कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

Highlights

  • 'त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।'

काठमाडौँ — शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । 

शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, 'त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।'

केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको बताइएको छ । असुरक्षाका कारण देखाउँदै उपकुलपति, रेक्टर र रजिस्ट्रार अनुपस्थित भएका छन् । रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल शुक्रबारदेखि नै कार्यालय आएका छैनन् भने उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएकाले गत सातादेखि नै बिदामा छन् ।

शुक्रबार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरेको थियो । ‘विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारण पदाधिकारी तथा केन्द्रीय कार्यालय परिसर कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महसुस बढ्न गएको छ,’ रजिस्ट्रार रिजालले लेखेको पत्रमा भनिएको छ, ‘गृह मन्त्रालय मार्फत उपकुलपति, शिक्षाध्यक्ष (रेक्टर), रजिस्ट्रारको निजी आवास र केन्द्रीय कार्यालय परिसरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि अनुरोध छ ।’

मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखको नाम सिफारिस गरेपछि नियुक्तिको निर्णय हुन नसकेको कार्यकारी परिषद् स्रोतले जनाएको छ । विभागीय प्रमुख युवराज लुइँटेलको कार्यकाल शुक्रबार सकिएको थियो । ज्येष्ठता र वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्त हुने व्यवस्था कार्यविधिमा छ ।

डिन शाक्यले पहिलो नम्बरमा रहेका पासाङ शेर्पालाई पछि पारेर दोस्रो वरीयतामा रहेका सहप्राध्यापक टीकाराम गौतमको नाम सिफारिस गरेपछि नियुक्तिमा विवाद भएको कार्यकारी परिषद्का एक सदस्यले बताए । विभागले भने वरिष्ठताका आधारमा एक नम्बरमा सहप्राध्यापक शेर्पा, दुई नम्बरमा गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेको थियो ।

प्रकाशित : भाद्र ५, २०८१ ०७:५६
×