कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘अनि हिउँ छिचोल्दै नेपाल फर्किएँ’

फाल्गुन ३०, २०७६
‘अनि हिउँ छिचोल्दै नेपाल फर्किएँ’

नेपालगञ्‍ञ — चीनको ताक्लाकोटमा मैदा लिन गएका हुम्ला, सिमकोटका २८ वर्षे दावा लामा जोखिम मोलेर हिउँको बाटो हुँदै घर फर्किए । उनका खुट्टाका औंला हिउँले ‘खाएको’ छ, अनुहारमा पनि हिउँले ‘खाएका’ खत छन् । जिल्लामा उपचार सम्भव नभएपछि नेपालगन्ज झरेर उनी यतिखेर भेरी अस्पतालमा भर्ना भएका छन् ।

हाल ताक्लाकोटमा १ सय ४८ जना नेपाली अलपत्र छन्, कोरोना संक्रमणको डरले नेपाल फर्कन चाहे पनि दुवै देशको सहमतिमा सीमा नाका बन्द गरिएकाले उनीहरु आउन नपाएका हुन् तर दावा कसरी हिउँ छिचोल्दै सिमकोट आइपुगे ? कोरोना संक्रमणको आशंकामा उनले कस्तो दुःख झेल्नुपर्‍यो ? कान्तिपुरकर्मी मधु शाहीलाई उनले आफ्नो कथा यसरी सुनाए :


गएको वर्ष ८ क्विन्टल मैदा किनेको थिएँ ताक्लाकोट पुगेरै । हामी हिमाली भेगका मन्छे मैदाको परिकार निकै मन पराउँछ । मैदाबाट ‘टी मोःमो’ बनाएर खान रुचाउँछ । मैदाको पिठो मुछेर लाम्चो बनाई बीचमा काट्ने अनि बाफमा पकाएर तरकारीसित खाने चलन छ । जाडोमा यसले न्यानो गराउँछ । यो वर्ष जाडो एक महिनाअघि नै सकियो । घरमा बुढा बुबाआमा छन् । उनीहरूले मोःमो खान मन गरिरहेका थिए । बुबाआमाको माया लागेर मैदा लिन ताक्लाकोट गएको हुँ ।

ताक्लाकोटमा अलपत्र नेपाली भन्छन्- ‘उद्धार नगरे भागेरै आउँछौं’

दिनभरि मजदुरी गरी कमाएको दुई/चार पैसा बोकेर तीन साताअघि तिव्वतको ताक्लाकोट बजारतिर हिँडें । तीन दिन लगाएर पुगें तर हिउँ यति धेरै पर्‍यो कि बजारसम्म पुगेर सामान खरिद गर्नै सकिनँ । त्यहाँ नपुग्दै वारिबाट घर फर्कनुपर्‍यो । हिउँ परेर घुँडासम्मै पुग्यो । हुन त जुत्ता लगाएको थिएँ । हिउँ लागेपछि जुत्ताले काम गर्दैन भनेर बुढापाकाले भनेको सुनेको थिएँ । आफैंले भोग्दा डरै लाग्यो ।


हिल्सामा होटल टन्नै थिए । एक रात त्यहीं बसेर हिउँ मत्थर भएपछि घर फर्किएको भए पनि हुन्थ्यो तर एक रात हिल्साको टुरिस्ट होटलमा बस्न मेरो हैसियत थिएन । एक रात बसेको ७ सय युवान (चिनियाँ मुद्रा) लाग्छ, जुन हामी सामान्य मजदुरले सक्दैन । मसँग पैसा थियो । खर्च गरूँ भने मैदा किन्ने पैसा सकिन्छ । बरु हिउँको बाटो हुँदै घर फर्किने निधो गरें । दिनरात हिँडें । तीन दिनपछि मोचु भन्ने गाउँमा पुगें । त्यहाँसम्म म खुट्टाले भन्दा पनि हिम्मतले हिँडेको थिएँ । जुत्ता पूरै हिउँ बनेको थियो । हिउँ यति बाक्लो थियो । कहीं डुबाउन खोज्थ्यो । चिनेको बाटो भएर अनुमान लगाउँदै हिँडें ।


खुट्टाका औंला गलेर फत्रक्कै भएका थिए । मोचुदेखि एक पाइला हिँड्न सकिनँ । त्यहाँ प्रहरीले साथ दिए । प्रहरी क्याम्पमा तीन दिन बसें । गाउँका मन्छेले खुट्टामा ‘खम्बु’ को तेल लगाएर मालिस गरिदिए । न्याना लुगा दिए । खान दिए । न आफन्त न कोही । मोचुका मन्छेहरूको मन ठूलो रहेछ । धेरै सहयोग गरे । हिउँले खाएर खुट्टाको छाला सबै निस्किएको थियो । सुन्निएर भुइँ टेक्न नसक्ने भयो । प्रहरीले आफन्तलाई फोन गरिदिए । खबर पाएपछि दुई दिन पछि दाइ लिन आए । घरघरमा घोडा प्रशस्त छन् तर मोचु गाउँमा घोडा कसैले एकैछिनलाई भाडामा दिएनन् । दाइले ६५ हजार रुपैयाँमा घोडा किनेर त्यसैमा राखी हुम्लाको सिमकोट पुर्‍याए ।


एक दिन आधा लगाएर घोडामा सिमकोट अस्पताल पुगियो । रात परिसकेको थियो । हाम्रा गाउँका अस्पताल त्यति सुविधासम्पन्न छैनन् । डाक्टरले दुई दिन राखे र सलाइन पानी चढाए । यहाँ उपचार गर्नुभन्दा नेपालगन्ज गए राम्रो हुने सल्लाह दिए । हामीले उहाँले भने जस्तै गर्‍यौं । तीन दिनपछि हवाईजहाज हुँदै नेपालगन्ज आयौं । राँझा एयरपोर्टमा आउँदा मेरो मुख पूरै हिउँले खाएको थियो । खुट्टा सुन्निएको थियो । हिउँकै चिसोले ज्वरो आएको थियो । दाइले बोकेर ल्याएका थिए । यहाँको एयरपोर्टमा कोरोना संक्रमणको लक्षण जाँच गर्न थर्ममिटर राखेका रहेछन् । निधारमा लगाइदिए । १ सय १ डिग्री ज्वरो आएको र कोरोना भाइरसको आशंका भएको भन्दै पर्चामा लेखिदिएका रहेछन् । मलाई थाहा थिएन । त्यही पर्चा लगेर नेपालगन्जको भेरी अस्पताल पुगियो ।

कोरोना प्रभाव : ताक्लाकोटमा डेढ सय नेपाली अलपत्र

बिहान भर्ना गर्न भनेको डाक्टरले आनाकानी गर्‍यो । खै किन भर्ना गरेन ? मनमनै सोचें– हामी हिमाली भेगका मन्छेको भाषा नबुझेर होला । दाइले अलिअलि अंग्रेजी जानेको रहेछ । पर्चामा पढेर कोरोनाको आशंका भएको लेखेको थाहा पायो । रुघा लागेको थिएन, खुट्टा सुन्निएको थियो । हिउँले खाएर उपचार गर्न आएको भन्दा समेत डाक्टरले पत्याएनन् । यसको पुष्टि गर्न दिनभरि वडा कार्यालय हुम्ला सिमकोट–३ का आफन्त र प्रहरीबीच डाक्टरलाई कुरा गर्न लगायौं । बेलुका मात्र अस्पतालले बेड नम्बर १०१ मा भर्ना गर्न मान्यो । नेपालगन्जमा उपचार गर्दै गरेको ८ दिन भयो । अहिले खुट्टा सुन्निन कम भएको छ । मुख बिस्तारै उज्यालो हुँदै छ ।


बेलैमा उपचार नपाएको भए हिउँले थोक्लै मर्ने थिएँ (झन्डै मर्ने थिए) । नेपालगन्ज भेरी अस्पतालमा भर्ना हुन आउँदा शरीरले थेग्न नसक्ने गरी बाक्ला लुगा लगाएको थिएँ । अहिले एकसरो टिसर्ट पनि फालुझैं भएको छ, गर्मीले । रातभरि कानमा मच्छड कराउँछ । यो वर्ष हिउँ अलि बढी पर्‍यो । नत्र यसरी खुट्टा खाने थिएन । अस्पतालको बेडमा सुतिरहँदा उही आफ्नै हिमाली भेग सम्झिरहन्छु । र, सोच्छु, हिमालमा मच्छड लाग्दैन, हिउँको मात्र दुःख हो ।

प्रकाशित : फाल्गुन ३०, २०७६ ०७:४२
×