कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

विकास कार्यक्रमहरूमा सहयोग गर्न नेपाल आए ९ जापानी स्वयंसेवक

विकास कार्यक्रमहरूमा सहयोग गर्न नेपाल आए ९ जापानी स्वयंसेवक

काठमाडौँ — जापानी सहयोग नियोग (जाइका) को स्वयंसेवक कार्यक्रममा संलग्न हुन नौ जना नयाँ स्वयंसेवकहरू नेपाल आएका छन् । उनीहरुले दिगो विकास प्रवर्द्धन र स्थानीय जीवनलाई समृद्ध बनाउन तयार गरिएका नवीन परियोजनाहरूमा सेवा प्रदान गर्नेछन् । 


नयाँ स्वयंसेवकहरूलाई कृषि, ट्राफिक सुरक्षा, स्वास्थ्य सल्लाहकार, र शिक्षासहित विभिन्न क्षेत्रका काममा खटाइने जाइका-नेपालले जनाएको छ ।

'प्रत्येक स्वयंसेवकले आफ्नो सीप र दृष्टिकोणअनुसार स्थानीय आवश्यकताहरू सम्बोधन गर्न र दिगो विकासलाई बढावा दिन योगदान पुर्‍याउने छन्', जाइकाद्वारा जारी प्रेस विज्ञप्तिमा छ ।

जाइका- नेपालले शुक्रबार नयाँ स्वयंसेवकहरूका लागि नेपालका सरकारी नियकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थाका साझेदार र मिडियाकर्मीहरूसँग परिचात्मक कार्यक्रम आयोजना गरेको थियो ।

दिगो विकासका १७ लक्ष्यहरूमध्ये जाइका स्वयंसेवकले आफ्ना एक वा थोरै लक्ष्यहरू हासिल गर्न नेपालमा काम गरिरहेका छन्,'उक्त कार्यक्रममा जाइका-नेपालका नवनियुक्त प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले भने, ' दिगो विकास लक्ष्यको आदर्श वाक्य 'कोही पनि पछाडि छुट्दैनन्' अनुसार हाम्रा स्वयंसेवकहरूले स्थानीय जनतासँग मिलेर तल्लो तहमा काम गर्छन्, जुन यस कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।'

जापान र नेपालबीचको मित्रता र साझेदारीलाई सहज बनाउनु नै स्वयंसेवक कार्यक्रमको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए ।

'आज हाम्रा नयाँ स्वयंसेवकहरूको परिचय दिएर, हामी नेपालको विकासमा थप योगदान दिने आशा गर्दछौं' उनले भने ।

नेपालमा जाइका स्वयंसेवक कार्यक्रममा सामेल हुन आएका एक स्वयंसेवीले दुई वर्षमा आफूले सिकेका सीपहरू लागू गर्न र अर्थपूर्ण योगदान गर्ने प्रतिबद्धता जनाए ।

१९६५ मा स्थापित जाइका स्वयंसेवक कार्यक्रमले जापानी स्वयंसेवकहरूलाई उनीहरूको क्षमता र अनुभवहरूको प्रभावकारी उपयोग गर्दै देशको सामाजिक आर्थिक विकासमा योगदान दिन स्थानीय मानिसहरूसँग काम गर्न अनुमति दिँदै आएको छ ।

स्वयंसेवकहरू जुन देशमा पठाइन्छ त्यहाँका स्थानीय जनतामाझ बस्छन् । उनीहरूले विकास आवश्यकताहरू पत्ता लगाउनका साथै नेपाल र जापानबीच आपसी समझदारी र मित्रता प्रवर्द्धन गर्न सक्षम बनाउँदै आफ्ना गतिविधिहरू अगाडि बढाउँछन्।

नेपालमा पहिलोपटक १९७० मा जाइका स्वयंसेवकहरू आएका थिए । उनीहरूले कृषि, स्वास्थ्य, शिक्षा, मत्स्यपालन, मर्मत कार्य, सिभिल इन्जिनियरिङ, सरसफाइ, खेलकुद र संस्कृति लगायतका विभिन्न क्षेत्रहरूमा काम गर्दै आएका छन् ।

जाइकाको स्वयंसेवक कार्यक्रम कोभिड-१९ का कारण सन् २०२० मा अस्थायी रूपमा रोकिएको थियो । गत वर्ष जुलाई २०२३ बाट पुनः सुरु भएको हो । विगत ५३ वर्षमा नेपालको विकासमा कुल १ हजार ४ सय ४९ स्वयंसेवकले योगदान पुर्‍याएको जाइका-नेपालले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०८१ १९:५८
x
×