कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

मणि थापा एमालेबाट पदमुक्त

श्रावण १८, २०८१
मणि थापा एमालेबाट पदमुक्त

काठमाडौँ — एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले पदमुक्त गरेको हो ।

‘पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ । उहाँ लामो समय पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त हुनुभएको हो,' स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

बिहीबार बसेको सचिवालय बैठकले थापालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेको मूल नेतृत्व (ओली) को कार्यशैली र विचारसँग असहमत भएपछि उनी निष्क्रिय भएका थिए । ‘मणिजी गत निर्वाचनमा पनि पार्टीको काममा खट्नु भएन,’ गौतमले भने, ‘सायद उहाँ साहित्य सृजनामा बढी व्यस्त हुनुहुन्छ होला ।’

थापा निकट स्रोतका अनुसार उनले ६ महिनाअघि नै पदबाट राजीनामा दिइसकेका थिए । ‘उहाँले ६ महिनाअघि राजीनामा दिइसक्नु भएको हो,’ स्रोतले भन्यो, ‘एमालेले त्यसलाई स्वीकृत गर्न ढिला गरेको थियो ।’ केही समयअघि थापाले एमालेले लिएको राजनीतिक नीतिले अपेक्षा अनुसार नभएकाले विश्राम लिएको बताएका थिए ।

उनले पार्टीको काम छाडेर गत वर्ष देशव्यापी जनजागरण अभियान चलाएका थिए । थापाको गतिविधिप्रति ओली असन्तुष्ट थिए । एमालेको २०७८ मंसिरको चितवन महाधिवेशनले थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो । तर त्यसपछि उनी पार्टीको काममा निष्क्रिय हुँदै गए । पछिल्लो एक वर्षदेखि उनी पूर्णरुपमा निष्क्रिय रहँदै आएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा २०७८ जेठ संसद् विघटन गर्ने बेला उनी खानेपानी मन्त्री भएका थिए । अदालतको आदेशसँगै उनी पदमुक्त भएका थिए । सर्वोच्चले २०७७ फागुनमा एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीबाट एमाले र माओवादीलाई अलग गरेपछि थापा भने एमालेमै रहेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनी एमालेमै रहेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आउनुअघि नै उनी माओवादी छाडेका उनले माओवादी मूलधारमा आएपछि पुनः सहभागी भएका थिए । माओवादी सशस्त्र युद्धमा उनले साहित्य र संगीत फाँटको जिम्मेवारी पाएका थिए ।

थापा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्दसँग छलफल भए पनि पार्टी प्रवेश गरिसकेका छैनन् ।

प्रकाशित : श्रावण १८, २०८१ १५:३२
×