कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

क्याप्टेन थापाको ‘इन् टु द फायर’ सार्वजनिक

भाद्र १६, २०८१
क्याप्टेन थापाको ‘इन् टु द फायर’ सार्वजनिक

काठमाडौँ — उड्डयन तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको ६ वर्षअघि सार्वजनिक ‘बारुदमाथि उड्दा’ पुस्तकको अंग्रेजीमा अनुवाद गरिएको संस्करण ‘इन् टु द फायर’ शनिबार सार्वजनिक गरिएको छ । पत्रकार विश्वास बरालद्वारा अनुवादित उक्त पुस्तकमा केही रचनाहरू पछि थप गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयको सभाहलमा विमोचन गर्दै लेखक थापालाई द्वन्द्वका बेला निजी वायुसेवामार्फत गरेका उद्धारका घटनाको स्मरण गर्दै अझ विस्तृत अर्को पुस्तक पनि लेख्न सुझाए ।

‘प्रत्यक्ष वर्णन सजिलो कुरा पनि होइन । महाभारतको युद्धको वर्णन गर्न तत्कालीन काव्यकार र साहित्यकारले दिव्यदृष्टिको कल्पना गरेर लेखेका थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, यहाँ प्रत्यक्ष भोगेर, विभिन्न अपरेसनमा सहभागी भएर शान्ति व्यवस्था कायम गर्न र देशमा हिंसा अन्त्यका लागि नेपाली सुरक्षाकर्मीलाई साथ दिएर उहाँ (क्याप्टेन थापा) ले आफ्नो ज्यान हत्केलामा राख्नुभयो । उहाँ सुरक्षाकर्मी पनि होइन । तर, उहाँले देखाएको बहादुरी कम लाग्दैन ।’ प्रधानमन्त्री ओलीले द्वन्द्वका बेला क्याप्टेन थापाले आफू र आफ्नो हेलिकोप्टर नै जोखिममा राखेर बारुदमाथि उडान भरेको बताए ।

‘तलबका लागि हुन्थ्यो भने उहाँले रेस्क्यु गरेर त्योभन्दा बढी कमाउन सक्नुहुन्थ्यो होला । अरू काम गर्दा पनि आम्दानी त भइहाल्थ्यो होला । तर, उहाँले आफू र आफ्नो हेलिकोप्टर नै जोखिममा राख्नुभयो,’ प्रधानमन्त्रीले थपे, ‘गरिबी भोगिरहेको एउटा साधारण पारिवारिक स्थितिबाट आफ्नै हेलिकोप्टरको मालिकका रूपमा उहाँ त्यसै उठ्नु भएको होइन । जोखिम मोलेर पुगेको हो । उहाँले आफ्नो सुरक्षाभन्दा देशको सुरक्षा र शान्तिको पक्षमा, अमनचयनको पक्षलाई महत्त्व दिनुभयो, यो प्रशंसनीय छ ।’

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले क्याप्टेन थापालाई धेरै पहिल्यैदेखि चिन्दै आएको बताउँदै भने, ‘मलाई व्यक्तिगत रूपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यसकारण केपी शर्मा ओलीको (एमाले) पार्टीको नजिकको भने पनि सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो, उहाँका बारेमा जति भने पनि कम हुन्छ । उहाँलाई मैले सबैको भलो चाहने व्यक्तिका रूपमा लिएको छु ।’ देउवाले नेपालको राजनीतिमा क्याप्टेन थापाले ठूलो भूमिका खेलेको टिप्पणी गर्दै ठूला दललाई एक ठाउँमा ल्याएर राजनीतिक अस्थिरता हुनबाट रोकेको भन्दै धन्यवाद दिए ।

इन् टु द फायर ६ वर्ष अगाडि पत्रकार राजाराम गौतमले ‘बारुदमाथि उड्दा’ शीर्षकमा नेपाली संस्करणमा तयार पारेका थिए । त्यसमा केही रचनाहरू थप गरेर ‘इन् टु द फायर’ प्रकाशित गरिएको अनुवादक बरालले बताए । पुस्तकलाई यात्रा पब्लिसिङ हाउसले प्रकाशन गरेको हो । यसको मूल्य ५ सय ९९ रुपैयाँ रहेको छ ।

प्रकाशित : भाद्र १६, २०८१ ०६:१०
x
×