कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सिमलताल बस दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

श्रावण २२, २०८१
सिमलताल बस दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ — चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।

गृहमन्त्री लेखकले पदबहाली गरेपछिको पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको छ ।

कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकाप्रति चिन्ता व्यक्त गरे ।

गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नाका साथै अरू निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए ।

'यो गम्भीर र संवेदनशील विषय छ,' मन्त्री लेखकले भने, 'हवाई दुर्घटना भयो भने आयोग र समिति बनाउने, दुर्घटनाका बारेमा जानकारी लिने, छानबिन हुने गरिन्थ्यो ।सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।'

सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए । ६२ जना बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझी आफूले अध्ययन कार्यदल बनाएको उनको भनाइ थियो ।

त्यस्तै, सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुईवटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको छ ।

प्रतिवेदन पेस गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ र डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए । 'दुर्घटनास्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्र्यान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर पनि छ,' संयोजक रिजालले भने,'उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा पर्खाल लगाएको पनि देखिँदैन ।' दुर्घटनामा परी नदीमा हराएका यात्रुमध्ये २४ जना शव फेला परे पनि ४० जनाको अवस्था अझै अज्ञात छ ।


प्रकाशित : श्रावण २२, २०८१ १७:५८
×