कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

चुम्बकले खोज्दा पनि भेटिएन बस

श्रावण १३, २०८१
चुम्बकले खोज्दा पनि भेटिएन बस

Highlights

  • खोजीमा प्रयोग गरेको १९ किलोको चुम्बक त्रिशूलीको भेलमै हरायो, खोजी जारी राख्ने/नराख्नेबारे आइतबार निर्णय हुने 

काठमाडौँ — भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता दुईवटा बस शनिबार १५ औं दिनमा पनि भेटिएनन् । खोजीका लागि आएको भारतीय प्राविधिक टोलीले चुम्बक प्रयोग गरे पनि बसको कुनै पत्तो लागेन ।

गोताखोर र सोनार क्यामेरासहित खोजीमा संलग्न भारतीय टोलीले शनिबार १४ किलो र १९ किलोका दुईवटा चुम्बक प्रयोग गरेका थिए । तीमध्ये १९ किलोको चुम्बक पानीको बेगले त्रिशूलीमै हराएको छ । त्रिशूली नदीको उर्लंदो भेल र कडा बहाब खोजी कार्यका लागि चुनौती भएको भारतीय प्राविधिकहरूले बताएका छन् ।

अब खोजी कार्य जारी राख्ने/नराख्नेबारे आइतबारसम्म निर्णय हुने प्रशासनले जनाएको छ । ‘नेपाली टोलीले घटना भएकै दिनदेखि खोजी सुरु गरेको हो । भारतीय टोली आएको पनि साता दिन बित्यो । खोजी जारी राख्ने/नराख्ने भन्नेबारे भोलि (आइतबार) नै निर्णय हुन्छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने ।

नेपाल सरकारको आग्रहमा गत शनिबार आइपुगेका भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का १२ जना प्राविधिक आइतबारदेखि खोजीमा जुटेका थिए । भारतीय टोलीमा तालिम प्राप्त गोताखोर चार जना छन् । उनीहरूले पानीभित्र रहेको बस्तुको आकार र आकृतिको संकेत दिने प्रविधि सोनार क्यामेरा पनि ल्याएका थिए । नेपाली सुरक्षाकर्मीले पनि सोनार र गोताखोरबाट खोजी गर्दै आएका थिए । भारतीयहरू अनुभवी रहेको र सोनार पनि नेपालमा प्रयोग भएकोभन्दा थप परिष्कृत भएकाले खोजी सफल हुने अपेक्षा थियो । ‘तर शनिबारसम्म बसको केही पत्तो लागेन,’ प्रजिअ यादवले भने ।

गत असार २८ मा शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको बस नारायणगढदेखि करिब २३ किलोमिटर पूर्वउत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका हुन्। चितवन जिल्ला प्रशासनका अनुसार दुवै बसमा ६५ जना यात्रु थिए ।

बस त्रिशूलीमै पुगेपछि एञ्जल बसका ३ यात्रुले पौडिएर ज्यान जोगाए । बाँकी ६२ जना र दुई वटा बस त्रिशूलीमा बेपत्ता भए । खोजी टोलीले घटनास्थलदेखि लगभग १ सय ३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २५ वटा शव फेला पारेको थियो । तीमध्ये १९ वटा शब मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको छ । परिवारले सनाखत गरेका १९ शवमध्ये तीन महिला र १६ पुरुष छन् ।

एउटा बसमा ७ र अर्कोमा २ गरी ९ जना भारतीय नागरिक पनि बससँगै नदीमा बेपत्ता भएका थिए । जसमध्ये ५ जनाको शब फेला परेर परिवारले बुझेका छन् । सकुशल ३ जना र शव भेटिएर सनाखत भएका १९ जनाबाहेक ४३ यात्रुको अवस्था अज्ञात छ ।

प्रकाशित : श्रावण १३, २०८१ ०६:००
x
×