कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कतारमा सहमति विपरीत कामदार हटाउन नपाइने

वैशाख ३, २०७७
कतारमा सहमति विपरीत कामदार हटाउन नपाइने

Highlights

  • क्वारेन्टाइनमा राखिएका कामदारलाई तलब र सेवासुविधा यथावत् 

काठमाडौँ — साढे ३ लाख नेपाली कार्यरत रहेको कतारले सम्झौताविपरीत कामदार हटाउन नपाइने भन्दै रोजगारदाता र कामदारबीच सहमति गराउन मंगलबार दुईवटा निर्देशात्मक आदेश जारी गरेको छ ।

सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्न प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले दिएको उक्त निर्देशन कोरोना भाइरस नियन्त्रणका कदम जारी रहँदासम्म लागू हुनेछ ।

पहिलो निर्देशनअनुसार सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न चालेको कदमबाट बन्द नभएका कम्पनीले कामदारलाई करारपत्रमा उल्लेख भएअनुसार पाउँदै आएको न्यूनतम तलब, खाना, आवास र अन्य सुविधा कटौती गर्न पाउने छैनन् ।

दोस्रो निर्देशनमा काम बन्द गरिएका कम्पनीको हकमा कामदार बेतलबी बिदा बस्न पाउने, वार्षिक बिदा लिन पाउने वा कार्यघण्टा कम गर्न सकिने प्रावधान ल्याइएको छ । खाद्यान्न र आवास सुविधा पाइरहेका कामदारलाई रोजगारदाताले निरन्तर व्यवस्था गर्नुपर्छ । कामदारले खाना वा आवासबापत पैसा पाइरहेको छ भने त्यो सुविधा कटौती गर्न पाइनेछैन ।

क्वारेन्टाइनमा बसेकालाई तलब

सरकारले आइसोलेसन वा क्वारेन्टाइनमा बसेकाको हकमा बेसिक तलब र सुविधा दिइराख्नुपर्ने जनाएको छ । उनीहरू बिरामी बिदामा नबसे पनि यो सुबिधाबाट वञ्चित गर्न नपाइने मन्त्रालयको निर्देशन छ ।

झन्डै एक महिनादेखि ५० हजारजति नेपालीलाई क्याम्पमै आइसोलेसन वा क्वारेन्टाइनमा राखिएको छ । कतारको औद्योगिक क्षेत्र (सनैया) को सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रभित्र रहेका नेपालीसहित आप्रवासी कामदारलाई क्याम्पबाट बाहिर निस्कन दिइएको छैन । उनीहरूको तलब र अन्य सेवासुविधा कटौती नहुने कतार सरकारले पुनः प्रतिबद्धता जनाएको छ ।

घर फिर्नेलाई कम्पनीबाटै हवाई टिकट

कतारले करारपत्र समाप्त भएका कामदारलाई भने हटाउन पाइने जनाएको छ । तर हटाउने बेला रोजगारदाताले श्रम कानुनमा भएका प्रावधान पूर्ण पालना गर्नुपर्नेछ ।

‘करारपत्र रद्द गर्नुपूर्व कामदारलाई जानकारी दिइनुपर्छ । उपदान र वार्षिक बिदा, बिरामी बिदाबापतको रकम दिइनुपर्छ’, मन्त्रालयको सूचनामा भनिएको छ, ‘घर फिर्ने टिकट पनि उपलब्ध गराइनुपर्छ । कामदारको करारपत्र रद्द गरेपछि घर नफर्केसम्म निःशुल्क रूपमा खाना र वासस्थानको प्रबन्ध गर्नुपर्छ । वा यसका लागि आवश्यक पैसा उपलब्ध गराइनुपर्छ । घरफिर्तीको प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताकै हुनुपर्नेछ ।’

उजुरी गर्न हटलाइन

श्रम मन्त्रालयले सर्त र सुविधामा सम्झौता गर्न कामदार र रोजगारदाता दुवै पक्षलाई आह्वान गरेको हो । निर्देशन नमान्ने रोजगारदाताविरुद्ध उजुरी गर्न हटलाइन नम्बर ४०२८०६६० तोकिएको छ । चौबीसै घण्टा खुल्ने यो हटलाइनमा नेपाली कामदारले नेपाली भाषामै उजुरी गर्न पाउनेछन् । कामदारले मोबाइलबाट ९२७२७ मा लिखित उजुरी (टेक्स्ट म्यासेज) समेत पठाउन सक्नेछन् ।

कतारले निजी क्षेत्रमा कार्यरत झन्डै ८० प्रतिशत कामदारलाई घरबाटै काम गर्नुपर्ने व्यवस्था यसअघि नै गरेको थियो । निर्माण क्षेत्रका कामदारलाई बस सिटको क्षमताको आधा मात्रै बोक्न लगाइएको थियो ।

सरकारले कोरोना संक्रमण रोक्न चालिएको कदमबाट प्रभावित कम्पनीलाई सहयोग गर्न झन्डै ७५ विलियन रियाल छुट्ट्याइसकेको छ । तलबका लागि मात्रै राष्ट्रिय बैंकले ३ विलियन ‘सफ्ट लोन’को व्यवस्था गरेको छ । यसबाट तलब र भाडा तिर्ने सुविधा पाइनेछ ।

प्रकाशित : वैशाख ३, २०७७ १२:२६
x
×