कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कोभिड-१९ बारे आकलन रिपोर्ट तयार पार्दै परराष्ट्र

वैशाख १३, २०७७
कोभिड-१९ बारे आकलन रिपोर्ट तयार पार्दै परराष्ट्र

Highlights

  • रिपोर्ट निर्माण गर्दा मन्त्रालयले नेपाली श्रमिकहरु काम गर्ने मुलुकलाई उच्च प्राथमिकतामा राखेको छ 

काठमाडौँ — विदेशमा रहेका नेपाली श्रमिकहरुलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयले कोभिड–१९ आकलन रिपोर्ट तयार गर्न थालेको छ । नेपाली नागरिक रहेका विदेशी मुलुकहरुमा कोरोना भाइरसको अवस्था, सम्बन्धित मुलुकमा भइरहेको काम, नेपाल सरकारले गरिरहेको कूटनीतिक नियोगहरुबाट गरिरहेको पहल र कोरोना भाइरस संक्रमण सकिएपछि भविष्यमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर राख्दै उक्त रिपोर्ट तयार गर्न लागिएको हो । 

सम्पूर्ण नेपाली नागरिकहरु बसोबास गर्दै आएका मुलुकका बारेमा चासो दिँदै आकलन रिपोर्ट तयार गरिने भए पनि उच्च प्राथमिकता भने नेपाली श्रमिकहरु रहेका खाडी मुलुक र मलेसियालाई दिइने परराष्ट्रले जनाएको छ ।

५ खाडी मुलुक र मलेसियामा गरी करिब १४ लाख नेपाली श्रमिकहरु कार्यरत छन् । कोरोना भाइरसको प्रकोपका कारण ती मुलुकहरुको पनि अर्थतन्त्र कमजोर हुने भएपछि आउन सक्ने सम्भावित समस्याहरुलाई मध्यनजर राखेर आकलन रिर्पोट तयार पार्न लागिएको हो ।

यूएईमा २ लाख ५० हजार, साउदी अरेबियामा ३ लाख ५० हजार, बहराइनमा ३० हजार, कुवेतमा ८० हजार, कतारमा ३ लाख ५१ हजार र ओमानमा १५ हजार नेपाली श्रमिक कार्यरत छन् । यस्तै, मलेसियामा ३ लाख २५ हजार नेपाली श्रमिक कार्यरत छन् ।

परराष्ट्रले आकलन रिपोर्ट तयारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पनि छलफल गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार श्रमिक भएका मुलुकहरुपछि मन्त्रालयले नेपाली विद्यार्थी भएका मुलुकहरुलाई प्राथमिकतामा राखेको छ । नेपाली विद्यार्थी बढी भएका मुलुकहरुमा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, जापान, साइप्रस, बेलायत, जर्मनी, फ्रान्स, बंगलादेश, थाइल्यान्ड, सिंगापुरलगायत पर्छन् ।

मन्त्रालयले उक्त आकलन रिपोर्ट विदेशमा रहेका नेपाली नियोगहरुको सहयोगमा निर्माण गर्न लागेको हो । विश्वका विभिन्न देशमा नेपालका ३० राजदूतावास, तीन संयुक्त राष्ट्र संघीय स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । ‘हामीले हाम्रा नियोगहरुसँग छलफलका आधारमा यो रिपोर्ट तयार गरिरहेका छौं,’ प्रवक्ता पौड्यालले भने ।

मन्त्रालयले यसअघि नै आफ्ना कूटनीतिक नियोगहरुलाई दैनिक रुपमा सम्बन्धित महाशाखामा रिपोर्ट पठाउनका लागि पनि निर्देशन दिएको थियो । त्यहीअनुसार मन्त्रालयमा दैनिक रुपमा रिपोर्ट आउने गरेका छन् । योसँगै मन्त्रालयले आकलन रिपोर्टका लागि आ–आफ्ना मुलुकको बारेमा पनि जानकारी दिन भनेको थियो । त्यहीअनुसार सम्बन्धित मुलुकका राजदूत तथा नियोग प्रमुखहरुले मन्त्रालयलाई जानकारी दिएका छन् ।

दुई दिनअघि खाडीमा रहेका नेपाली राजदूतहरुले भिडियो कन्फरेन्समार्फत त्यहाँको अहिलेको अवस्था र भविष्यको लक्ष्यको बारेमा छलफल गरेका थिए । उक्त छलफलमा सहभागी ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले नेपाली श्रमिकहरुको हकहित र सुरक्षाको विषयमा कुरा भएको बताइन् ।

खाडी मुलुकहरुमा अहिले कम्पनीसँग आफ्नो कन्ट्रयाक्ट सकिएका, घुम्न आएका र आममाफी पाएका नेपाली नागरिकहरु अलपत्र परेको उनले बताइन् । कोरोना भाइरसको संक्रमण रोकिएपछि सबै एकै पटक सबै यात्रा गर्ने तयारीमा हुने भएकाले त्यो बेला आउन सक्ने समस्याको समाधान गर्नु पर्ने चुनौती रहेको राजदूत पराजुलीले बताइन् ।

मन्त्रालयका प्रवक्ता पौड्यालले कोरोना भाइरस नियन्त्रण भएपछि एकैपटक जहाज खुलेपछि पर्न सक्ने आन्तरिक र बाह्य प्रभावबारे पनि आकलन रिपोर्टमा समेटिने बताए ।

आकलन रिपोर्टमा विदेशस्थित नेपाली नियोगहरुले गर्नु परिरहेको काम, त्यहाँको समस्या र समाधानका विषयमा पनि समेटिने छ । खाडी मुलुक र मलेसियामा रहेका नेपाली नियोगहरुले अहिलेको अवस्थामा चार विषयमा ध्यान केन्द्रित गरेर काम गर्नु परेको छ । पहिलो, त्यहाँ रहेका नेपाली श्रमिकहरुको संरक्षण र सुरक्षा गर्नु । दोस्रो, नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत दिने निर्णयहरुलाई कार्यान्वयन गर्ने । तेस्रो, सम्बन्धित मुलुकहरुले त्यहाको परिस्थितिअनुसार जारी गरेका निर्णयहरुलाई पालना गर्नु र नेपाली नागरिकहरुलाई त्यसको जानकारी दिनु । र, दैनिक रुपमा गर्दै आइरहेका कामलाई निरन्तरता दिनु ।

कूटनीतिज्ञ अर्जुनकान्त मैनाली परराष्ट्रले आकलन रिपोर्ट निर्माण गर्न सबैभन्दा पहिला सम्बन्धित राजदूतावासहरुबाट अनुमानित योजना माग गर्नुपर्ने बताउँछन् । ‘कोराना भाइरसले प्रभावले खाडीका मुलुकहरु र मलेसियाको अवस्था अझै नाजुक हुन सक्छ । त्यसका लागि नेपाल सरकार पहिले नै तयारी अवस्थामा रहनुपर्छ । त्यसको योजना सम्बन्धित राजदुतावासहरुलाई तत् तत देशको आंकलन रिर्पोट बनाएर पठाउन लगाउनु पर्छ । यदि राजदूतहरुले बनाएका आकलन रिर्पोट भविष्यमा गलत सावित भए कारबाही गर्नसमेत पछि पर्नु हुन्न,’ मैनालीले सुझाव दिए ।

प्रकाशित : वैशाख १३, २०७७ १०:३५
x
×