कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सिमलताल दुर्घटना : खोजीका लागि आएको भारतीय टोली आज फर्कँदै

श्रावण १३, २०८१
सिमलताल दुर्घटना : खोजीका लागि आएको भारतीय टोली आज फर्कँदै

Highlights

  • नेपाली टोलीले दोस्रो चरणको उद्धार जारी राख्ने 

काठमाडौँ — सिमलताल पहिरोमा बगेका बस र यात्रुको खोज्न आएको भारतीय प्राविधिक टोली आज फर्कने भएको छ । भारतीय प्राविधिकहरूलाई आज बिदाइ गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् । भारतको 'राष्ट्रिय आपदा मोचन बल' (एनडीआरएफ)का प्राविधिकहरू प्रविधिसहित एक हप्ताका लागि खोजीमा आएका थिए ।

चार गोताखोरसहित आएका १२ जना प्राविधिकहरूले अघिल्लो आइतबारदेखि खोजी सुरु गरेका थिए । नेपाली टोलीले भने दुर्घटना भएलगत्तै घटनास्थलमा पुगेर खोजी सुरु गरेको थियो । भारतीय टोलीसहितले खोजे पनि त्रिशूलीमा बगेका दुवै बस पत्ता लागेका छैनन् । भारतीय टोलीले पानीभित्र रहेका वस्तुहरूको आकार र आकृति संकेत गर्ने उपकरण सोनारसहित खोजी गरेका थिए ।

नेपाली टोलीले पनि गोताखोर र सोनार तथा पानीभित्रका वस्तु हेर्न मिल्ने क्यामेरासहित खोजी गरेको थियो । भारतीयसँग भएको तीनवटा सोनार नेपालीले प्रयोग गरेको भन्दा परिष्कृत र प्राविधिकहरू अनुभवी रहेका कारण खोजी कार्य उपलब्धिमूलक हुने अपेक्षा थियो । 'भारतीय र हाम्रो संयुक्त टोलीले हालसम्म गरेको कामको समीक्षा गरेर धन्यवाद ज्ञापनसहित भारतीय टोलीलाई फिर्ता पठाइने छ,' प्रमुख जिल्ला अधिकारी यादवले भने ।

नेपाली टोलीले भने दोस्रो चरणको खोजी कार्य जारी उनले बताए । 'तर यो खोजी हिजो अस्तिको जस्तो द्रूत र सघन भने हुँदैन,' प्रमुख जिल्ला अधिकारी यादवले भने । आज जिल्ला सुरक्षा समितिको बैठक बसेर यो योजनालाई औपचारिकता दिने उनको भनाइ छ । हालसम्म शव फेला परी सनाखत भएका र शव पनि फेला पर्न नसकेका बेपत्तालाई सरकारको निर्णय बमोजिम मृतक मानेर राहत प्रक्रिया सुरु गर्ने बताइएको छ ।

असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलो मिटरपूर्व उत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका छन् ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार दुवै बसमा ६५ यात्रु थिए । बस त्रिशूलीमै पुगे पनि एञ्जल बसका तीनजना यात्रुले आफैं पौडिएर ज्यान जोगाए । बाँकी ६२ जना र दुई बस त्रिशूलीमा बेपत्ता छन् । खोजी टोलीले घटनास्थलदेखि लगभग १०३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २५ वटा शव फेला पारेको थियो । तीमध्ये १९ शव मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको छ ।

परिवारले सनाखत गरेका ती १९ शवमध्ये तीनजना महिला र १६ पुरुष छन् । एउटा बसमा सात र अर्कोमा दुई गरेर नौजना भारतीय नागरिक पनि बससँगै नदीमा बेपत्ता भएका थिए । जसमध्ये पाँचजना भारतीयको शव फेला परेको छ । सकुशल रहेका तीनजना र शव भेटिएर सनाखत भएका १९ जनाबाहेक बाँकी ४३ यात्रुको अवस्था अज्ञात छ । साउन चार गतेयता शव पनि भेटिएको छैन ।

भारतीय टोलीको खोजी बस खसेको स्थान वरपर त्रिशूली नदीमा केन्द्रित थियो । उनीहरूले हिजो शनिबार १९ किलो र १४ किलोका दुईवटा शक्तिशाली चुम्बक प्रयोग गरेर बसको खोजी गरेका थिए । एउटा १९ किलोको चुम्बक नै त्रिशूलीमा बगेर हराएको छ । त्रिशूली नदीको उर्लँदो भेल र उच्च बहाबले खोजी कार्यमा बाधा दिएको भारतीय प्राविधिकहरूले बताएका थिए ।

प्रकाशित : श्रावण १३, २०८१ १०:१०
x
×