पैदलयात्रुलाई गन्तव्यतर्फ जान दिनेबारे चितवन र धादिङ प्रशासनबीच विवाद
धादिङ — भक्तपुर र बूढानीलकण्ठमा घर निर्माण गर्ने मजदुरहरू पृथ्वी राजमार्गमा अलपत्र परेका छन् । बिहीबार बिहान ३ बजे उपत्यकाबाट पैदल बर्दिया राजापुर जान हिँडेका ६ महिलासहित ४० जनाको समूह कलंकीबाट नारायणगढ जाने ट्रकमा चढेका थिए । बिहानै गल्छी पुग्नासाथ प्रहरीले ट्रकलाई काठमाडौं फर्काएको थियो ।
ट्रकमा चढेका मजदुर भने नौबिसे खानीखोलामा ओर्लिएका थिए । ट्रकमा रहेको रावल चौधरीको समूह २० किलोमिटर हिँडेर गल्छी नपुग्दै भल्टारमा हेटौंडा जाने ना. ६ ख. १६३४ नम्बरको ट्रकँसग नारायणगढसम्मको २० हजार भाडा तिर्ने सहमति भयो ।
गल्छीसम्म पैदल आउने अनि प्रहरी बिट कटेपछि ट्रकमा चढ्ने सहमति भएको थियो । उनीहरू करिब २ किलोमिटर हिँडेर गल्छीबजार कटे । तर, ट्रकको अत्तोपत्तो थिएन । चालकले मोबाइल स्वीचअफ गरेर भागे । हिँडेरै बर्दिया जान लागेको उक्त समूहलाई प्रहरीले लाठी प्रहारसमेत गरेको थियो । उनीहरू भागेर मासटार आएर बिसाए ।
लकडाउन लम्बिएपछि यतिखेर पृथ्वीराजमार्ग पोका पन्तुरा बोकेर घर जान हिँडेका यात्रुले भरिएको छ । विभिन्न उमेर समूहका भारी बोकेकाहरू पश्चिम नेपाल जान हिँडेका छन् । पैदलयात्रुलाई पानी, खाजा र खानाको भने व्यवस्था गरिएको छ । प्रहरी रहेका ठाउँमा भने दुर्व्यवहार भएको उनीहरू बताउछन् । थांक्रे महादेवबेँसीस्थित शिक्षक रामचन्द्र रुपाखेती भन्छन्, 'हामीले स्थानीयस्तरमा सहयोग जुटाएर अशक्त तथा भोकले हिँडन नसक्नेहरूलाई बोलाएर खाना र खाजा दिएर पठाएका छौं ।'
यसरी पैदल यात्रा गरिरहेकामा उपत्यकाका र नुवाकोट, धादिङका ईट्टा उद्योगमा काम गर्ने मजदुर छन् । भूकम्प पछि पुनर्निर्माणको काममा वाग्मती प्रदेश आएका पश्चिम नेपालका हजारौं मजदुर यतिखेर घरजान लर्को लागेका हुन् ।
पैदलयात्रुलाई गन्तव्यमा जान दिनेबारे चितवन र धादिङबीच विवाद
काठमाडौं हुँदै पृथ्वीराजमार्गमा आएका हजारौं पैदल यात्रुलाई चितवन जिल्लाले सिमानामा रोक्दा विवाद चर्किन थालेको छ ।
हरेक दिन चितवन प्रहरीले पैदलयात्रु रोक्ने र पैदलयात्रुले विरोध स्वरुप नाराबाजी गर्दै काठमाडौं लैजान लागेका खाद्यान्ने रोक्ने क्रम जारी छ । चितवन जिल्लाले धादिङ सीमा मौवा खोलामै पैदल यात्रु र ट्रक चढेर आएका यात्रु रोकेपछि बिहीबार दिनभर तनाव भयो ।
जहाँको सास्ती सरकारले देख्दैन
लामो समयको लकडाउनका कारण घर हिँडेका विभिन्न जिल्लाका १ सय भन्दा बढी मजदुर धादिङ र चितवनको सिमाना मौवा खोलामा अलपत्र परेका थिए । काठमाडौंबाट घर हिडेँका मजदुरलाई मौवाखोलामा चितवन प्रहरीले रोकेको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका- ४ का दिलबहादुर चौधरीले आफुहरू घर बनाउने काम गर्दै आएको र लकडाउनपछि काम बन्द हुनुका साथै खानपिनको समस्या भएपछि घर जान काठमाडौंबाट हिँडेको बताए । काठमाडौंमा मजदुरी गर्ने मजदुर बस्न र खानको सकस भएपछि कोही हिँडेर त कोही ट्रकमा चढेर लुकिछिपी गन्तव्यतिर जान लागेका हुन् ।
मौवाखोलाका स्थानीयले पैदलयात्री मजदुरलाई चितवन प्रशासनले रोकेकोमा विरोध गर्दै चितवनबाट धादिङ प्रवेश गर्ने कुनै पनि सवारी साधन प्रवेश गर्न नदिएपछि स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।
पैदलयात्री मजदुरलाई अलपत्र पार्न नहुने बताउँदै चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पैदल यात्रीलाई रोक्न नहुने बताइन । काठमाडौंमा नै नरोकी बीच बाटोमा पुगेपछि रोक्नु ठीक नहुने उनको भनाइ थियो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले मजदुरलाई बसबाट ओराल्दा स्थानीय जनतामा त्रास उत्पन्न भएको बताए ।
प्रहरीसँग झडप भएपछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुखसमेतको उपस्थितिमा मौवाखोलामा बैठक बसेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले चितवन जल्ला भएर पैदलयात्रु तथा ढुवानी साधनमा यात्रु बोक्न नदिने निर्देशन जारी गरेपछि प्रहरीले थप कडाइ गरेको थियो । बिहीबार पैदलयात्रुमाथि प्रहरीले रौकामा लाठी प्रहार गर्नुका साथै लछारपछार गरेको थियो । प्रहरीले बलप्रयोग गरेपछि पैदल यात्रुले मौवा खोला सिमाना पुलमा बसेर काठमाडौं जाने खाद्यान्न बोकेका सवारी साधन रोकेका थिए । त्यसपछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी उक्त पुलमा पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीचको वार्तापछि सवारी साधनमा चढेर आएकालाई जान दिने अलिखित सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन भएन ।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीले काठमाडौं जिल्लाले नरोकेका पैदल यात्रुलाई जिल्लामा दुःख दिनुको साटो गन्तव्यमा जान दिनुपर्ने सुझाव दिएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले भने माथिको आदेश प्राप्त नभएसम्म एक जिल्लाबाट अको जिल्ला प्रवेशमा रोक लगाउनु पर्ने अडान राखेका थिए ।
रोकिएका मजदुर तथा पैदल यात्रुलाई बेनीघाट गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले खाजाको व्यवस्था गरिएको बताए । ईच्छाकमना गाउँपालिका अध्यक्ष गुरुङले पैदल यात्रुबारे संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय लिनुपर्ने सुझाव दिए ।
दुवै जिल्लाका सरकारी प्रतिनिधी बीच दिनभर छलफल भएपनि पैदलयात्रु पठाउने बारे निर्णय भएन । त्यसपछि पैदल यात्रु जबरजस्ती आफ्नो गन्तव्यमा हिँडेका थिए । पश्चिम नेपाल जाने पैदलयात्रु नारायणगढ बजार हुँदै नगएर दासढुंगा पसल तरेर गैडाकोट निस्कने गरेका छन् ।
