कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सिमलताल दुर्घटना : सिँदुरेगैरामा कहाँबाट आयो बस बगाउने लेदो ?

श्रावण २, २०८१
सिमलताल दुर्घटना : सिँदुरेगैरामा कहाँबाट आयो बस बगाउने लेदो ?

Highlights

  • इन्जिनियर सागर कार्कीले खोल्सोमा मेसिननै लगाएर ताछे जसरी माटो र बालुवा सोहोरिएको देखे ।

चितवन — नारायणगढ–मुग्लिन सडकमा पहिरो आएको सुन्दा धेरैलाई सडक बिस्तारका बेला काटेको पाखाबाटै खसेको लाग्छ । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर सडकबाट खसेका दुई वटा बस त्रिशूलीमै बगेर बेपत्ता भएपछि धेरैको मनमा सडक बिस्तारका बेला काटेको पहाड गाडीमाथि झरेको होला भन्ने छ ।

तर ६५ जना यात्रु सवार दुई वटा बस बेपत्ता बनाउने पहिरो सडकआडबाट आएको छैन । घटनास्थलमा सडकआडको भित्तामा घाँसपात र बोटबिरुवा यथावत छन् । दुई वटा बस बगाउने गरी त्यो पहिरो कसरी आयो ?

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की दुर्घटनाको भोलिपल्ट नै बस पल्टाउने पहिरोको मूल खोज्न निस्किए । सिमलताल नारायणगढ बजारबाट २३ किलोमिटर जति उत्तरपूर्व मुग्लिन तर्फ पर्छ ।

नारायणगढबाट जाँदा सिमलताल नपुग्दै एउटा स–सानो मोड छ । जहाँ त्रिशूली नदी किनारतर्फ चियाखाजाका पसल पनि छन् । मोड लगत्तै आउँछ कदम खोला । यो खोला त्यत्ति ठूलो छैन सानो खोल्सा नै हो ।

कदमखोलासँग जोडिएको एउटा सानो ढिस्को छ । त्यो ढिस्कोको अर्को तर्फ छ सिँदुरेगैरा नामको अर्को खोल्सो । सिमलताल नपुग्दै लगभग दुई सयमिटर वरै रहेको यही खोल्सोमा शुक्रबार बिहान दुई वटा बस दुर्घटनामा परेका थिए ।

सिँदुरेगैराको ‘कल्भर्ट’बाट खसरे एक सय मिटर जति तल रहेको त्रिशूली नदीमा पुगेर दुई वटा बस र त्यसका यात्रुहरू हराएका हुन् । यत्रो दुर्घटना गराउन सक्ने शक्ति सिँदुरेगैरामा कसरी आयो ? सिँदुरेगैरामा पानी मात्रै बग्थ्यो भने यो दुर्घटना नै हुँदैन थियो । पानी बग्ने खोलामा बालुवा, माटो र ढुंगासहितको लेदो बग्यो ।

त्रिशूलीपारिको तनहुँ आँबुखैरहनी गाउँपालिका–५ दोन्द्राङबेसी गाउँका बासिन्दाको दैनिक किनमेल गर्न आउने ठाउँ नै सिमलताल हो । सिमलताल जान त्रिशूली नदीको झोलुङ्गे पुल सिँदुरेगैराको सामुन्ने छ । त्यसैले बाटो हिँड्दा दोन्द्राङबेसीका जंगबहादुर मगरले सिँदुरेगैरामा बर्खामा सधैं पनि पानी मात्रै बगेको देखेका थिए । लेदो देखेका थिएनन् ।

इन्जिनियर सागर कार्कीले तयार गरेको पहिरो र लेदोको स्रोतको गुगल म्याप ।

भरतपुर डिभिजन सडकका सूचना अधिकारी चन्देश्वर साहले सिँदुरेगैरामा शुक्रबार राति पहिरो आएर बाटो थुनेको बताए । ‘पानीमात्रै बग्ने खोलामा लेदोले कल्भर्टको मुख थुनिएपछि सडकमाथिबाट बगेर बाटो थुन्यो । पहिरो सफा गरेर गाडी चलाएको केहीबेरपछि नै उक्त दुर्घटना भएको हो,’ उनले भने । सोही ठाउँमा गत असार ८ गते पनि बाटो थुनिने गरेर लेदो जमेको थियो ।

तीन वर्षदेखि नारायणगढ–मुग्लिन सडकको नियमित रेखदेख गर्दै आएका इन्जिनियर सागर कार्कीले सडकआडमा केही नदेखिए पनि यति ठूलो दुर्घटना हुने गरेर लेदो आउनुको कारण बुझ्न शनिबार सडकदेखि माथि खोल्सैखोल्सा अगाडि बढे । खोल्सोमा मेसिननै लगाएर ताछे जसरी माटो र बालुवा सोहोरिएको देखे ।

‘सामान्यतया हामीले बाटो छेउँबाट हेर्दा बाटोको डिल कत्तिको जोखिम छ भनेर हेर्छौं । कमजोर पाइएमा पर्खाल लगाउने, पहिरो नआओस् भनेर बायोइन्जिनियरिङ गर्ने हिसाबले बाटोको राइट अफ वेभित्र बढी हेर्छौं । तर सिमलतालमा जोखिम छ भन्ने लागेकै थिएन । खोल्सामा पानी आउँथ्यो जान्थ्यो,’ इन्जिनियर कार्कीले भने । उनले सडकबाट लगभग नौ सय मिटर सिँदुरेगैराको लेदोको मुहान देखे ।

‘माथि डुम्रेभन्ने गाउँमा ६ वटा घुम्ती भएको ६ सय ५० मिटर बाटो माथिल्लो गाउँदेखि खन्दै तल्लो गाउँ तर्फ ल्याइएको रहेछ । माथिबाट त्यो बाटोको दोस्रो मोडमा पानी रसाइरहेको पाइयो । त्यहाँको माटो पक्का छैन । जमिन नै चिराचिरा परेको छ,’ इन्जिनियर कार्कीले भने ।

जमिन पक्का नभएको ठाउँमा बाटो खनेको, संरक्षणका कुनै आधार निर्माण नगरेको, संवेदनशील जमिन खनेर मोड राखेर बाटो बनाएको उनले बताए । ‘यसरी काम भएको रहेछ । शुक्रबार एक सय एमएलभन्दा बढी पानी पर्‍यो भन्ने छ । ठूलो पानी पर्दा लेदो बनेर तल झर्न थाल्यो,’ कार्कीले भने, ‘लेदो बग्दै खोल्सा हुँदै सडकसम्म आयो । पहिला खोल्सामा पानी मात्र बग्थ्यो अहिले लेदो बग्यो ।’

पानीले खोतलेको सिँदेरीगैरा खोल्साको सडकदेखि तीन सय मिटर माथिको भाग । यसको आडमा खनेर छाडेको पुरानो बाटो पनि देखिन्छ । तस्बिर : रमेशकुमार पौडेल–कान्तिपुर ।

भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ माथिल्लो र तल्लो डुम्रे गाउँलाई जोड्न पाँच लाख रुपैयाँ लागतमा गत माघमा बाटो खनेको बताउँछन् । इन्जिनियर कार्की पहिरो स्रोतनै यही बाटो भएको बताउँछन् । वडाध्यक्ष गुरुङ सिमलतालको पहिरोको कारण बारे सत्यतथ्य अध्ययन हुनुपर्ने बताउँछन् ।

‘माथि बाटो खनेको ठाउँबाट पहिरो आएको हो भन्नलाई बीचमा एउटा गाउँ नै छ त्यो गाउँ नै सखाप हुन्थ्यो । बाटो खन्दा कहाँबाट खतरा हुन्छ, कमजोर ठाउँ नचलाउ भनेर मैले सम्झाएकै हो र त्यही अनुसार खतरा हुने ठाउँ छलेर बाटो लगेका हुन् । माटो झर्‍यो होला, गाडी नै बगाउने पहिरो त आएन कि,’ वडाध्यक्ष गुरुङले भने ।

बेपत्ताको खोजी सीमापारिसम्मै

त्रिशूलीमा बेपत्ता बस र यात्रुको सीमापारि भारतीय क्षेत्रसम्म खोजी गरिने भएको छ । दुई वटा बसमा सवार ६५ यात्रु मध्ये तीन जना मात्रै सकुशल छन् ।

हालसम्म दुई महिलासहित १७ जनाको शव फेला परेकोमा १० जना बसका यात्रु भएको पुष्टि भएको छ । तर एक जनाको सनाखतमा दुविधा भएको छ ।

घटनाका दिन गत शुक्रबार नदीको बहाव उच्च भएका कारण शवहरू बगेर गण्डक नहरको बाँध नाँघेर भारतीय क्षेत्रमा समेत पुगेको हुन सक्ने अनुमानले भारत विहारको पश्चिम चम्पारण जिल्लाका अधिकारी (डिएम)सँग पनि खोज तथा उद्धारमा समन्वय भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

शवहरू घटनास्थलदेखि झण्डै ३८ किलोमिटर तल गैंडाकोटको गैरी, ५८ किमिमा पर्ने गोलाघाट र १ सय ३ किमिको त्रिवेणीमा फेला परेको प्रजिअ यादवले बताए । बसमा हराइरहेका यात्रुमध्ये नौ जना भारतीय नागरिक पनि छन् । तीन भारतीयको शव फेला परिसकेको छ । पूर्वी र पश्चिम नवलपरासीका अधिकारीहरूसँग पनि खोजी उद्धारमा सहकार्य र समन्वय भइरहेको यादवको भनाइ छ । सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका छन् ।

सोमबारदेखि पानीभित्र तीन सय मिटरमूनिसम्मका बस्तुको संकेत दिने ‘सोनार क्यामेरा’ प्रयोग भइरहेको छ । ‘यसअघि प्रयोग भएको सोनार क्यामेराले पानीभित्र वस्तु छ या छैन भन्नेसम्म संकेत दिन्थ्यो । यो सोनारले बस्तुको आकार, आकृति नै देखाउँछ,’ सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थपन तालिम शिक्षालयका सह–समादेशक एसपी जनक पुरीले भने । तर मंगलबार साँझसम्म पनि सोनारले हराएका बसबारे कुनै संकेत दिएको छैन । मोटरबोटमाथि नै स्क्रिन राखेर खोज्दै सुरक्षाकर्मीको टोली घटनास्थलबाट ५० किलोमिटर परको गोलाघाटसम्म खोज्दै गइरहेको छ । सशस्त्रका सई रमेशवहादुर थापाले पानी निकै धमिलो र उच्च बहाब भएकाले समस्या भइरहेको बताए ।

‘दुई नटभन्दा बढीको बेगमा डाइभिङ गर्न उपयुक्त हुँदैन भन्ने मान्यता छ । दुई नट भनेको पानीको बेग प्रति घण्टा चार किलोमिटर रहनु हो । तर हामी प्रति घण्टा २० देखि ३० किलोमिटर गतिको खोलामा पनि पसेर काम गरिसकेका छौं,’ थापाले भने ।

शुक्रबार बिहानपख काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगे ।

प्रकाशित : श्रावण २, २०८१ ०९:५०
x
×