कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

जो ४ सय किलोमिटर हिँडे

चैत्र ३०, २०७६
जो ४ सय किलोमिटर हिँडे

Highlights

  • काठमाडौंबाट ७ दिन हिँडेर बर्दियाको बढैयाताल पुगेका राजापुरका युवा भन्छन्, ‘छोराछोरीको यादले बल आयो ।’

बर्दिया — अनुहार मलिन छ । थकान उस्तै । हिँड्ने जाँगर छैन तर अझै पनि घर पुग्न ५५ किलोमिटर पार गर्नुपर्नेछ । बर्दियाको पश्चिम सीमा राजापुर नगरपालिका–५ मनाउका चार युवा काठमाडौंबाट हिँडेरै शनिबार बिहान ११ बजे बढैयाताल मानखोला आइपुगे ।

भोक, निद्रा र थकानसँग लड्दै उनीहरू घर पुग्ने आसमा ७ दिनमा मनखोला आइपुगेका हुन् । नारायणघाट र बुटवलमा बास बस्दा मनकारीहरूले खाना खुवाएको उनीहरूले बताए । ‘अरू बेला चिउरा, भुजा र बिस्कुट खाएर हिँड्यौं, छोराछोरीको यादले हिँड्न बल आयो,’ मनाउका टीकाराम चौधरीले भने, ‘रातदिन नभनी राजमार्गमा हिँडिरह्यौं ।’ राति पनि केहीबेर मात्रै आराम गरेर हिँडेको उनले बताए ।


उनीहरू मजदुरी गर्न काठमाडौं गएका थिए । लकडाउनपछि यातायातका साधन चल्न बन्द भएका कारण उनीहरू पैदलै फर्किएका हुन् । ‘लकडाउन भएपछि काठमाडौंजस्तो ठाउँमा कसरी बाँच्न सकिन्छ भनेर हिँडेरै घर पुग्ने निर्णय गरेका हौं,’ चौधरीले भने, ‘बाटोमा गाडी पाइएन । मुस्किलले यहाँसम्म आइपुग्यौं ।’ उनीहरूलाई मानखोला चेकपोस्टमा ज्वरो जाँच गरेर बर्दिया छिर्न दिइएको छ ।


शनिबार मात्रै गुलरिया हुलाकी सडक खण्ड भएर करिब दुई दर्जन बढी युवा घर फिर्ता भएका छन् । उनीहरू काठमाडौं, पोखराबाट घर फर्किएका हुन् । स्वदेशबाटै फर्किएका नेपालीको स्वास्थ्य जाँच गरेर घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । भोकै र पैदल हिँडेर आएका उनीहरूले नाकानाकामा सास्ती खेप्नुपरेको बताए ।

हरेक पालिकाको सीमामा खटिएका सुरक्षाकर्मीले नाम, ठेगाना लेखेर र स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेर जिल्ला प्रवेश गर्न दिएका हुन् । केही जिल्लामा फर्किएर जान भन्दै हप्कीदप्की गरिएको गुनासो उनीहरूले गरे । ‘कुनै–कुनै ठाउँमा जहाँबाट आयो, त्यहीं फर्केर जाऊ भन्दै हपारे । पैदल आएकाले फर्किन गाह्रो छ भन्यौं । निकै अनुरोध गरेपछि बल्ल आउन पायौं,’ राजापुरका प्रकाश चौधरीले भने, ‘यस्तो विपद्का बेला परिवारसँग भेट हुन्छ भनेर खुसी छौं तर बाटोमा निकै सास्ती खेप्नुपर्‍यो ।’


गुलरियाका योगेश, माधव र वीरेन्द्र चौधरी पनि काठमाडौंबाट हिँडेरै घर फर्किएका छन् । पोखराबाट पैदल फर्किएका बढैयाताल गाउँपालिका जमुनीका राजु परियारले विभिन्न जिल्लाका नाकामा सास्ती खेप्नुपरेको गुनासो गरे । उनले गाउँ छलेर बाहिरबाहिर हिँड्दै फेरि राजमार्गमा निस्किएर हिँडेको बताए । ‘गाउँमा पस्नै नदिएपछि के गर्नु, कतिपय गाउँ छलेर यहाँसम्म आइपुगेका छौं,’ उनले भने, ‘लकडाउनका कारण निकै दु:ख खेप्नुपर्‍यो ।’ उनका अनुसार पोखराबाट मानखोला आइपुग्न चार दिन, चार रात हिँड्नुपर्‍यो ।


उनीसँगै पोखराबाट तारातालका विनोद विक र गीता टमाटा पनि हिँडेरै घर फर्किएका छन् । घर पुग्नै लाग्दा उनीहरूको खुसीको सीमा छैन । ‘आज घर पुग्छु, त्यसैले खुसी लागेको छ,’ मधुवन नगरपालिका तारातालका बिनेखा विकले भने, ‘साँझ घर पुग्छु भनेर परिवारलाई मोबाइलबाट खबर गरेको छु ।’


चर्को घाममा पैदल

रामेछापको लिखु तामाकोसी–६, खिम्तीका दिनेश श्रेष्ठ काठमाडौंमा गाडी चलाउँथे । गाडी कुदाउँदा सडकमा हिँड्नेका सास्तीबारे उनलाई हेक्का हुँदैनथ्यो । कतिले हात दिन्थे, उनी वास्ता गर्दैनथे । जब दिउँसोको घाममा सडकमा हिँड्नुपर्‍यो, बल्ल उनलाई बटुवाको पीडा थाहा भयो । लकडाउनमा गाडी नचलेपछि उनी काठमाडौंदेखि रामेछाप हिँडेरै आएका छन् ।


काठमाडौंबाट तीन दिन हिँडेर शनिबार दिउँसो उनी रामेछापको सेलेघाट निस्किए । चर्को घाममा सेलेघाटको उकालो काटेर स्वामीको चौतारामा पुग्दा उनले लामो सुस्केरा हाले ।


ओखलढुंगाको खिकीकाती हिँडेका शान्तबहादुर र रामबहादुर तामाङको पीडा बेग्लै छ । राजधानीबाट दुई दिनमा उनीहरू रामेछापको सीमा सेलेघाट आइपुगे । झोलामा चाउचाउ र चिउरा बोकेर हिँडेका उनीहरूको बाटो आधा पनि भएको छैन ।


यी दाजुभाइ ओखलढुंगाबाट दुई महिनाअघि मजदुरी गर्न काठमाडौं छिरेका थिए । ‘सडक निर्माण कार्य बन्द भयो । ठेकेदार सम्पर्कमा आएनन् । २६ गते खुल्ला र जाउँला भनेको फेरि थपियो,’ शान्तबहादुरले भने, ‘पैसा सकिन लाग्दा काठमाडौंमा बाँचिंदैन भन्ने लागेर बाटो लागेका हौं ।’


सेलेघाटमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले उनीहरूलाई खर्चपर्च र खानपिनबारे सोधे । बेखर्ची नभए पनि हिँड्दा सास्ती र खान, सुत्न नपाएको उनीहरूले गुनासो गरे । डीएसपी प्रकाश पौडेलका अनुसार प्रतिदिन सयाैं जना पैदल सेलेघाटबाट गइरहेका छन् । दिउँसोभन्दा राति धेरै हिँड्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा र सुत्केरीसमेत हिँडेर आइरहेको देखेपछि प्रहरीले केही साधन भेटिए त्यसमा राखेर पठाउने गरेको छ ।


सेलेघाट हुँदै जाने यात्रु भोकै हिँडिरहेको सूचना पाएपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछाप उद्योग वाणिज्य संघलाई खानेकुराको प्रबन्ध गर्न आग्रह गरेकी थिइन् । शनिबार स्थानीय व्यवसायीको सौजन्यमा एक सय २० जनालाई खाजापानीको व्यवस्था गरिएको संघका सचिव सुरेश उदासले बताए ।

प्रकाशित : चैत्र ३०, २०७६ ०९:११
x
×