कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

जलवायु परिवर्तनको असर भयावह : जलवायु विज्ञ ठकुरी

भाद्र २५, २०७९
जलवायु परिवर्तनको असर भयावह : जलवायु विज्ञ ठकुरी

काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन एवं जलवायु विज्ञ सुदीप ठकुरीले प्रत्येक एक दशकमा नेपालमा ०.४ डिग्रीका दरले तापक्रम बढिहरहेको भन्दै यसको असर भयावह रुपमा देखिएको बताएका छन् ।

तेस्रो कान्तिपुर कन्क्लेभको पहिलो सत्र 'जलवायु परिवर्तनको सामना' मा बोल्दै जलवायु विज्ञ ठकुरीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर भयावह स्थितिमा पुग्ने सम्भावना देखिएको बताएका हुन् ।

उनले विश्वमा १.५ डिग्री तापक्रम बढ्दा हिमाली क्षेत्रलाई अन्य देशको तुलनामा धेरै नै असर गर्ने बताए । अहिलेकै रफ्तारमा तापक्रम बढ्ने हो भने सन् २०६० को दशकमा हिमालबाट दुई तिहाइ हिमनदी सुक्ने बताएका हुन् । उनले भने, 'हिमाली क्षेत्रको को भू-बनावट विशिष्ट किसिमको छ । अन्य क्षेत्रमा सानो डिग्रीले तापक्रम बढ्दा पनि हिमालको हकमा त्यो धेरै नै बढेको हुन्छ ।'

पछिल्लो समय हिमाली क्षेत्रमा पर्ने वर्षाको दर घट्दो अवस्थामा रहेको उल्लेख गर्दै वर्षायाममा नहुने र एकै पटक धेरै नै वर्षा हुने किसिमका घटनाहरू बढ्नु चिन्ताजनक भएको बताए ।

यसैगरी ठकुरीले हरेक क्रियाको प्रतिक्रिया हुने बताउँदै भने, 'खनिज इन्धनको प्रयोगले धेरै नै उत्सर्जन गरेपछि हामी विद्युत्‌ उत्पादनमा केन्द्रित भयौं । विद्युत् उत्पादन गर्दा पनि हरित गृह प्रभाव बढाउँछ तर खनिज इन्धनभन्दा ६० गुणा कम हुन्छ ।'

लिथियम ब्याट्रीको उत्पादन र प्रयोग गर्दा त्यसले हरित गृह ग्यास उत्सर्जनमा पार्ने प्रभावको विषयमा सोधिएको प्रश्नमा ठकुरीले खनिज इन्धनभन्दा कम उत्सर्जन गर्ने भएकाले प्रयोगमा जोड दिइएको बताए ।

प्रकाशित : भाद्र २५, २०७९ १२:४४
×