कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

भाद्र २१, २०७९
राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

काठमाडौँ — राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । 

बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए । उनले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दीहरु रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताए ।

उनले जन्मकैदको सजाय, तेजाब आक्रमण , जबर्जस्ती करणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागूऔषधको ओसारपसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायतका २० वटाभन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पारे ।

‘आचरण र व्यवहार सुधारेका बन्दीहरुलाई ५० प्रतिशत उनीहरुले कैद भुक्तान गरिसकेपछि उनीहरुलाई कैद मिनाहा गर्ने अवसर मिलोस् नै भन्नेमा हामीहरु छौँ । प्रत्येक जेलमा त्यो जेलको संरचनाभन्दा बढी बन्दी छन् । त्यसकारणले आचरण सुधारेकालाई छोड्न पायो भने अलि त्यहाँ सहज हुन्थ्यो कि भन्ने त्यहाँभित्र पनि छ । बाहिर हाम्रो मानसिकतामा पनि छ । तर यो कैद कट्टी गर्ने बारेमा बन्दीहरुले कैद कट्टीको लागि बन्दीहरुले प्रयत्न गर्नु त स्वभाविकै हो । तर नकारात्मक सूची छ । नकारात्मक सूचीमा परेकाहरुलाई गर्नै मिल्दैन । सायद तिनीहरुलाई थाहा छैन कि । २० वटा भन्दा बढी मुद्दामा कैद मिनाहा गर्नै मिल्दैन,’ गृहमन्त्री खाँणले भने ।

त्यसैगरी बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रिय सभाको आगामी बैठक भदौ २६ गते आइतबार दिउँसो १२:५९ बजे बस्नेगरी बोलाइएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ १५:११
×