कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘घर हिँड्नेको ताँतीले बस्नेकाे मन रुवाउँछ’

वैशाख ४, २०७७
‘घर हिँड्नेको ताँतीले बस्नेकाे मन रुवाउँछ’

Highlights

  • कञ्चनपुरबाट मजदुरीका लागि पोखरा आइपुगेका ३ जना रासन सकिन लागेपछि चिन्तित छन्, राहतको फारम भरे पनि पाउन सकेका छैनन्, अरू साथीझैं हिँडेरै घर जाने सोचमा छन्

पोखरा — बन्दै गरेको घरको एउटा कोठामा कंक्रिटमाथि फलेक ओछ्याइएको छ । फलेकमाथि पुराना कम्बल छन् । प्लास्टिकको बोतलमा तेल सकिनै लागेको छ । चामलको बोरा रित्तिनै लागेको छ । न तरकारी छ, न मरमसला । पोखराको लेकसाइडमा ३ मजदुर दाल र भातको भरमा बाँचिरहेका छन् ।

कञ्चनपुर बाघफाँटाका टीकेन्द्र डगौरा, सुन्दरपुरका सञ्जय राना र सुरेन्द्र रानालाई अबको केही दिनपछि के खाने भन्ने पिरलो छ । ठूल्ठूला होटलको बीचमा अर्को होटल बनाउँदै गरेका यी मजदुर राहत नपाए भोकै हुनेछन् ।

पोखरा महानगरले बाँडेको राहत पाउनेमा उनीहरू परेनन् । वडा–६ को टोल विकास समितिले नाम टिप्दा उनीहरूले पनि राहत माग फारम भरे । राहत बाँड्ने बेला पाएनन् । ‘वडामा जाँदा टोल विकास संस्थाले दिन्छ भनियो,’ २२ वर्षीय टीकेन्द्रले भने, ‘टोलमा अरूले पाए, हामीले पाएनौं ।’

पोखरामा टीकेन्द्रले नै लिएर आएका हुन् सञ्जय र सुरेन्द्रलाई । उनी आफैं भने भिनाजु सन्तराम थारूसँग ६ महिनाअघि मजदुरी गर्न पोखरा आएका थिए । घर गएर दुई जनालाई पोखरा ल्याएको ५ दिनमै लकडाउन सुरु भयो । काम बन्द भयो ।

घरबाट ल्याएको अलिअलि खर्च रासनपानीमै सकियो । ठेकेदारले बन्दको कारण देखाउँदै पैसा दिएका छैनन् । वैशाख १५ सम्म लकडाउन थपिएपछि उनीहरू चिन्तित छन् । ‘बन्द खुले काम गर्न पाइन्थ्यो, खाने, बस्ने चिन्ता हुन्थेन,’ टीकेन्द्रले भने, ‘अहिले ग्यास पनि सकिन लाग्यो । चामल २–४ दिनलाई मात्रै पुग्छ ।’

घरबाट पनि पैसा पठाउन सम्भव नभएको उनीहरूले बताए । टीकेन्द्रका बुबा काम गर्न सक्दैनन् । गाउँमा अलिअलि खेतीपाती हुन्छ । ११ र १० कक्षामा पढ्ने दुई भाइलाई पढाउने जिम्मा उनकै काँधमा छ ।

६ महिना पोखरामा कमाएको पैसा भाइहरूकै पढाइमा खर्च भएको उनले सुनाए । सञ्जय र सुन्दरको परिवार पनि खेतीपातीमै निर्भर छ । सञ्जयले उता पेन्टर काम गर्थे । कहिलेकाहीँ मात्रै काम पाउँथे । सुरेन्द्र आल्मुनियम पसलमा हेल्पर थिए । उताभन्दा पोखरामा राम्रो कमाइ हुने देखेर दुवै जना टीकेन्द्रसँगै आएका थिए ।

उनीहरूका परिवारले गाडी खुलेपछि घरमै आउनु भनेका छन् । ‘गाडी खुले त यहीं काम सुरु हुन्थ्यो होला,’ सुरेन्द्रले भने, ‘साथमा पैसा छैन । मोबाइलमा रिचार्ज छैन । लोन लिएको पनि सकिन लाग्यो । अब परिवारसँग पनि कुरा गर्न पाइन्न होला ।’ घरमा दुई महिनाकी छोरी छाडेर आएका उनलाई पोखरा बसाइ निल्नु न ओकल्नु भएको छ ।

उनीहरूसँगै थिए बर्दियाका ७ मजदुर, जसले हिँडेरै घर जाने निर्णय लिए । केही कम्बल र कपडा पोको पारे । साथमा भएको ५ सय/हजार रुपैयाँ लिएर आइतबार बिहान ३ बजे बर्दियाको बाटो तताए ।

पोखरामा रहेका अरू ७ मजदुर पनि उनीहरूसँगै हिँड्न राजी भए । झन्डै डेढ सय किलोमिटर हिँडेर उनीहरू सोमबार साँझ बुटवल पुगे । सोमबार राति पश्चिमतर्फ जाने मजदुरलाई बुटवल उपमहानगरपालिकाले बसको व्यवस्था गर्‍यो ।

पोखराबाट गएका १४ र काठमाडौंबाट हिँड्दै पुगेकासहित ७० मजदुर बस चढे । कपिलवस्तुको पिपरा पुगेपछि रोकिनुपर्‍यो । सुरक्षाकर्मीले सवारी पास बनाएपछि मात्रै अगाडि जान दिने बताए ।

मजदुरले पिपराकै सडकमा रात बिताएको सन्तराम थारूले बताए । मंगलबार बिहान सवारी पास बनेपछि बर्दियातर्फ लागेको उनले फोनमा भने । ‘साथमा भएको पैसा पनि सकियो, राहत पनि कतै पाइएनँ,’ उनले भने, ‘त्यहाँ भोकभोकै बस्नुभन्दा हिँडेरै घर जाने सोच्यौं ।’

लेकसाइडबाट ७ मजदुर हिँड्ने बेला रुवाबासी चल्यो । जानेहध रुँदैरुँदै गए । बस्नेहरूले रुँदै बिदा गरे । ‘जाने गइहाले हामी पो के खाएर बस्ने,’ मलिन अनुहारमा टीकेन्द्रले भने, ‘हामी पनि हिँड्ने त होला ।’ पोखराबाट कञ्चनपुर झन्डै ८ सय किलोमिटरको दूरीमा छ । दिनमा १ सय किलोमिटर हिँड्दा ७–८ दिनमा पुग्न सकिने उनीहरूको अनुमान छ ।

टोलमा राहत बाँड्दा हुने खानेले हारालुछ गरेको उनीहरूले देखेका छन् । बिरानो ठाउँमा चर्को डाँको गरेर राहत माग्न सक्दैनन् । स्थानीय शम्भु खातीले उनीहरूका लागि राहतको पहल गरे तर वडाले टेरेन । हिँडेर घर जाँदै गरेका र त्यहाँ बसेका मजदुरको आँसु देखेर उनको मन खिन्न भयो । अनि सम्झिए जेबी टुहुरेको गीत–

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,

लाखौंका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’

प्रकाशित : वैशाख ४, २०७७ ११:०३
x
×