्विकार्दै देउवाप्रति भने नरम

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अगाडि मुसारेर पछाडिबाट चक्कु हान्ने प्रवृत्ति’ भएको नेताका रुपमा चित्रण गरे ।

कांग्रेस र एमालेबीच गत असार १७ मध्यरातमा सहमति भएपछि सरकारबाट बाहिरिन बाध्य भएका दाहाल त्यसयता ‘ओलीले धोका दिएको’ भन्दै हरेक बैठक र कार्यक्रममा उनीमाथि खनिँदै आएका छन् । असार २८ मा प्रतिनिधिसभा बैठकमा बोल्दै दाहालले कांग्रेससित सहमति भइसकेपछि असार १७ मा आफूसँग भएको तीन घण्टा लामो छलफलमा ‘स्वर्ग र नर्क’ सँगै जाने भनेका ओलीको षड्यन्त्रमा आफू फसेकामा आक्रोश पनि पोखेका थिए ।

‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, राष्ट्रको बृहत्तर हित र समाजवादको आधार यताबाट हुन्छ भनेर विश्वास गरेँ । त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन म ढिलो भएँ,’ उनले ओलीबारे संसद्‌मा भनेका थिए, ‘केही मान्छे कुण्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भन्ने हिसाबै गर्न सकिनँ ।’ त्यही दिन विश्वासको मत लिन असफल भएपछि उनी पदमुक्त पनि भए ।

सत्ताको दाउपेचमा ‘दायाँ–बायाँ’ गरेपछि अन्ततः पहिलो र ठूलो दल कांग्रेस र एमाले मिलेपछि सत्ताबाट बाहिरिएका पूर्वविद्रोही नेता दाहालले फेरि विद्रोहको भाष्य प्रयोग गर्न थालेका छन् । कांग्रेस र एमाले मिलेर सत्ता गठबन्धन बनाए पनि दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति भने नरम नीति लिएका छन् ।

माओवादीसँग २०८४ को निर्वाचनसम्म सहकार्य गर्ने प्रतिबद्धता गरेका ओलीले कांग्रेससँग सहमति गरेपछि पनि त्यस कुरालाई गुपचुप राख्दै आफूलाई सडकमा पुर्‍याएको भन्दै दाहालले निरन्तर ओलीमाथि प्रहार जारी राखेका हुन् । तर देउवालाई गत फागुनमा धोका दिएका दाहाल यतिबेला कांग्रेससितको गठबन्धन भने सही भन्न थालेका छन् ।

शुक्रबार विशेष प्रदेशको परामर्श बैठकमा दाहालले ओलीको इमानदारीप्रति पनि प्रश्न उठाएका थिए । वामपन्थी सहकार्यका लागि ओलीले प्रस्ताव गरेकाले आफूले विश्वास गरेको भए पनि छोटै समयमा धोका भएको उनको भनाइ थियो । ‘अलि परैसम्म जाऔं भनेर केपी ओलीसँग सहकार्य भएको हो । गठबन्धन हुँदै पार्टी एकतासम्म जान सकिन्छ भन्ने थियो । केही साथीहरुले भरपर्दो आधार नभई ओलीसँग मिल्न हुँदैन भन्नु भएको थियो । मेरो नियत सफा थियो, तर ओलीले छल गरे । इमान्दार देखिएनन् । उनलाई विश्वास गरेर गल्ती भयो,’ दाहालले देउवासँगको सहकार्य तोड्नु गलत भएको पनि तर्क गरे, ‘शेरबहादुरजीसँग गठबन्धन जारी राख्नु पर्ने रहेछ । केपीले कम्युनिस्टको हालत पश्चिम बंगालको जस्तो हुने भयो मिलौं भनेपछि मैले पत्याउँदै गएँ ।’

माओवादीको भदौ ३ को स्थायी समिति बैठकमा पनि दाहालको प्रहार ओलीमाथि नै थियो । ‘केपी शर्मा ओलीलाई विश्वास गर्नु मेरो गल्ती भयो । वामपन्थी एकताको आधार बनाउन सहकार्य गरियो, ओलीको चालबाजी अर्कै रहेछ,’ दाहालको भनाइ थियो, ‘यो राजनीतिक बेइमानी भयो ।’ उनले ‘ओलीको बोली र व्यवहार’ का कारण आफू झुक्किएको भन्दै आगामी दिनमा सचेत रहनुपर्ने पनि बताए ।

स्थायी समितिको ऐजण्डा तयार गर्न साउन १३ मा बसेको पदाधिकारी बैठकमा पनि दाहालको निसाना ओलीतर्फै थियो । ‘अब हामी यो सरकारका गलत कामविरुद्ध सडक र सदनबाट खबरदारी गर्ने दिशामा अघि जानुपर्छ,’ उनले ओली सरकार भ्रष्टाचारीको गठजोड भएको आरोप लगाए, ‘दलाल र भ्रष्टहरुको सरकारविरुद्ध हामीले सदन र सडकबाट संघर्ष गर्नुपर्ने दिन आउँदैछ ।’

त्यही दिन माओवादी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा ओलीको बोलीले झुक्याएको भन्दै अब भ्रममा नपर्न जिकिर गरे । साउन २१ को माओवादी कोशी प्रदेश प्रशिक्षणमा पनि उनी ओलीमाथि नै खनिएका थिए । उनले दुई पटक संसद् विघटन गरेका बेला आफू ओलीविरुद्ध आन्दोलनमा उत्रिएको उल्लेख गर्दै फेरि त्यही अवस्थाका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रतिपक्षमा पुगेपछि दाहाल र ओलीबीच साउन २३ मा संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति गर्न बालुवाटारमा प्रत्यक्ष भेट भएको थियो । ओली प्रधानमन्त्री भइसकेपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति हुनेमा दाहाल सशंकित थिए । तर ओलीको सहमतिमा टीआरसी विधेयकमा सहमति भई राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।

माओवादी सरकार ढाल्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाकै हात भए पनि दाहालको निसानामा ओली नै किन भन्ने प्रश्नमा माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘माओवादीको मुख्य संघर्ष अब एमालेसँग हुने निश्चित छ । त्यसैले अहिलेको राजनीतिक उपलब्धिको पक्षमा र संविधानको रक्षाका लागि एमालेसँग संघर्ष हुनेछ ।’ संविधान संशोधनका नाममा ओली पछि फर्कन खोजेको आरोप पनि उनको छ । ‘संविधान संशोधनमा सहमति गरी ओली प्रतिगमनतर्फ फर्कन खोजेको देखिन्छ,’ उनले थपे ।

माओवादी नेतृत्वको सरकार सुशासनको पक्षमा दृढतापूर्वक उभिएका बेला ओलीले आफू प्रधानमन्त्री हुन गठबन्धन फेरेको र भ्रष्टाचारविरुद्धको अभियानलाई रोकेको उनकाे तर्क छ । ओली सरकारले संघीयताको पूर्ण कार्यान्वयन गर्न नचाहेको र एकाधिकार पुँजीवादी लाइनमा गएको भन्दै ‘एमालेसँग सघन संघर्ष’ सुरु भएको उनले बताए ।

२०७४ को आमनिर्वाचनपछि ओली र दाहाल मिले पनि त्यो सहकार्य चार वर्षभन्दा टिकेन । त्यो तिक्तता मेटाउन गत फागुनको तेस्रो साता एमाले-माओवादीबीच पुन: सत्ता सहकार्य भए पनि त्यो चार महिनाभन्दा बढी टिकेन । त्यसपछि ओली र दाहालबीच तिक्तता झन् बढेको छ । प्रधानमन्त्री ओली दाहालप्रति केही नरम देखिए पनि दाहालचाहिँ ओलीप्रति आक्रोशित देखिँदै आएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले माओवादी अध्यक्ष दाहालका ओलीलक्षित अभिव्यक्ति पूर्वाग्रहबाट प्रेरित भएको टिप्पणी गरे । ‘यो कांग्रेस-एमालेको सरकार हो । प्रचण्डका व्यक्तिगत आवेग, इर्ष्या, पूर्वाग्रहबाट प्रेरित अभिव्यक्तिले केही अर्थ राख्दैन । उहाँको यो सब सत्ता छोड्नु परेको पीडाको अभिव्यक्ति हो,’ उनले भने, ‘पूर्वाग्रहबाट आएका अभिव्यक्तिको राजनीतिमा कुनै महत्व हुँदैन । उहाँले लोकतान्त्रिक मूल्य-मान्यताभित्र रहेर सरकारका सय दिन कुरेर बोल्नु राजनीतिक संस्कार हुनेछ ।’

राजनीतिकशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले कांग्रेससँग गठबन्धन तोडेको तीन महिनामै दाहालले ‘ओलीबाट धोका खाएपछि आक्रोशित भएको’ हुन सक्ने बताए । ‘प्रचण्डले ओलीबाट तीन महिनामै धोका पाएको हुनाले यतिबेला बढी आक्रोशित भएका हुन् । ओलीले मीठो वचन दिएर धोका दिएको अनुभव उनीसँग छ,’ उनले भने, ‘कांग्रेस–माओवादी गठबन्धन टुटाउन केपी ओलीले निकै कसरत गरेका थिए । प्रचण्डलाई निकै फकाएर सफल पनि भए । तर त्यो सहकार्य तीन महिना मात्र टिक्यो ।’

ओली दाहाल धेरै समय लडे, थोरै समय मिले

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले २०८४ को निर्वाचनसम्म सँगै जाने आश्वासन दिएका थिए । माओवादी ओरालो लागेको अवस्थामा एमालेसँग मिलेर जाँदा हित हुने दाहालको विश्लेषण थियो । तर दाहालको त्यो विश्लेषण तीन महिनामै गलत साबित भयो ।

विगततर्फ फर्केर हेर्दा एमालेभित्र ओली माओवादी सशस्त्र युद्धका बेला सबभन्दा बढी आलोचक थिए । शान्ति प्रक्रिया सुरु भएदेखि नयाँ संविधान जारी नभएसम्म माओवादी एजेण्डाको प्रमुख आलोचक उनी नै थिए ।२०७४ को निर्वाचमा ओली र दाहाल मिलेर चुनावमा जाँदा करिब दुईतिहाइ नजिक बहुमत ल्याएका थिए ।

ओलीलाई पहिलोचोटि २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म प्रधानमन्त्री बनाउन दाहालको समर्थन थियो । त्यसपछि २०७३ साउन २० मा औपचारिक रुपमा नयाँ प्रधानमन्त्रीका रुपमा दाहाललाई सत्ता हस्तान्तरण गरे । तर एमाले, माओवादीबीच सहकार्य भइसकेपछि २०७४ फागुन ३ मा ओली र दाहालबीच समान अवधि सरकारको नेतृत्व गर्ने समझदारी बने पनि कार्यान्वयन भएन ।

एमाले र माओवादी मिलेर नेकपा गठन भएपछि ओलीले न सरकार छाडे, न कार्यकारी अध्यक्ष दाहाललाई सुम्पे । २०७५ जेठ २ मा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ अर्को समझदारी बने पनि त्याे व्यवहारमा कार्यान्वयन भएन ।

एमाले र माओवादीबीच २०७५ जेठ ३ मा ओली र दाहाल दुई अध्यक्ष भई पार्टी एकीकरण भयो । दुई अध्यक्ष हुने बित्तिकै को एक नम्बर भन्ने विवाद चर्कियो । माओवादी समर्थनमा २०७४ फागुन ३ मा प्रधानमन्त्री भएका ओलीले २०७९ असार २९ मा सरकार छाडे । सर्वोच्च अदालतको परमादेशले २०७७ फागुन २३ मा एमाले र माओवादीलाई ब्युँताएपछि ओली र दाहालले आ-आफ्नो बाटो लिए । २०७९ को आमनिर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री नबनाएको झोकमा दाहाल फेरि ओलीसमक्ष पुगे ।

ओलीले दुई पटक संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणालाई बदर गर्दै सर्वोच्चले २०७८ असारमा परमादेश दिँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री नियुक्त गर्न आदेश दियो ।

देउवा, दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादवबीच बनेकाे गठबन्धनको बलमा सर्वोच्चको परमादेशबाट ओली सत्ताबाट बाहिरिए । २०७८ असार २९ मा उनी पदमुक्त भएसँगै ओली र दाहालबीच बढेको तिक्तता गत फागुनमा शिथिल भए पनि अहिले पुनः सुरु भएको हो ।

एमालेको २०७८ असोज दोस्रो साता ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनमा समेत दाहालले पार्टी कब्जा गर्न खोजेको आरोप लगाइएको छ । ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : भाद्र ८, २०८१ २१:५२
x
×