यूएईमा समूहमा बसिरहेका नेपालीको व्यथा : ‘ड्युटी सकेर कोठामा फर्किन मन लाग्दैन’

‘१६ जना १६ ठाउँमा काम गर्छन् । कसले कतिलाई भेटेको छ, थाहा हुँदैन । कम्पनीले विशेष सुरक्षाको उपकरण दिएको छैन । हामी आफैंले ग्लोभ, माक्स र सेनिटाइजर किन्नुपर्छ ।’
होम कार्की

काठमाडौँ — यूएईमा कार्यरत अधिकांश कामदार यतिबेला क्‍वारेन्टाइनमा छन् । एउटा घरमा कम्तीमा १० जनाको दरले बसेका छन् । त्यहाँको सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिए उपचार त गरिदिन्छ, अरु खाने–बस्ने सुविधा भने एक किसिमको छैन । 

यूएईमा समूहमा बसिरहेका नेपालीको व्यथा : ‘ड्युटी सकेर कोठामा फर्किन मन लाग्दैन’

दिक्तेल खोटाङका नारायण बस्नेत संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा बिहीबारदेखि सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । उनी त्यहाँको जापानी रेस्टुरेन्टका सेफ हुन् ।

आबुधावीका सडक सुनसान छन् । आपतकालीन काममा बाहेक मान्छेहरू बाहिर निस्किएका छैनन् । उनी आफन्तसँग मिलेर कोठामा बसेका छन् । ‘हामी विभिन्न होटलमा काम गर्ने साथीहरूले एउटा कोठा भाडामा लिएका छौं । सबै आफन्त हौं । अहिले सबैको ड्युटी अफ छ’, ६ वर्षदेखि यूएईमा कार्यरत बस्नेतले भने, ‘अहिलेको परिस्थितिमा हामी कसैको कोठामा जाने गरेका छैनौं । अरु साथीभाइलाई पनि बोलाएका छैनौं ।’


होटल, रेस्टुरेन्ट ठप्प छ । रेस्टुरेन्टमा बसेर खान पाइँदैन । डेलिभरीको मात्रै सुविधा छ । कोठामा मात्रै बस्दा दिन काट्नै मुस्किल परेको अनुभव उनीहरूसँग छ । ‘रेस्टुरेन्ट आइतबारदेखि खुल्छ भनिएको छ, रेस्टुरेन्ट भएर होला सरकारको कडा निगरानी छ । कोरोना भाइरसबाट बच्न कम्पनीले सुरक्षाको सक्दो सजगता अपाएको छ,’ उनले टेलिफोनमा भने, ‘हरेक २०–२० मिनेटमा हात सफा गर्छौं । फेरि पहिलाजस्तो व्यस्त ड्युटी छैन । आरामै छ । काममा जान दबाब छैन ।’


उनीहरूलाई सचेत हुनका लागि कम्पनीले कोरोना भाइरस संक्रमणसम्बन्धी पाठ्यक्रमको तालिम दिएको थियो । ‘कोरोना के हो, कसरी सर्छ भन्ने एउटा कोर्स नै बनाइएको छ, यो जान्न जरुरी हुन्छ’,उनले भने, ‘रोगको लक्षण देखिएमा यहाँको सरकारलाई खबर गर्नुपर्छ । उनीहरू आफैं एम्बुलेन्स लिएर आउँछन् ।’


उनका अनुसार सामान्य रुघाखोकी आउँदा पनि कम्पनीले स्वास्थ्य परीक्षणका लागि पठाएको थियो । ‘कोरोना होइन रहेछ, बढी एसीको चिसोमा बस्ने भएकाले विगतजस्तै रुघाखोकी रहेछ, तैपनि साथीहरू तर्सिए, कम्पनीले क्वारेन्टाइनमा बस्ने भए बिदा दिन्छु भनेको थियो’, उनले भने, ‘यहाँ त केही छैन, उता (नेपालमा) भने परिवार चिन्तित छन् । पहिला त्यति फोन गर्नुपर्दैनथ्यो । अहिले दिनमै चार–पाँचपटक फोन गर्नुपर्छ ।’


यूएईमा कामदारको स्वास्थ्य सुरक्षामा ध्यान दिने बस्नेतको जस्तो कम्पनी सबैको छैन । सारजहाँ यूएईको अर्को प्रान्त हो । त्यहाँको एउटा कम्पनीमा कार्यरत काभ्रेकी शर्मिला श्रेष्ठको कम्पनी बन्द छ । उनी तीन वर्षदेखि सफाइको काम गर्दै आएकी छन् । उनलाई कम्पनीले कोरोना भाइरस र यूएई सरकारले अघि सारेको मापदण्डबारे औपचारिक रुपमा जानकारी दिइएको छैन । ‘क्याम्प बोस आएर ड्यटी छैन भनेपछि क्याम्पमै बसिरहेका छौं । एउटा कोठामा १० जना बस्छौं । क्याम्पभरि झन्डै चार सय होलान् । कोरोना संक्रमण रोक्न क्याम्पमा कुनै सुरक्षाको मापदण्डलाई पालना गरिएको छैन,’ उनले भनिन्, ‘सबै भगवान भरोसामा चलिरहेको छ ।’


उनी आफैं खाना बनाउँछिन् । ‘क्याम्पवरिपरि खाद्यान्न पाइँदैन । अलि टाढा जानुपर्छ । अहिले खाद्यान्नको मूल्य केही बढेको छ’, उनले टेलिफोनमा भनिन्, ‘हामी अरु कम्पनीको सरसफाई गर्छौं । चिटिक्क पार्छौं तर हाम्रै कम्पनीको क्याम्प भने फोहोर छ । कम्पनीले सरसफाई गरेको छैन । हामीले आफ्नो कोठालाई त डिटोलले सफा गरेका छौं तर एउटा कोठा मात्रै सफा गरेर के होला र ?’


सिन्धुलीका रितेश थापा इन्टरनेसल सिटीमा १६ जनासँग मिलेर बस्छन् । उनी सुरक्षा गार्ड हुन् । ड्युटी रोकिएको छैन । ‘१६ जना १६ ठाउँमा काम गर्छन् । अहिले कोठामा जानै डर लाग्छ । कसले कतिलाई भेटेको छ, थाहा हुँदैन । ड्युटी सकेर कोठामा फर्किन पनि मन लाग्दैन’, उनले भने, ‘कम्पनीले विशेष सुरक्षाको उपकरण दिएको छैन । हामी आफैंले ग्लोभ, माक्स र सेनिटाइजर किन्नुपर्छ ।’


यूएईमा शुक्रबारसम्म संक्रमितको संख्या चार सय ५ जना पुगिसकेको छ । शुक्रबार थप दुई नेपाली संक्रमित भएका छन् । यसअघि संक्रमित भएका दुईजनाको उपचार भएर क्याम्प फर्किसकेका छन् । संक्रमित नेपालीको अवस्था स्थिर छ ।


यूएईमा रहेका कम्पनीले झन्डै ८० प्रतिशत कामदारलाई बिदा दिएका छन् । मार्केटिङ क्षेत्रमा कार्यरत तनहुँका दीपक खड्काले आफूहरूले पाएको बिदा वार्षिक बिदाबाट काटिने बताए । ‘कम्पनीले १४ दिनको सेल्फ क्वारेन्टाइनमा राखेको छ । वार्षिक बिदाबाट काट्ने कि बेतलबी बिदामा बस्ने भनेर सोधिएको थियो । मेरो ३० दिनको वार्षिक बिदाबाट कट्टा गर्न भनेको छु,’ उनले भने ।


गैरआवासीय नेपाली संघ यूएईका पूर्वअध्यक्ष सुदीप कार्कीका अनुसार मान्छेहरू त्रसित देखिएका छन् । ‘स्थिति नर्मलै देखिन्छ, राति ८ बजेदेखि बिहान ८ बजेसम्म अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन, हामी पूर्णरुपमा क्वारेन्टाइनमा छौं,’ उनले भने, ‘बिहीबार रातिदेखि आइतबार बिहानसम्म क्वारेन्टाइनमा बस्न भनिएको छ ।’


प्रहरी प्रशासनले घरबाहिर निस्कने ६४ जनालाई पक्राउ गरेको छ । घरमा क्वारेन्टाइनमा नबस्नेलाई दुई हजार दिराम जरिवाना तिराउने नयाँ नियम ल्याइएको छ । कोरोना भाइरस रोकथाम गर्ने मापदण्ड उल्लंघन गर्नेलाई ५ सयदेखि ५० हजार रियालसम्म जरिवाना गर्ने नयाँ कानुन जारी भइसकेको छ । यूएईमा हालसम्‍म ४६८ जनामा कोरोना संक्रमण देखिएको छ ।


यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट आएर संक्रमण भइसकेका व्यक्तिको सम्पर्कमा भएका व्यक्तिमा कोरोना भाइरस देखिएको छ । ‘यसको नियन्त्रणका लागि ज्यादै महत्वपूर्ण पहल र प्रयत्न गर्दै आएको देखिन्छ,’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ‘पछिल्ला दिनहरूमा भइरहेको सार्वजनिक स्थलको सरसफाइ र संक्रमण हुनबाट जोगाउने कामहरू प्रंशसा गर्न लायक छन् ।’

प्रकाशित : चैत्र १६, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?