कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल

श्रावण १६, २०८१
शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् । बुधवार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए ।

उनले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने काम बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरु, मानवअधिकारकर्मी, आम नागरिकहरुको काँधमा रहेको बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्नेमा आफू स्पष्ट रहेको बताए । उनले भने, ‘नेपालले एउटा अनपेक्षित, अनावश्यक, अनुचित र एक ढंगले भन्दा नेपाली समाजको निम्ति बोझको रुपमा सम्झना भइरहने कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज गुज्रियो । त्यो द्वन्द्वबाट हामी नेपालीहरुले बडो मेहनतका साथ नेपाली समाजलाई द्वन्द्वबाट, हिंसाबाट शान्तिमा रुपान्तरण गरेका छौँ । हिंसा र द्वन्द्वको अन्त्य भएको छ भने शान्तिको स्थापना भएको छ । तर अझैपनि द्वन्द्वका घाउहरु मेटिएका छैनन् । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने काम बाँकी छ । केही कामहरु अझै पनि बाँकी छन् । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ । सरकार, रानीतिक दलहरुको काँधमा छ । मानवअधिकार कर्मीहरुको काँधमा छ । आम नागरिकहरुको काँधमा छ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सिलसिलामा हाम्रा निस्कर्षहरु पीडितमैत्री हुनुपर्छ । पीडितको पक्षमा हुनुपर्छ ।'

उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताए । उनले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताए ।

प्रकाशित : श्रावण १६, २०८१ १७:२४
×