कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

परराष्ट्रमा जुरेको महिला नेतृत्वको संयोग

असार ३१, २०८१
परराष्ट्रमा जुरेको महिला नेतृत्वको संयोग

Highlights

  • पूर्वप्रधानमन्त्री पत्नीको रुपमा ‘फस्ट लेडी’ जस्तै भूमिका ५ पटक निर्वाह गरेकी राणा पहिलो पटक आफूले नै नेतृत्व गर्ने गरी मन्त्रालय सम्हालेकी हुन् । प्रधानमन्त्री पत्नीको रुपमा उनको भूमिकालाई लिएर राम्रो र नराम्रो दुवै चर्चा हुने गरेको थियो । तर यसपटक आफैँले नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयमा आएकी राणाले कस्तो भूमिका निर्वाह गर्छिन् भन्ने सबैको चासोको विषय बनेको छ ।

काठमाडौँ — कुनै समय कूटनीतिक सेवामा पुरुषै पुरुष हुन्थे । अझ मूल नेतृत्वमा त महिला देखिनु टाढाको कुरा । तर केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि यसपटक नयाँ संयोग जुरेको छ-परराष्ट्र मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला भएका छन् ।

कांग्रेस नेतृ आरजु राणाले सोमबारबाट परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेकी छन् भने उक्त मन्त्रालयको सचिव सेवा लम्साल छिन् ।नेपालको कूटनीतिक इतिहासमा सहाना प्रधान, सुजाता कोइराला र विमला पौडेल राईपछि परराष्ट्र मन्त्री भन्ने राणा चौथो महिला हुन् ।

सचिव लम्साल भने मन्त्रालयको पहिलो सचिव हुन् । पाकिस्तानका लागि नेपालकी पूर्वराजदूत रहेकी लम्साललाई सरकारले गत मंसिरमा सचिवमा बढुवा गरेको थियो ।

‘यसलाई सुखद संयोग मान्न सकिन्छ, मन्त्रालयमा पहिलोपटक परराष्ट्रमन्त्री र परराष्ट्र सचिव दुवै महिला हुन पुगेको छ,’ मन्त्री राणालाई सोमबार मन्त्रालयमा स्वागत गर्दै सचिव लम्साले भनिन् ।

उता, परराष्ट्रमन्त्री राणाले सम्बोधनको क्रममा मन्त्रालयका महिला अधिकृतहरुलाई हेर्दा आफूलाई खुसी लागेको समेत बताइन् ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी ६२ वर्षीय राणा तत्कालीन संविधान सभाको दुईपटक सदस्यसहित तीन पटक सांसद भइसकेकी छन् । आफ्ना श्रीमान् ५ पटक प्रधानमन्त्री भएपनि राणा भने पहिलोपटक मन्त्री भएकी हुन् । राणा प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी र प्राकृतिक स्रोत समितिकी सभापति थिइन् ।

उनले संविधान निर्माणका दौरानमा महिला अधिकार, प्रजनन् अधिकार, नागरिकता र सम्पत्तिमा बराबर हकको अधिकार, महिलाविरुद्धको हिंसा अभियान, राजनीतिमा महिलाको प्रतिनिधित्व लगायत विषयमा काम गरेकी छन् । साथै, राणा संविधान लेखकका दौरान महिला संसदीय संयोजन समितिकी संयोजक समेत थिइन् । उनी लैंगिक समानता, सामाजिक कार्य र महिला तथा बालबालिकाको लागि नेपालमा विभिन्न गैरसरकारी संस्थासँग सम्बन्धि रहेर काम गरिसकेकी छन् ।

राणाको पहिचान नेपाली कांग्रेसको नेतृभन्दा पनि देउवा पत्नीकै रुपमा बढी चर्चामा हुन्थ्यो । तर यो पटक संसदीय निर्वाचनपछि कांग्रेसबाट समानुपातिकमा परेकी राणाले आफूलाई अलि फरक रुपमा प्रस्तुत गरिन् । उनी समितिको सभापति पनि भइन् । र, अहिले एमालेसँगको गठबन्धनमा परराष्ट्रमन्त्री बनिन् ।

राणाले मन्त्रालयमा सपथग्रहणपछि परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताइन् । उनले इतिहासै पहिलो ठूलो जिम्मेवारी भएकोले यसलाई सही सदुपयोग गर्ने उल्लेख गरिन् । उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् । देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य हुने उल्लेख गर्दै नवनियुक्त मन्त्री राणाले दौत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने प्रस्ट पारिन् ।

उनले भनिन्,‘यो इतिहासकै एउटा महत्वपूर्ण जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरुको बीचमा छौं । हाम्रो पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पिढींका लागि कायम राख्नुपर्छ ।’ राणाले नेपालको परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरुको एउटै दृष्टिकोण रहेको पनि बताइन् । उनले नेपालले पञ्चशीलमा विश्वास गर्ने बताए ।

‘अहिलेको राजनीति पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । योभन्दा पहिला पनि यस्ता अफ्ठ्यारा भएका थिए । त्यो बेलामा पनि देशले राम्रोसँग मिलेर काम गरेको थियो,’ उनले भनिन्,‘अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ । विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौं । यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।’

परराष्ट्रमन्त्री राणाले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फर्काउनको लागि आफूले पहल गर्ने पनि बताइन् । उनले भनिन्,‘रुसी, युक्रेनी सेनामा गएर भर्ती भएका नेपालीहरुलाई यस अघिको सरकारले पनि फर्काउन पहल गरेको थियो । यो सरकारले पनि नेपालीहरुलाई फर्काउनको लागि पहल गर्छ ।’ उनले प्यालेस्टिनी विद्रोही समूह हमासद्धारा कब्जामा रहेका र बेपत्ता भएका विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताइन् ।

परराष्ट्रमन्त्री राणाले सीमा समस्या तथ्य र प्रमाणका आधारमा समाधान हुने पनि बताइन् । उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने उल्लेख गर्दै पहिलोभन्दा बढी सूचना भएको तथा जीआईएस (जियोग्राफिक इन्फर्मेसन (सिस्टम) र स्याटेलाइट दृष्य उपलब्ध भएको बताइन् । भारतसँगको सीमा सम्बन्ध कसरी समाधान हुन्छ भन्ने बारे सोधिएको प्रश्नमा राणाले भनिन्,‘भूगोल, इतिहास र जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) नक्साका आधारमा समस्या समाधान गर्न सकिन्छ । म जादु र चटकमा विश्वास गर्दिन । भूराजनीतिक विषय जटिल हुन्छ ।’

राणाले भने जस्तै अहिले विश्वमा भूराजनीतिक जटिलता छ । त्यसमा नेपालले आफ्ना दुई छिमेकी भारत र चीन तथा अन्य अमेरिका लगायतका शक्ति राष्ट्रहरुसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई राष्ट्रिय स्वार्थ र हितमा प्रयोग गर्ने गरि अघि बढाउनु पर्ने चुनौति राणासामु छ ।

पूर्वप्रधानमन्त्रीको पत्नीको रुपमा ‘फस्ट लेडी’ जस्तै भूमिका ५ पटक निर्वाह गरेकी राणा पहिलोपटक आफूले नै नेतृत्व गर्ने गरि मन्त्रालय सम्हालेकी हुन् । प्रधानमन्त्री पत्नीको रुपमा उनको भूमिकालाई लिएर राम्रो र नराम्रो दुवै चर्चा हुने गरेको थियो । तर यसपटक आफैंले नेतृत्व गर्ने गरि परराष्ट्रमा आएकी राणाले कस्तो भूमिका निर्वाह गर्छिन् भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रकाशित : असार ३१, २०८१ २१:५४
x
×