कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अक्सिजन पाउनै मुस्किल

वैशाख १७, २०७८
अक्सिजन पाउनै मुस्किल

दाङ — घोराही उपमहानगरपालिका–१५ का ६२ वर्षीय टुर्नबहादुर बस्नेतलाई कोरोना संक्रमण भएपछि अक्सिजनको मात्रा बिस्तारै घट्न थाल्यो । उनी वैशाख १ गते कोरोना विशेष अस्पताल बेलझुन्डीमा भर्ना भए ।

अस्पतालमा नियमित अक्सिजन चढाउँदा चढाउँदै पनि उनको १० गते राति मृत्यु भयो । उनका छोरा राजीव बस्नेतलाई गम्भीर बिरामी परेपछि बुबाको मृत्यु हुनुभन्दा एक दिनअघि काठमाडौं लगियो । उनको पनि अक्सिजन चढाएर उपचार गरिँदै थिए । उनले किरिया बस्न पनि पाएनन् ।

घोराही–१७ बेलभारका ४१ वर्षीय दामोदर अधिकारी चैत २७ मा कोरोना संक्रमित भए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक साता उपचार गर्दा पनि अक्सिजनको मात्रा मिलेन । त्यसपछि उनलाई हेलिकप्टरमा काठमाडौं लगियो । उनको काठमाडौंमै उपचारका क्रममा मृत्यु भयो । अक्सिजनको मात्रा घट्दै गएपछि बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं लगियो । सुरुमा ५ लाख रुपैयाँ जम्मा गरेर मात्रै हेलिकप्टर आउँछ ।

ज्यान बचाउन हेलिकप्टरबाट काठमाडौं लैजाने क्रम चलिरहेको छ । कोरोना विशेष अस्पतालमा सोमबार तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको मृत्यु भयो । आइतबार घोराही उपमहानगरपालिका–१५ का ५७ वर्षीय पुरुषको ज्यान गयो । जिल्लामा दिनहुँजसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।

कोरोना विशेष अस्पतालमा भर्ना भएकामध्ये हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । उनीहरूको अक्सिजन चढाएर उपचार गर्दागर्दै मृत्यु भएको हो । अस्पतालमा अहिले ५ आईसीयू र ३७ एचडीयू शय्यामा ४२ जनाको उपचार भइरहेको व्यवस्थापक दोर्ण वलीले बताए । अस्पतालमा भर्ना भएका सबैलाई अक्सिजन दिनुपरेको उनले बताए । दिनमा १ सय २० सिलिन्डर अक्सिजन खपत भइरहेको र अक्सिजन पाउन कठिन हुन थालेको उनले बताए । अक्सिजनको मात्रा कम भएकै कारण थप बिरामीलाई भर्ना गर्न नसकिएको उनले बताए । ‘अक्सिजन चाहिने बिरामी राखिदिनुपर्‍यो भनेर दिनमा २० जनासम्मको फोन आइरहेको छ । हामीसँग थप बिरामी राख्न सक्ने गरी अक्सिजन छैन,’ वलीले भने, ‘एकछिन अक्सिजन अभाव भयो भने बिरामीको ज्यान जान्छ । दिनदिनै नेपालगन्जबाट भरेर अक्सिजन ल्याउने गरेका छौं । एक घण्टा मात्रै बाटोमा गाडीले ढिला गरे बिरामीको ज्यान जान सक्छ ।’

अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा उपचारमा समस्या भइरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् । ‘अक्सिजन प्लान्ट जडान भएको छैन । सिलिन्डरको अक्सिजन पाउन गाह्रो भएको छ,’ उनले भनिन्, ‘पीसीआर परीक्षण गरेका ७० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । अधिकांश अक्सिजन चाहिने खालका छन् । हामीसँग पर्याप्त अक्सिजन छैन ।’

कोरोना संक्रमण र मृत्युदर उच्च रहेकाले समस्या बढ्दै गएको उनले बताइन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार घोराहीमा बसेको बैठकले बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा एचडीयू स्तरका ४२ शय्यालाई बढाएर ६५ बनाउने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एचडीयू स्तरका २७ शय्यालाई बढाएर १ सय पुर्‍याउने र गाउँपालिकाले कम्तीमा २० तथा उपमहानगर र नगरपालिकाले ४० शय्याका अक्सिजनसहितका आइसोलेसन सेन्टर तयार गर्ने निर्णय गरेको छ । आइसोलेसन बनाउन खोजे पनि अक्सिजन अभाव भएकाले अस्पताल सञ्चालन गर्न कठिन भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए ।

बजारमा सिलिन्डरको अभाव भएपछि अटो व्यवसायीसँग भएका सिलिन्डर खाली गरी तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्न थालेको अटोभिलेज व्यवस्थापन समिति तुलसीपुरका अध्यक्ष पदम पोख्रेलले बताए । कतिपयले सिलिन्डर किनेर घरमा राख्न थालेका छन् तर बिरामी परे घरमा राखेको एउटा सिलिन्डरले एक दिन पनि पुग्दैन । दिनमा एक बिरामीलाई कम्तीमा तीनवटा सिलिन्डर आवश्यक पर्ने गरेको कोरोना विशेष अस्पताल बेलझुन्डीका डा. कमल खड्काले बताए ।

प्रकाशित : वैशाख १७, २०७८ १०:५०
×