कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

प्रधानमन्त्री देउवाले भने– म त ओलीजीले संसद् विघटन गर्दा खेरि नै चुनावको पक्षमा थिएँ

चैत्र १२, २०७८
प्रधानमन्त्री देउवाले भने– म त ओलीजीले संसद् विघटन गर्दा खेरि नै चुनावको पक्षमा थिएँ

काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दाको बखत् नै आफू चुनावमा जान चाहेको खुलाएका छन् । गत वर्ष तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्दा कांग्रेसभित्रै त्यसको प्रतिरोधको आवाज उठे पनि देउवाले अनौपचारिकरुपमा चुनावमा जानु उपयुक्त हुने धारणा राखेका थिए ।

शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले आफू त्यसबेलै चुनावमा जान चाहेको प्रस्ट पारेका हुन् ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीमा मतभेद भएको भन्दै कांग्रेसले अहिले गठबन्धन नगरे एमाले र माओवादी केन्द्रबीच फेरि गठबन्धन हुने सक्ने खतरा रहेको बताए । ‘पहिले एमाले–माओवादी केन्द्रबीच गठबन्धन भयो, धेरै साथीहरूले चुनाव हार्नुभयो, सबै साथीहरूले हार्दा म नै बद्नाम भएँ,’ देउवाले अघि भने, ‘अहिले सबै साथीहरूलाई जिताउनका लागि गठबन्धन गर्न चाहेको हुँ । त्यो मेरो दायित्व हो, यसमा मैले के बिगारेको छु र ?’

प्रधानमन्त्री देउवाले अहिले एमाले र माओवादी फुटेका छन् भने चुनावमा एक्लै भिड्न सकिन्छ भनेर बुझ्नु जोखिमपूर्ण हुने संकेत गरे । ‘कम्युनिष्ट फुटे, हामी जितिहाल्छौँ भन्ने सोच्नुभएको होला, उनीहरू फेरि मिले भने के गर्ने ? त्यसैले मैले त ओलीजीले संसद विघटन गरेकै बेला चुनावमा जाऔँ भनेकै थिएँ, म त चुनावकै पक्षमा थिएँ,’ त्यसबेला गठबन्धन नगरी जित्न सकिन्थ्यो भन्ने भावमा प्रधानमन्त्री देउवाले भने ।

प्रकाशित : चैत्र १२, २०७८ १७:४९
×