विदेशबाट फर्किएकालाई राख्‍न उपत्यकामा होल्डिङ सेन्टर र क्वारेन्टाइन तयार

विदेशबाट फर्किएकालाई राख्न काठमाडौं, भक्तपुर र ललितपुरका ९ वटा पार्टी प्यालेसलाई होल्डिङ सेन्टर र १७ सय मानिस बस्न मिल्ने गरी ४ वटा सार्वजनिक तथा निजी संरचनालाई कोरोना डेडिकेटेड क्वारेन्टाइन बनाइएको छ ।

जेष्ठ २२, २०७७

मातृका दाहाल

काठमाडौँ — सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका ९ वटा पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको हो ।

यस्तै, १ हजार ७ सय मानिस बस्न मिल्ने गरी ४ वटा सार्वजनिक तथा निजी संरचनालाई कोरोना डेडिकेटेड क्वारेन्टाइन बनाइएको छ ।

होल्डिङ सेन्टरका लागि काठमाडौंमा ४, ललितपुरमा ३ र भक्तपुरमा २ वटा पार्टी प्यालेस भाडामा लिइएको छ । विदेशबाट ल्याइएकालाई विमानस्थलस्थित अध्यागमन र त्यहींको हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण गरेर होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टर र क्वारेन्टाइनको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । होल्डिङ सेन्टरबाट मानिसलाई स्थायी ठेगाना भएका स्थानीय तहसम्म पुर्‍याउन पनि सेनालाई नै सवारी व्यवस्थापनको जिम्मा दिइएको छ । क्वारेन्टाइन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरूको संयुक्त बैठक बसेको थियो ।

सरकारले शुक्रबारदेखि विदेशबाट चार्टर्ड उडान गरेर नेपालीलाई स्वदेश ल्याउने तालिका तय गरेको छ । दैनिक २ हजार ५ सयका दरले २५ हजार यात्रु विदेशबाट भित्र्याउने गरी आवश्यक व्यवस्थापन भइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) उच्च स्रोतले बतायो । विदेशबाट ल्याइएका मानिसलाई स्थायी ठेगानाअनुसार प्रदेशगत रूपमा विभाजन गरी विमानस्थलबाट सीधै होल्डिङ सेन्टरमा राख्ने र त्यहींबाट सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित जिल्ला हुँदै स्थानीय तहका क्वारेन्टाइनमा पठाइनेछ ।

भक्तपुर प्रशासनले प्रदेश १ र २, काठमाडौं प्रशासनले वाग्मती, गण्डकी र प्रदेश ५ तथा ललितपुर प्रशासनले कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसलाई होल्डिङ सेन्टर पुर्‍याउन र त्यहाँबाट सम्बन्धित स्थानीय तहसम्म पठाउने व्यवस्था मिलाउनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले विदेशबाट आउने मानिसले शुल्क तिरेर होटलमा बस्न चाहेमा त्यसको पनि व्यवस्थापन गरिने र छिट्टै होटलको टुंगो लगाइने बताए । जेठ १२ र १७ मा बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित विदेशबाट ल्याइने मानिसको व्यवस्थापनसम्बन्धी आदेश–२०७७ पारित गर्दै सोहीअनुसार क्वारेन्टाइनसहितको पूर्वाधार व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरूलाई जानकारी दिएको थियो । जसअनुसार क्वारेन्टाइन र होल्डिङ सेन्टर सहरी  विकास मन्त्रालयको संयोजनमा तयार पारिएको हो ।

होल्डिङ सेन्टर 

डेडिकेटेड क्वारेन्टाइन र क्षमता 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully