कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

होटलको कोठामा मृत भेटिए युवायुवती 

श्रावण १८, २०८१
होटलको कोठामा मृत भेटिए युवायुवती 

काठमाडौँ — काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गमा रहेको झर्ना गेष्ट हाउसमा युवा र युवती मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की अन्दाजी २० वर्षीया करिष्मा सार्कीसहित साउन १५ गतेदेखि सो गेष्ट हाउसको कोठा नं. ४०२ मा बस्दै आएका थिए ।

शुक्रबार भरत र करिष्मा कोठामै मृत भेटिएका हुन् । करिष्माको घाँटी काटिएको अवस्थामा शव फेला परेको छ भने भरत झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

शुक्रबार बिहान १२ बजेसम्म पनि खाना खान नआएपछि गेष्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

'हामीलाई १ बजे खबर आयो । करिब १:१५ बजे प्रहरी पुगेर कोठाको ढोका खोल्दा एक जना महिलाको घाँटी काटिएको अवस्थामा शव भेटिएको छ भने पुरुष सिलिङको पंखामा डोरीले घाँटीमा पापसो लगाई झुण्डिएको अवस्थामा भेटिएका छन्,' एसपी अधिकारीले भने ।

प्रहरीका अनुसार भरत र करिष्माको सम्बन्धबारे खुलेको छैन भने करिष्माको ठेगाना समेत यकिन भइसकेको छैन । प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०८१ १७:०५
×