खोप भित्रिँदा खाडीका नेपाली उत्साहित

कोरोनाविरूद्धको खोप दिँदा स्वदेशी नागरिक र आप्रवासी श्रमिक भनेर छुट्याइएको छैन

पुस २३, २०७७

होम कार्की

काठमाडौँ — झन्डै ९ लाख नेपाली श्रमिक रहेको कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको छ ।कतारले पहिलो चरणमा डिसेम्बर २२ बाट खोप लगाउन सुरु गरेको हो । उसले अहिले ११ वटा स्वास्थ्य केन्द्रबाट प्राथमिकतामा परेकालाई खोप लगाउन थालेको छ ।

‘६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, क्रोनिक रोगी र पटकपटक कोरोनाबाट संक्रमित भएका स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कान्तिपुरसँग भने, ‘यसरी प्राथमिकता छुटाउँदा स्वदेशी र विदेशी भनिएको छैन । जस्तै– मुटुरोगी भएको नेपालीलाई खोप लगाउने अवसर प्राप्त भइसकेको छ ।’

कतारमा लक्षित समूहमध्ये १० प्रतिशतलाई खोप लगाइसकिएको छ । ‘कोरोनालाई नियन्त्रण गर्न कुल जनसंख्याको ७०–८० प्रतिशतलाई खोप दिन जरुरी देखेका छौं,’ हमाद अस्पतालका निर्देशक डा. युसेफ अल मासलमनीले स्थानीय टीभीमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘खोप लगाउने विषय व्यक्तिगत रुचिको विषय होइन । सबैको हितका लागि गरिएको सार्वजनिक निर्णय हो ।’ कतारको कुल जनसंख्याको १२.५ प्रतिशत नेपाली श्रमिक छन् । कतारमा मात्रै कोरोनाबाट कम्तीमा ३० हजार नेपाली संक्रमित भएको अनुमान गरिएको छ ।

झन्डै दुई लाख नेपाली रहेको यूएईले आप्रवासीसहित आफ्ना नागरिकलाई खोप लगाउन थालिसकेको छ । खोपले मान्यता नपाउनु अगाडि नै यूएईमा कार्यरत सयौं नेपालीले परीक्षणका रूपमा खोप लगाएका थिए । खोप लगाउन इच्छुकलाई नाम दर्ताका लागि आह्वान गरिएको छ । 

तीन लाख नेपाली कार्यरत साउदी अरबले डिसेम्बर १७ देखि नै खोप लगाउन थालेको हो । खोप लगाउन अनलाइनबाट नेपालीसहित एक लाख ५० हजार जनाले नाम दर्ता गरिसकेका छन् । खाडी क्षेत्रमा बहराइनपछि खोप भित्र्याउने साउदी हो । साउदीले प्राथमिकतामा परेको स्वदेशी र विदेशीलाई पहिलो दिनमै खोप लगाएको अरब न्युजले जनाएको छ । पहिलो चरणमा ६५ वर्षमाथिलाई प्राथमिकतामा राखेको साउदीले दोस्रो चरणमा ५० वर्षमाथिकालाई खोप दिनेछ । ‘उपचारको मामिलामा स्वदेशी र विदेशीबीच कुनै भेदभाव गरिएको पाइएन । कोरोनाको उच्च संक्रमण रहेका बेला पनि साउदी सरकारले त्यो भूमिका निर्वाह गर्‍यो,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘खोप लगाउने विषयमा पनि विभेद हुँदैन र सबैले आवश्यकताअनुसार पाउनेछन् भन्नेमा आशावादी छु ।’ 

गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षत्रीले खाडी क्षेत्रमा खोपको अभियानले श्रमिक वर्गलाई आफ्नो कामलाई निरन्तरता दिनेमा हौसला मिलेको बताए । ‘बरु आफ्नो देशमा कहिले पाउने हो वा नपाउने भन्नेमा विश्वस्त छैन । यहाँ त खोप नै आइसक्यो,’ उनले भने, ‘यसले हामीलाई आफ्नो कार्यथलो थप सुरक्षित भएको आभास मिलेको छ ।’

कोरोना भाइरस

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully