कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भ्रष्टाचार मुद्दा : तत्कालीन मुख्यसचिव अर्यालसँग विशेष अदालतले माग्यो ५० हजार धरौटी

श्रावण १३, २०८१
भ्रष्टाचार मुद्दा : तत्कालीन मुख्यसचिव अर्यालसँग विशेष अदालतले माग्यो ५० हजार धरौटी

काठमाडौँ — विशेष अदालतले तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपैया धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यलासँग धरौटी मागेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले अर्याललाई धरौटी लिएर रिहा गर्न आदेश दिएको बताए । अदालतको आदेशपछि अर्याल धरौटी बुझाउने क्रममा रहेको रेग्मीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते तत्कालीन मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बनमा परेका थिए । त्यसपछि उनलाई सरकारले राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको विशेष पद सिर्जनागरी जगेडामा राखेको थियो ।

तत्कालीन मुख्यसचिव अर्याल सहित आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक रही पछिल्लोपटक अर्थ मन्त्रालयमा कार्यरत सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लाजिम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रा.लि.का निर्देशक केशव शर्मा र उक्त कम्पनीलाई विपक्षी बनाइ अख्तियारले मुद्दा दायर गरेको थियो ।


प्रकाशित : श्रावण १३, २०८१ १८:३४
×