कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सार्वजनिक बिदाका कारण प्रतिनिधिसभाको आइतबारको बैठक सर्‍यो

श्रावण १८, २०८१
सार्वजनिक बिदाका कारण प्रतिनिधिसभाको आइतबारको बैठक सर्‍यो

काठमाडौँ — सरकारले आइतबारका लागि उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी सारिएको हो ।

संसद्‌ सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले शुक्रबार सूचना प्रकाशित गर्दै बैठक बस्ने दिन र समय परिवर्तन भएको जानकारी दिएका हुन् ।

'२०८१ साउन २० गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक उक्त दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले निर्धारित समयमा बस्न नसक्ने भएपछि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक साउन २१ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' महासचिव पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित : श्रावण १८, २०८१ १६:३८
×