कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

अन्तर्राष्ट्रिय उडानमा भदौ १६ देखिको तालिका निस्कियो

भाद्र ९, २०७७
अन्तर्राष्ट्रिय उडानमा भदौ १६ देखिको तालिका निस्कियो

Highlights

  • ६० वटा नियमित उडान हुँदै

काठमाडौँ — कोभिड–१९ को माहामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडानको रोक भदौ १६ देखि खुला गर्ने सरकारको बिहीबारको निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना (सेप्टेम्बर )को उडान तालिका जारी गरेको छ ।

मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।

मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।

यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेकाले यो तालिका हेरफेर हुन सक्ने मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयले मंगलबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्ने छन् ।

त्यसैगरी मन्त्रालयले नियमित तथा चार्टर उडानबाट नेपालमा भएका सबै दूतावासका कर्मचारी, संयुक्त राष्ट्र संघका १८ वटा एजेन्सी र नेपालमा काम गरिरहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि आउन दिन भनेको छ ।


प्रकाशित : भाद्र ९, २०७७ २१:०२
×