कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

संक्रमणकालीन विधेयकमा सहमति शान्ति, स्थिरता र समृद्धिका निम्ति खुसीको कुरा हो : दाहाल 

श्रावण २३, २०८१
संक्रमणकालीन विधेयकमा सहमति शान्ति, स्थिरता र समृद्धिका निम्ति खुसीको कुरा हो : दाहाल 

Highlights

  • 'नयाँ सरकार गठन भएपछिको मैले यसलाई राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु'

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा गृहमन्त्री रमेश लेखक संयोजकत्वको कार्यदलले सहमति जुटाउनु खुसीको कुरा भएको बताएका छन् । उनले उक्त सहमतिलाई संसदीय समिति र संसद्‌बाट संवैधानिक रूपमा अगाडि बढाउन पनि सरकारसँग आग्रह गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार कार्यदल संयोजक लेखकले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विश्वास रहेको दाहालले बताए । 'लामो समयदेखि छलफलमा रहेको, सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले मिहिनेत र स्प्रिटका साथ कार्यदलले अरुहरूको पनि सहयोग लिएर, छलफल गरेर पीडितमैत्री बनाएको छ, पीडितमैत्री बनाउने प्रयास त पहिले पनि गरेको हो, निष्कर्षमा पुर्‍याइएको छ,' दाहालले भने, 'यो सहमति हामी सबैको निम्ति, राजनीतिक दलहरूका निम्ति मात्रै होइन, समग्र नेपाली जनताका निम्ति, यो शान्ति, स्थिरता र समृद्धिको पक्षमा छन्, ती सबैको निम्ति खुसीको कुरा हो ।'

प्रमुख प्रतिपक्षी दलका नेता दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनेपछिको राम्रो काम संक्रमणकालीन न्यायमा बनेको पनि बताए । 'नयाँ सरकार गठन भएपछिको मैले यसलाई राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु,' उनले भने ।

आफू प्रधानमन्त्री रहेकै बेला तीन दलका प्रमुख नेताहरूको बैठकले संक्रमणकालीन न्यायमा सहमति जुटाउनका लागि कार्यदल गठन गरिएको पनि दाहालले स्मरण गरेका थिए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरूलाई निष्कर्षमा पुर्‍याउन ढिला गर्न नहुने मान्यताका साथ समिति गठन गरिएको र त्यसले एउटा निष्कर्ष सहमतिमै निकालेको उनको भनाइ थियो ।

अब संसदीय समिति र संसद‌्बाट समितिले निकालेको निष्कर्षलाई संवैधानिक रूपमा पारित गरेर जानुपर्ने बताए । 'कार्यदलले धेरै मिहिनेत गरेर प्रतिवेदन बुझाएको छ । संवैधानिक प्रक्रियाबाट संसदीय समिति र पूर्ण बैठकमा पनि यसैपटक जाओस् र यसलाई टुंग्याइयोस् । आमनेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् र सरकार र सम्बन्धित मन्त्रीलाई पनि यसको निम्ति विशेष आग्रह गर्न चाहन्छु,' दाहालले भने ।

प्रकाशित : श्रावण २३, २०८१ १२:४९
×