कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

इन्द्रजात्रालाई महानगरभित्र मात्रै नभएर विश्वव्यापी बनाउने छौं : मेयर शाह

भाद्र २२, २०७९
इन्द्रजात्रालाई महानगरभित्र मात्रै नभएर विश्वव्यापी बनाउने छौं : मेयर शाह

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताएका छन् । यस क्रममा उनले काठमाडौंमा नेवार समुदायको प्रसिद्ध पर्व इन्द्रजात्रालाई विश्वव्यापी रुपमा फैलाउने बताएका छन् ।

मेयर शाहले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्न मात्र सीमित नभइ मनोरञ्जन, उत्साह र उमंगसँग जोडिएको बताए । साथै काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको भन्दै सबै पर्वहरूलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने उनको भनाइ थियो ।

नेपालमा भएका सम्पदाहरू संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने उनको बताए ।

इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर शाहले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘महानगरले इन्द्रजात्रालाई काठमाडौं महानगरपालिकाभित्र मात्रै नभएर नेपालभर र विश्वमा समेत फैलाउने उद्देश्य रहेको छ । देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदा हुन् । नेपाल पर्यटनमा धेरै अगाडि बढ्नसक्ने देश हो । नेपालमा भएका सम्पदा संरक्षण गर्नसक्यौं भने मात्रै पनि पर्यटन क्षेत्रको राम्रो विकास गर्न सक्छौं । नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा र परम्परा पर्वहरू आफैँमा पूजा गर्ने मात्रै नभएर मनोरञ्जन, उत्साह र उमंग,खुसीसँग पनि जोडिएको हुनाले संरक्षण गर्नुपर्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको छ । सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्छ ।’

यसैबीच काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएकी थिइन् । उनले इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो गरिसकेको भन्दै अतिथिहरू बिहीबारबाट काठमाडौं आउन थाल्ने जानकारी दिइन् ।

उपप्रमुख डंगोलले इन्द्रजात्राको महत्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रुपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताइन् ।

प्रकाशित : भाद्र २२, २०७९ १४:०२
×