कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

अस्ट्रेलियाबाट ११, कुवेतबाट ३०० जना आउँदै

जेष्ठ २७, २०७७
अस्ट्रेलियाबाट ११, कुवेतबाट ३०० जना आउँदै

काठमाडौँ — अस्ट्रेलियाबाट मंगलबार राति ११ जना नेपाली स्वदेश आउँदै छन् । चार्टर गरेर आइतबार अस्ट्रेलिया लगिएको नेपाल एयरलाइन्सको जहाज फर्कने बेलामा उनीहरूलाई ल्याउन लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) स्रोतका अनुसार विमानमा आउने सबैले आफ्नो आफैं खर्च व्यहोर्ने छन् ।

यसैगरी कुवेतबाट बुधबार तीन सय जना नेपाली आउँदै छन् । दुईवटा जहाजमा एक सय ५० जनाका दरले ल्याउन लागिएको हो । सीसीएमसी स्रोतका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् । यस्तै, दोस्रो जहाजमा प्रदेश १ का ५७, प्रदेश २ का एक जना, वाग्मती प्रदेशको २६, गण्डकीमा ९ जना, प्रदेश ५ का ४५, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशका दुई जना रहने छन् ।

गैरकानुनी हैसियतमा बसेका कामदारहरूलाई कुवेतमा क्याम्प राखिएको छ । त्यस्तालाई ल्याउन लागिएको हो । सीसीएमसीका अनुसार बिहीबार यूएईबाट दुई जहाजमा नेपालीहरू आउने छन् । कति संख्या आउने ल्याउने भन्नेबारे गृहकार्य भइरहेको छ ।

सरकारले यसअघि जेठ २३ मा म्यानमारबाट २६ जना र यूएईबाट एक सय ६९ जना नेपालीलाई उद्धार गरेको जनाएको थियो । तर, एयर अरेबियाले शुल्क असुलेर ल्याउँदा सरकारी सूची नै गडबड देखिएको थियो । विदेशबाट नेपाली नागरिकहरूलाई उद्धार गर्दा नेपाल एयरलाइन्स नै प्रयोग गर्नुपर्ने पर्यटनमन्त्री योगेश भट्टराईले लबिइङ गर्दै आए पनि मन्त्रालयले आधिकारिक रूपमा अहिलेसम्म कुनै निर्णय भने गरेको छैन । अहिले विभिन्न देश र निजी कम्पनीका एयरलाइन्सले पनि नेपालीहरूलाई काठमाडौंमा ल्याउन पाउने व्यवस्था गरिएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार सीसीएमसीलाई पठाएको सूचीमा भारतबाहेक ३३ मुलुकका २४ हजार एक सय ४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेमा छन् । परराष्ट्र मन्त्रालयले आफ्ना कूटनीतिक नियोगबाट आएको सूचीलाई सीसीएमसीमा पठाएको जानकारी दिएको थियो ।

अमेरिकाबाट ६ सय ४६, बेलायतबाट ४९, क्यानडाबाट ७८, साउदी अरबबाट ३३ सय १२, यूएईबाट चार सय १०, बहराइनबाट तीन सय ७२, इजरायलबाट ३९, युगान्डाबाट एक सय ६१, नाइजेरियाबाट ९७, दक्षिण सुडानबाट ३१, मोरक्कोबाट ६३, कतारबाट ३६ सय आठ, मलेसियाबाट ६४ सय २५, थाइल्यान्डबाट तीन सय ५७, सिंगापुरबाट ६१, कम्बोडियाबाट ४१, भियतनामबाट चार, लाओसबाट दुई, जापानबाट नौ सय १६, दक्षिण कोरियाबाट दुई सय ८२, बंगलादेशबाट एक सय ८०, श्रीलंकाबाट ३६, पाकिस्तानबाट एक सय २५, साइप्रसबाट चार सय ७१, ओमानबाट ६ सय ५६, कुवेतबाट २९ सय ९१, माल्दिभ्सबाट सात सय २४, अस्ट्रेलियाबाट १३ सय तथा डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डबाट ७६ जना उद्धार गर्नुपर्ने सूचीमा छन् ।

प्रकाशित : जेष्ठ २७, २०७७ २१:३१
x
×