कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

कान्तिपुरकर्मी थापालाई गोतामे पत्रकारिता स्वर्ण पदक

फाल्गुन २, २०७७
कान्तिपुरकर्मी थापालाई गोतामे पत्रकारिता स्वर्ण पदक

वीरगन्ज — कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्युरो संयोजक चित्रांग थापा गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जद्वारा आइतबार आयोजित कार्यक्रममा थापालाई एक तोला सुनबराबरको स्वर्ण पदक प्रदान गरिएको हो ।

तीन दशकदेखि मोफसलमा बसेर सामुदायिक पत्रकारितामार्फत सुदूरपश्चिमका समाचारलाई केन्द्रसम्म पुर्‍याउन योगदान पुर्‍याएबापत थापालाई स्वर्ण पदकबाट सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

२०६८ सालमा स्थापित प्रतिष्ठानले पहिलो वर्ष मकवानपुरका पत्रकार प्रताप विष्टलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । प्रतिष्ठानले १० हजार रुपैयाँबाट सुरु गरेको पुरस्कार १५ हजार, आधा तोला सुन हुँदै पछिल्लो ३ वर्षयता एक तोला सुनबराबरको स्वर्ण पदकसम्म पुर्‍याइएको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जगदीश शर्मा, स्व.गोपालचन्द्र गौतमकी पत्नी सुधा गौतम, वरिष्ठ उद्योगपति मुरलीधर रुंगटाले थापालाई स्वर्ण पदक प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले मोफसलमा बसेर पत्रकारिता गरेका स्व. गोपालचन्द्र गौतम देशभर प्रख्यात रहेको सुनाए ।

प्रकाशित : फाल्गुन २, २०७७ १३:०५
×