कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

राज्यको नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

श्रावण १, २०८१
राज्यको नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले अवलम्बन गर्ने नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्ने बताएकी छन् ।

नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) को ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मंगलबार पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकका लागि दीर्घकालीन महत्व राख्ने आन्तरिक मामिला तथा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राज्यले अवलम्बन गर्ने नीतिहरू अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्दछ ।’ उनले राज्यलाई आवश्यक ज्ञान उत्पादनका लागि गरिने अनुसन्धानमा राज्यले नै लगानी पनि बताइन् ।

उनले दातृ निकायहरूको लगानीमा गरिने अनुसन्धान स्वतन्त्र र निष्पक्ष नहुन पनि सक्ने उल्लेख गरिन् । ‘त्यसैले राष्ट्रिय सुरक्षा तथा विदेश मामलाजस्ता मुलुकको लागि संवेदनशील विषयमा अध्ययन/अनुसन्धान गर्न राज्यले नै लगानी गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । विकास र अध्ययन–अनुसन्धान गर्ने संस्थाहरू बीचको गहिरो अन्तरसम्बन्ध विश्वव्यापी रूपमा स्थापित भइसकेको छ,’ उनले भनिन्, ‘तथापि, हाम्रो राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा प्रमाणमा आधारित ज्ञान उत्पादनको प्रक्रिया, नीति निर्माणमा ज्ञान प्रयोगको मूल्य र महत्व तथा यसमा अनुसन्धान संस्था,‘थिंक ट्यांक’को भूमिकाको विषयमा समान बुझाइरहेको देखिँदैन । फलस्वरुप, अनुसन्धान संस्थाहरूको स्थापना, सञ्चालन र तिनको उपयोगमा सरकारसाग सुसंगत नीतिको अभाव रहेको मैले महसुस गरेको छु ।’

पूर्वराष्ट्रपति भण्डारीले तथ्य र प्रमाणमा आधारित ज्ञान उत्पादनका लागि विश्वविद्यालयअन्तर्गत स्थापित अध्ययन–अनुसन्धान केन्द्रहरू, सरकारद्वारा प्रत्यक्ष रूपमा स्थापित गरेका ‘थिंक ट्यांक’ संस्थाहरू, गैरसरकारी क्षेत्रद्वारा सञ्चालित अध्ययन–अनुसन्धान संस्थाहरूसँग समन्वयात्मक रूपमा काम गर्न स्पष्ट रणनीतिको आवश्यकता पर्ने बताइन् । उनले एक ताका एसियाकै उत्कृष्ट अनुसन्धान केन्द्रहरूमध्ये रहेको सिनासलाई पुनर्जीवन दिँदै पुनः एक सक्रिय र सशक्त अनुसन्धान केन्द्रको रूपमा पुन:स्थापित गर्न लागि परेका सिनासका वर्तमान पदाधिकारीहरू धन्यवाद र बधाईका पात्र बताएको पनि बताइन् ।

सोही अवसरमा सिनासद्वारा प्रकाशित पुस्तक ‘सम्बोधन’ पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले पुस्तकमा राष्ट्रपति पदमा रहँदा भण्डारीले मुलुकभित्र र बाहिर विभिन्न महत्वपूर्ण फोरमहरुमा विविध विषयमा गरेका २ सय ७० वटा सम्बोधनहरुलाई संकलन गरेर पुस्तक ल्याइएको बताए । उनले यो महत्वपूर्ण दस्तावेज हुने पनि प्रस्ट पारे ।

प्रकाशित : श्रावण १, २०८१ १६:४३
×