कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

संसदीय समितिमा लामिछानेले भने - गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जीबी राईलाई थाहा होला

भाद्र ७, २०८१
संसदीय समितिमा लामिछानेले भने - गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जीबी राईलाई थाहा होला

काठमाडौँ — सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डर, कार्यक्रम निर्माण र प्रस्तोताको मुख्य जिम्मेवारीमा रहेका प्रतिनिधिसभा सदस्य, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरिरहेको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लामिछानेसँग समितिले सोधपुछ गरिरहेको हो । 

लामिछानेले गोर्खा मिडियामा आफ्नो भूमिका, अध्यक्ष जीबी राईसँगको सम्बन्ध लगायतका विषयमा सोधिएका प्रश्नको जवाफ दिइरहेका छन् । समिति सभापति सूर्यबहादुर थापाका अनुसार लामिछानेलाई सोध्नका लागि करिब ५० वटा प्रश्न तयार गरिएका थिए । साँझ ७ बजेसम्म ५० प्रश्नको आधाको पनि जवाफ लिइसकिएको छैन ।

समितिले सहकारी, गोर्खा मिडियासँगको सम्बन्धका बारेमा समितिलाई बताएको सभापति थापाले बताए । 'जीबी राईसँगको चिनजान, जीबी राईको व्यावसायिक संलग्नताका बारेमा बताउनुभएको छ,' थापाले भने ।

लामिछानेले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कसरी रकम आयो भन्नेबारे आफूलाई जानकारी नरहेको जवाफ दिएको थापाले उल्लेख गरे । गोर्खा मिडियाको आर्थिक व्यवस्थापनको पाटो आफूलाई जानकारी नरहेको लामिछानेले जवाफ दिएको थापाले बताए ।

'उहाँ (रवि लामिछाने)ले आफ्ना विषयहरू बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी, पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण, प्रवाह गरिएको भनिएको रकम सम्बन्धमा आफ्नो हस्ताक्षर, कागजात, नागरिकतासहितका चिजहरू समावेश नभएको अहिलेसम्म स्पष्ट गर्नुभएको छ,' लामिछानले दिएको बयानबारे सभापति थापाले भने, 'आफू संस्था (गोर्खा मिडिया नेटवर्क)को प्रबन्ध निर्देशकका रूपमा संस्थामा सामान्य रूपमा दैनन्दिन प्रशासकीय, आन्तरिक काममा संलग्न रहेको तर कार्यकारी प्रमुखको रूपमा आर्थिक स्रोत जुटाउने लगायतका कामहरू जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट, कसरी रकम प्राप्त भयो भन्ने जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।'

समितिले ४५ औँ बैठकमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक र सेयर होल्डर रहेका लामिछानेलाई सोधपुछका लागि बोलाएको थियो ।

शुक्रबार बिहान ११ बजे गोर्खा मिडिया नेटवर्कका पूर्वसंचालक तथा संस्थापक छविलाल जोशीसँग सोधपुछ गरिएको थियो । समितिले सहकारी ठगीबारे लामिछानेमाथि संसद्, सार्वजनिक संचारमाध्यम र जनसाधारणबाट आएका प्रश्नका बारेमा सोधपुछ गरिरहेको थापाले जानकारी दिए ।

प्रकाशित : भाद्र ७, २०८१ २०:०६
x
×