कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी

श्रावण २, २०८१
महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी

Highlights

  • काठमाडौं महानगरमा रोजगारी चाहनेहरू आफ्नो योग्यता राखेर श्रम बैंकमा आबद्ध हुन सक्ने

काठमाडौँ — काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत ९ सय १२ जनालाई रोजगारी दिएको छ । महानगरले श्रम बैंकमार्फत ३ सय २९ जना निजी र ५ सय ८३ जना सरकारी क्षेत्रमा गरी ९ सय १२ जनालाई रोजगारी दिएको हो । 

महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाई १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना ल्याएको थियो । सोही योजनाअनुरूप महानगरले आर्थिक वर्ष ०८०/८१ बाट ९ सय १२ जनालाई रोजगारी दिएको महानगरकी सामाजिक विकास विभाग प्रमुख विमला कोइरालाले बताइन् । सीप मेलाबाट उत्पादन भएका जनशक्तिलाई रोजगारीसँग जोड्न श्रम बैंकमा आबद्ध गरी रोजगारी दिलाएको उनले सुनाइन् ।

‘महानगरले ०८१ को वैशाखमा सीप मेलाअन्तर्गत रहेर श्रम मेला आयोजना गर्‍यौं । यसबाट उत्पादन भएका जनशक्तिलाई रोजगारीसँग कसरी जोड्ने भनेर श्रम मेला गरेका थियौं,’ उनी भन्छिन्, ‘मेलामा रोजगारदाता बोलाएर महानगरले समन्वय गरेका हौं ।’ महानगरले श्रम बैंकमा नयाँ र मेलाबाट उत्पादन भएका जनशक्तिलाई राख्ने गरेको छ । नयाँ बजेट अझैं कार्यान्वयनमा नआएकाले यो आर्थिक वर्ष ०८१/८२ मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कोइरालाको भनाइ छ ।

‘अहिले जोसुकै पनि काठमाडौं महानगरपालिकामा रोजगारी चाहनेहरूले आफ्नो योग्यता राखेर श्रम बैंकमा आबद्ध हुन सक्छन्,’ उनले श्रम बैंकबारे थप जानकारी दिँदै भनिन्, ‘कतिपय निजी कम्पनीहरूले महानगरलाई कामदार मागिरहनुभएको हुन्छ । त्यतिबेला आवेदन छनोट गरेर नाम दिन्छौं ।’ महानगरले श्रम बैंकमार्फत आवेदन दिएकाले आफ्नो क्षमता अभिवृद्धिको तालिम आवश्यक परे त्यसको पनि व्यवस्था गरेको छ । महानगरले यसरी काम पाएकाहरूको संख्यालाई एउटै प्रणालीबाट हेर्न सजिलो होस् भनी श्रम बैंकमा आबद्ध गरेको उनले बताइन् ।

महानगरले आर्थिक वर्ष ०८०/८१ मा सीप मेला ०८१ मार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी ६ हजार २२ जनाले तालिम सकेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४ सय ५५, अर्धदक्ष ३८ र अदक्ष ४ सय १८ गरी ९ सय १२ जनाले रोजगारी पाएका हुन् । ‘महानगरको सानो प्रयासले एक आर्थिक वर्षमा सत्र सयभन्दा बढी नेपाली दाजुभाइ–दिदीबहिनी रोजगार र स्वरोजगार हुनुभएको छ,’ काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आफ्नो सामाजिक सञ्जालमा श्रम बैंकमार्फत रोजगारी पाएको विवरण सार्वजनिक गर्दै भनेका छन्, ‘आर्थिक वर्ष ०८१/८२ मा दुवै योजनाहरूलाई थप परिष्कृत गरी लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरी बजेट तथा कार्यक्रम तयार गरेका छौं ।’

महानगरलाई आवश्यक सरसफाइ कर्मचारी पनि श्रम बैंकमार्फत लिन खोजिरहेको सामाजिक विकास विभाग प्रमुख कोइरालाले जानकारी दिइन् ।

प्रकाशित : श्रावण २, २०८१ ०५:३४
×